इन्डक्सन किन्न लाइन 

चीन सरकारले चार वर्षअघि अनुदानमा उपलब्ध गराएको इन्डक्सन दैनिक चार सय वटासम्म बिक्री भइरहेको छ । 

चैत्र १६, २०७६

मकर श्रेष्ठ

काठमाडौँ — लकडाउनको समय थप गर्ने सरकारको तयारी थाहा पाए लगत्तै काठमाडौं बनस्थलीका रामप्रसाद दाहालले घरमा खाना पकाउने ग्यासको अभाव सम्झिए । वरीपरी ग्यासको जोहो गर्ने प्रयास पनि गरे तर, कतै ग्यास पाएनन् । अनि आइतबार मध्यान्ह स्कुटरमा थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनिमा पुगे ।

सुनसान सडकमा उनलाई प्रहरीले रोक्थे तर, छातीमा टासेको प्लेकार्ड हरेर छाडिदिन्थे । घरबाट थापाथली आउँदा उनले छातीमा ‘खाद्य संस्थान थापाथली ११ देखि तीन बजेसम्म मात्र खुल्ने रहेछ । त्यही किनमेल गर्न लागेको हजुर’ लेखेको प्ले कार्ड टाँसे ।  एउटा इन्डक्सन र दुई किलो सिमी किने । अनि फर्कने बेलमा त्यही प्लेकार्डको अर्को पट्टी फर्काएर ‘खाद्य संस्थान थापाथली ११ देखि ३ बजेसम्म मात्रै खुल्ने रहेछ । त्यही किनमेल गरेर फर्कको हजुर । धन्यवाद ।’ लेखेको प्लेकार्ड छातीमा टाँसेर फर्किए ।

थप एक साता लकडाउन गर्न सिफारिस

उनी जस्तै जोरपाटीबाट सुनिता तामाङ पनि छोरीलाई लिएर इन्डक्सन लिन आइपुगेकी थिइन । ‘ग्यास भन्दा इन्डक्समा पकाउँदा सस्तो पर्छ भन्ने सुनेको थिए,’उनले भनिन,‘बजारमा ग्यास पाइएन ।  घर भित्रै बस्नु पर्ने भएपनि इन्डक्सन लिन आइपुगे ।’  विद्युत् महसुलमा छुट दिने र सस्तोमा विद्युत प्रयोग गर्न दिने सरकारका तयारीबारे समाचार सुनेका उनीहरु ग्यासको विकल्पमा इन्डक्सन किन्न थापाथली आइपुगका हुन् ।

आइतबार मध्यान्ह हामी पुग्दा इन्डक्सन किन्न आचार्य र तामाङ सहित ४० जना लाइनमा थिए । लाइनमा एकजना राखेर अरु वरीपरी उभिने उत्तिकै थिए । लाइन नै नबसी प्रहरी र सशस्त्र प्रहरीका जवानदेखि प्रहरी उपरीक्षकसम्म इन्डक्सनको पैसा तिर्न काउन्टर अगाडि झुम्मिएका थिए । हामी यही छँदै सशस्त्र प्रहरीका एक डीआइजी गाडी लिएरै इन्डक्सन किन्न आइपुगेका थिए । चर्को घाममा पनि लाइन बसिरहेकै बेला कोही लाइन मिचेर अघि बढेमा पछाडिबाट अर्को अवाजमा विरोध हुन्थ्यो । पैसा तिर्ने काउन्टरमा तीनजना बसेका थिए ।

दुईजना नाम सोध्दै बिल काटिरहेका थिए । एकजना महिला पैसा लिइरहेकी थिइन ।  काउन्टर भित्र पस्न नदिन नरको डोरी टाँगिएको थियो । इन्डक्सन किन्न जानेले लिने पैसा टाढैबाट भुइँमा राख्ने गर्थे । भित्र काटिएको बिल पनि भुँइमा राखि दिन्थ्यो । लाइनमा बसेका बीचको दूरी पनि कम्तिमा एक मिटर फरकमै थियो । यहाँ आउने सबैले मास्क लगाएका थिए । कोहीले त पन्जा नै लगाएर आएका थिए । यहाँ आइपुगेकाले एक र अर्कोबीच दूरी कायम, मास्क र पन्जा लगाएको र पैसा लेनदेन गर्दा पनि एक अर्को हातले नछोएको दृश्यले कोभिड–१९ को संक्रमण प्रति सचेत भएको देखिन्थ्यो । यहाँ कोही गाडी र मोटरसाइकलमा आएका थिए । समूह समूह बनाएर आउने पनि उत्तिकै थिए । 

सरकारले लकडाउनको अवधि बढाउने तयारी गरेसँगै इन्डक्सन किन्न आउनेको संख्या बढेको कार्यालयले जनाएको छ । उपत्यकामा दैनिक साढे ३ सयदेखि ४ सय वटा इन्डक्सन बिक्री भइरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।

उपत्यका बाहिरबाट पनि माग आइरहेको कम्पनीका सहायक विभागीय प्रबन्धक धर्मकुमारी राजवंशीले बताइन् । कम्पनिले स्टिलको एउटा भाँडासहित चार हजारमा इन्डक्सन चुलो बिक्री गरिरहेको छ  । नाकाबन्दीको बेला चीन सरकारले अनुदान ११ हजार ३ सय चुलो उपलब्ध गराएको थियो । 

मकर विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका श्रेष्ठ शिक्षा, संसदीय मामिला र सुशासनका विषयमा लेख्छन्।

Link copied successfully