फ्रान्सका पूर्वउद्योगमन्त्री पाथ्रिक देभेजँको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु भएको छ ।
कोरोनाको संक्रमणको आशंकामा बुधबार अस्पताल भर्ना गरिएका उनको आइतबार बिहान पेरिसको जर्ज पम्पिदु अस्पतालमा मृत्यु भएको हो । उनी ओत द सेन प्रान्तका क्षेत्रीय विकास सल्लाहकारसमेत थिए ।
निकोलस सार्कोजी र ज्याक सिराक दुवै राष्ट्रपति रहेको बेला उनी मन्त्री थिए ।
देभेजँले शुक्रबार आफ्नो स्वास्थ्य सुधारोन्मुख रहेको भन्दै चितित्सकहरूलाई दिएर सामाजिक सञ्जाल ट्विटरमा लेखेका थिए । तर, शनिबार साँझ उनको स्वास्थ्यमा एक्कासि खराबी देखिएको थियो ।
७१ वर्षीय पाथ्रिक देभेजँले सामाजिक सञ्जाल ट्विटरमा आफू छिट्टै निको भई फर्किएर काममा लाग्ने उल्लेख गरेका थिए ।
