थप एक साता लकडाउन गर्न सिफारिस

बिनु सुवेदी

काठमाडौँ — कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले थप ७ दिन लकडाउन बढाउन सरकारलाई सिफारिस गरेको छ । आइतबार बसेको समितिको बैठकले थप ७ दिनसम्‍‍म लकडाउन बढाउनुपर्ने निष्कर्ष निकाल्दै सरकारलाई सिफारिस गरेको हो ।

आइतबार नै बस्‍ने मन्त्रिपरिषद् बैठकले उक्त सिफारिसलाई अनुमोदन गर्नेछ । यस्तै बैठकले विपन्‍नहरुलाई निःशुल्क राहत वितरण बारे पनि गर्न सरकारालई सिफारिस गरेको छ ।


यसअघि सरकारले चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गर्ने निर्णय गरेको थियो । सरकारलेे यो सिफारिस अनुमोदन गरेसँगै चैत २५ गतेसम्मका लागि मुलुक लकडाउन हुनेछ ।

प्रकाशित : चैत्र १६, २०७६ १५:४७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कोभिड १९ असर : लमजुङका निर्माणाधीन सबै जलविद्युत् बन्द

आश गुरुङ

(लमजुङ) — जलविद्युत्‌को ‘हब’मानिएको लमजुङमा निर्माणाधीन ठूला–साना सबै जलविद्युत् आयोजना निर्माण अनिश्चितकालका लागि बन्द भएका छन् । कोरोना भाइरस (कोभिड १९) को सन्त्राससँगै सरकारले लकडाउन गरेपछि निर्माणाधीन ९ वटा जलविद्युत् आयोजनाका पुरै काम रोकिएका हुन् ।  

दोर्दी करिडोरमा निर्माणाधीन ५, मर्स्याङ्दी करिडोरमा निर्माणाधीन ३ र मिदिमखोलामा निर्माणाधीन एउटा जलविद्युत् आयोजना निर्माणकार्य रोकिएका छन् । ९ वटा जलविद्युत् आयोजनाको कुल क्षमता २ सय २ दशमलव १७ मेगावाट छ । यी आयोजनामध्ये केही चालु आर्थिक वर्षमै सक्ने तयारीमा छन् ।

दोर्दी करिडोरमा निर्माणाधीन ५४ मेगावाटको सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’, २७ मेगावाटको दोर्दीखोला जलविद्युत् आयोजना, २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, १२ मेगावाटको दोर्दी–१ र ४ मेगावाटको माथिल्लो छन्दीखोला जलविद्युत् आयोजना निर्माण रोकिएका छन् । मर्स्याङ्दी करिडोरमा ४० दशमलव २७ मेगावाटको सुपर न्यादी जलविद्युत् आयोजना, ३० मेगावाटको न्यादी जलविद्युत् आयोजना र २ दशमलव ४ मेगावाटको अपर स्याागे जलविद्युत् आयोजना निर्माण रोकिएका छन् । यस्तै, मिदिमखोलामा निर्माणाधीन ७ दशमलव ५ मेगावाटको मिदिमखोला जलविद्युत् आयोजना निर्माण पनि रोकिएको छ ।

पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’चैत ११ देखि निर्माण बन्द छ । आयोजनाका प्रबन्ध निर्देशक केशवबहादुर रायमाझीका अनुसार ५ सय कामदार कार्यरत उक्त आयोजना बन्द भएपछि कामदारलाई क्याम्पमै राखिएको छ । ‘काम गर्न सक्ने स्थिति भएन । त्यसैले रोक्यौं । कामदारलाई सुरक्षित राखेका छौं’उनले भने । २०७२ को भूकम्प, भारतीय नाकाबन्दीको चपेटामा परेको आयोजना अहिले कोरोना चपेटामा परेको उनले बताए । ८५ प्रतिशत निर्माण सकिएको अवस्थामा कोरोना संक्रमणले आयोजना बन्द गर्नुपरेको उनले बताए ।

आयोजना निर्माणको अन्तिम चरणमा जुटेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको निर्माण बन्द भएको छ । आयोजनामा २ सय बढी कामदार छन् । करिब ९७ प्रतिशत निर्माण सकेको आयोजनाको काम अन्तिममा आएर बन्द गर्नुपरेको आयोजना निर्देशक राजेन्द्र वस्तीले बताए । लिबर्टी इनर्जी कम्पनी लि.ले निर्माण गरिरहेको आयोजनाले यही चैत महिनाभित्र विद्युत् उत्पादन थाल्ने तयारी गरेको थियो । ‘भूकम्प र नाकाबन्दीले निर्माणमा अवरोध पुर्‍याएको आयोजनामा फेरि अर्को संकट आइलाग्यो’ उनले भने, ‘हामी यही (चैत) महिनामा बिजुली दिने तयारीमा थियौं । कोरोनाले समस्या बनायो ।’

आगामी असारमा निर्माण सक्ने योजनाले अघि बढेको २७ मेगावाटको दोर्दीखोला जलविद्युत् निर्माण रोकिएको आयोजना निर्देशक गुरुप्रसाद ढकालले बताए । हिमालयन पावर पार्टनर लिमिटेडद्‍वारा प्रवर्द्धत उक्त आयोजनाको करिब ९० प्रतिशत निर्माण सकिएको दाबी गरिएको छ । चालु आर्थिक वर्षभित्र सक्ने दाबि गरिएको १२ मेगावाटको दोर्दी १ आयोजना र ४ मेगावाटको छन्दीखोला आयोजना निर्माणकार्य पनि बन्द भएको छ ।

जनवरी पहिलो सातादेखि बन्द मर्स्याङ्दी गाउँपालिकामा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत् आयोजना करिब डेढमहिना ठप्प रह्यो । नयाँ वर्ष मनाउन गएका उनीहरु चीनमा कोरोना संक्रमण फैलिएपछि उनीहरु आफ्नै देशमा रोकिएका थिए । फेब्रुअरी अन्तिम साता आएका चिनियाँले काम अघि बढाए पनि स्थानीय कामदार जान आनकानी गरे । अहिले सरकारले लकडाउन गरेपछि निर्माणकार्य बन्द भएको आयोजनाका जनसम्पर्क अधिकृत विजय गुरुङले बताए ।

चिनियाँ कम्पनी च च्याङ हाइड्रोपावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेसन कम्पनी लिमिटेडले निर्माण गरिरहेको आयोजनामा चिनियाँमात्रै ६१ जना थिए । ४ जनामात्रै बसेर ५७ जना चीन गएका थिए । पटक–पटक गरी ३८ जना चिनियाँ फर्केपछि निर्माण थालिएको थियो । १९ जना कामदार फर्कन सकेनन् । पछिल्लो योजनाअनुसार आगामी वैशाख ६ गते विद्युत् उत्पादन मिति (सीओडी) तोकिएको आयोजनाको ८५ प्रतिशत निर्माण सकिएको छ । आयोजना निर्माणकार्य सक्ने अन्तिम कसरतमा जुट्दा बन्द गर्नुपरेको आयोजनाका प्रशासकीय अधिकृत वासुदेव गड्तौलाले बताए ।

ङादीखोलामा निर्माणाधीन ४० दशमलब २७ मेगावाटका सुपर न्यादी जलविद्युत् आयोजनाको निर्माणकार्य बन्द भएको छ । हाई हिमालय–धौलागिरि कन्स्ट्रक्सन जेभीले निर्माण गरिरहेको आयोजनालाई ३ वर्षमा सक्ने लक्ष्य लिइएको थियो । प्रवर्द्धक सिउरी न्यादी पावर लिमिटेडका अध्यक्ष शैलेन्द्र गुरागाइँका अनुसार आयोजनाको निर्माणकार्य अहिले बन्द भएको छ । लकडाउनपछि स्याँगेखोलामा निर्माण भइरहेको २ दशमलब ४ मेगावाटको अपर स्याँगे जलविद्युत् आयोजना निर्माणकार्य पनि बन्द भएको छ । यस्तै, क्व्होलासोंथर गाउँपालिका ४, भुजुङमा भुजुङ हाइड्रोपावर कम्पनीले निर्माण थालेको ७ दशमलब ७ मेगावाटको मिदिमखोला जलविद्युत् आयोजनाको निर्माणकार्य पनि बन्द भएको छ ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काका अनुसार लमजुङका निर्माणाधीन सबै जलविद्युत् आयोजना बन्द भएका छन् । जलविद्युत्‌मात्रै नभएर निर्माणाधीन सबैखाले आयोजना बन्द भएका छन् । ‘हामी कोरोना भाइरसँगको प्रतिकारमा छौं । भीडभाड गर्न नहुने भन्दै सरकारले लकडाउन गरेको छ । यो अवस्थामा कुनै पनि आयोजना चल्न सक्दैन, अघि बढ्न सक्दैन’ उनले भने ।

प्रकाशित : चैत्र १६, २०७६ १५:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×