२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

क्रिकेटर पारस खड्काको लकडाउन डायरी : ‘खेलकुदभन्दा मानव जीवन ठूलो’

लकडाउनले धेरैलाई गाह्रो भएको छ । तर कोभिड–१९ नियन्त्रण गर्ने उपाय यही मात्र देखिएको छ । लकडाउन थप्नु सबैको हितमा छ । 
अहिले आफैंले जिम्मेवारी लिने समय हो । सरकार वा कसैलाई दोष दिएर हुँदैन । यस्तो बेला पनि सरकारले भनेको नमाने कहिले मान्ने त।
पारस खड्का

काठमाडौँ — म परिवारसँग घरमै छु । कोभिड–१९ संक्रमणको जोखिम भएका बेला सबैले गर्नुपर्ने यही हो । टीभी हेरेर, अलि–अलि एक्सरसाइज गरेर र परिवारजनसँग गफ गर्दै समय कटाइरहेको छु । हामी सरकारले दिएको सन्देशलाई पालना गरेर बसेका छौं । घरबाट कोही निस्किएका छैनौं । दूरी कायम गरी गफ गर्दै बसेका छौं ।

क्रिकेटर पारस खड्काको लकडाउन डायरी : ‘खेलकुदभन्दा मानव जीवन ठूलो’

घर बस्ने त छँदै छ, हामी खेलाडीको खुसी मैदानमै हुन्छ । खेलाडीको जीवनमा खेल्ने समय कम हुन्छ । त्यही भएर जति खेल्न पायो, त्यति नै रमाइलो हुन्छ । अहिले घर बस्नु भनेको बाध्यता हो । क्रिकेट म्याच भएका बेला धेरै भ्रमणमा भइन्थ्यो । घरबारे खासै सोच्न पनि भ्याइँदैनथ्यो । चाडपर्व भएका बेला चाहिँ घर एकदमै मिस हुन्छ ।


पाँचछ वर्षअघि म युनिसेफको ‘साबुनपानीले हात धोऔं’ भन्ने कार्यक्रममा सद्भावना दूत थिएँ । हात धुनु न्यूनतम हाइजिन हो । अहिले कोभिड–१९ का कारण यसले बढी प्राथमिकता पाएको हो । हात धोएर मात्र हुँदैन । आफू कसरी सफा बस्ने भन्ने मुख्य हो । हात धुने भनेको सुरुआत मात्र हो । अहिले संक्रमणको जोखिमका बेला हातले नाक, मुख, कान नछुनू भनिएको छ । शारीरिक र मानसिक रूपमा बलियो हुने हो भने धेरै रोगलाई हामी आफैं जित्न सक्छौं ।

हात धुने कुरामा कति मान्छे गम्भीर छन्, छैनन्, अहिले पनि थाहा छैन । तर अहिले हात धुनु महत्त्वपूर्ण छ । कोभिड–१९ हातबाटै सर्न सक्छ । अब हात धुने मात्र नभई आफ्नो सरसफाइ पनि सबै मानिसको प्राथमिकतामा रहन्छ भन्ने मेरो बुझाइ छ ।

लकडाउनले काठमाडौंको वातावरण सफा छ । धुलो उडेको देखिँदैन, आकाश खुलेको छ । कोभिड–१९ को यो त्रास सकिएपछि हामीले आफ्नो जिम्मेवारी बहन गर्न भुल्नु हुँदैन । आफूलाई कसरी सफा राख्ने र आफ्नो टोललाई कसरी व्यवस्थित राख्नेतर्फ सबै लाग्नुपर्छ ।

ग्लोबल वार्मिङले कार्बन इमिसन (उत्सर्जन) को इस्यु पनि जल्दाबल्दो बनेको छ । वातावरणीय हिसाबमा हेर्दा पनि आफूमा भएको स्रोतसाधनलाई कसरी कम गर्ने, इकोसिस्टम कसरी सन्तुलित बनाउने सोच राख्न जरुरी छ । अहिले धेरै वर्षपछि काठमाडौंमा हामी यस्तो हावापानी देखिरहेका छौं । यसलाई पछिसम्म कायम राख्न सबैले ध्यान दिनै पर्छ । तत्कालको समस्या टर्‍यो भनेर भोलिका दिनमा चुप लागेर बस्नु हुँदैन ।


पाँच वर्षअघि भूकम्प आउँदा चारपाँच महिनासम्म हामी यो हुन्छ, त्यो हुन्छ, यो गर्नुपर्छ, यस्तो गर्नुपर्छ भन्थ्यौं । त्यसपछि हामी कोही सचेत भएका छौं जस्तो मलाई लाग्दैन । हामीले त्यत्रो विपत्लाई तत्कालै बिर्सिहाल्यौं । कोभिड–१९ को यो संक्रमणलाई हामीले भोलिका दिन हेरेर भए पनि बिर्सनु हुँदैन । हामीले यसलाई शिक्षाका रूपमा हेर्नुपर्छ । विश्वले नै त्यही गर्छ होला सायद । मलाई लाग्छ, कोभिड–१९ पछिको विश्व अर्कै हुनेछ ।


लकडाउनमा मान्छे बाहिर निस्किरहेका छन् । नबुझ्नु त स्वाभाविक नै हो । धेरैका बाध्यता पनि होलान् । घरमा बसेर खानुपर्‍यो । धेरै जना भाडामा बस्नुभएको होला । बिहानदेखि बेलुकासम्म काम गरेर त्यसको आम्दानीले चल्नुपर्ने पनि होला । तर घरको बुझ्ने मान्छेले सेल्फ आइसोलेसन, सेल्फ क्वारेन्टाइनबारे अरूलाई बुझाउनुपर्छ । अहिले सामाजिक सञ्जालबाट पनि धेरै विषय थाहा पाउन सकिन्छ । अहिलेको एक मात्र औषधि घरभित्र बस्नु हो ।

कोभिड–१९ संक्रमणमा नेपालको ग्राफ त्यति माथि छैन । तर विस्तारै पाँच जना संक्रमित भेटिसक्यौं । यसलाई नियन्त्रण गर्ने भनेकै घर बसेर हो । लकडाउन रमाइलो गर्नेभन्दा पनि जिम्मेवारी बहन गर्ने समय हो ।

हामी चीन र भारतसँग नजिक छौं । चीनमा यो नियन्त्रण हुँदै गयो भनिएको छ । भारतसँग हामी अझ नजिक छौं । हाम्रा खाद्यान्नलगायत धेरै सामान त्यहीँबाट आउँछन् । भारतको स्थिति हेर्न जरुरी छ । लकडाउनको आज छैटौं दिन हो । धेरैलाई गाह्रो पनि भएको छ । तर लकडाउन बढाउनु नै उत्तम हुन्छ । अहिले कोभिड–१९ नियन्त्रण गर्ने उपाय यही मात्र देखिएको छ । लकडाउन थप्नु सबैको हितमा छ ।

विश्वका बलिया राष्ट्र पनि कोभिड–१९ विरुद्ध संघर्ष गरिरहेका छन् । त्यसैले हाम्रो जस्तो देशमा लकडाउन लम्ब्याउनै पर्छ । अहिले सबै कुरा बिर्सिएर हामीले स्कुलमा सामाजिक शिक्षामा जे पढेका थियौं, त्यसैलाई पछ्याउनुपर्ने बेला हो । हामी अलिकति अव्यवस्थित पहिलादेखि नै छौं । अव्यवस्थित हँुदा पनि हाम्रो देश जसोतसो चलिरहेको छ । कोभिड–१९ रोकथाम गर्न हामीले घरभित्र बस्नै पर्छ । यो हामी सबैका लागि हो । लकडाउन थपिन्छ भन्ने मानसिकता हामीले बनाउनुपर्छ ।


अहिले आफैंले जिम्मेवारी लिने समय हो । सरकार वा कसैलाई दोष दिएर हँुदैन । सरकारले के गर्ने के नगर्ने भनेर गाइडलाइन तोकिदिएको छ । यस्तो बेला पनि सरकारले भनेको नमाने कहिले मान्ने त † कुनै पार्टी, कुनै जात, कुनै अनुहार हेरेर सरकारले यो नियम बनाएको होइन । यो सबैको हितका लागि स्वच्छ रहौं स्वस्थ रहौं भनेर बनाएको हो । सामाजिक सञ्जालमार्फत सही सन्देश र सकारात्मक सूचना अरूलाई पठाउनु पनि हाम्रो दायित्व हो । त्यसै पनि मानिस अहिले घर बस्नुपर्दा डिप्रेसजस्ता देखिएका छन् । यो घर बसेर आफूलाई मन परेको सोख पुरा गर्ने समय पनि हो ।

म सोसल मिडिया फलो गर्छु । त्यस्तो दोहोरो संवाद गर्दिनँ । यो समयमा पुरानो फोटो सेयर गर्ने कि भनेर मनमा आएको छ, हेरौं के हुन्छ । सोसल मिडियामा कता के भएको छ भनेर हेरिरहेको हुन्छु, सकारात्मक समाचार खोजिरहेको हुन्छु । लेख पढेर समय बिताइरहेको छु ।

खेलकुद हाम्रो जीवनको एउटा हिस्सा हो तर सबै होइन । दिनको ६–७ घण्टा खेल्यौं भने अरू समय साथीभाइ, परिवारलाई दिइरहेका हुन्छौं । अहिलेको परिस्थितिमा खेलकुदभन्दा पनि मानवजीवन ठूलो हो । कोभिड–१९ ले विश्वका सबै खेलकुदलाई प्रभावित पारेको छ । यसको उन्मूलन भएपछि खेलकुद पुन: आम मानिसको एउटा हिस्सा बन्नेछ ।

कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि जो जहाँ खटिनुभएको छ, त्यो निकै प्रशंसनीय छ । डाक्टर, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सबैलाई म अभिवादन गर्छु । डाक्टरको छुट्टै परिचय थियो । अहिले नर्स र मेडिकल टिमको महत्त्व पनि त्यत्तिकै देखिएको छ । त्यसबाहेक जनतालाई खाद्यान्न उपलब्ध गराइदिनुहुनेहरूलाई पनि धन्यवाद दिनै पर्छ । नेपाली क्रिकेट टिम उहाँहरूप्रति निकै आभारी छ । हामी के कसो गर्न सक्छौं, त्यसका लागि तयार छौं । अहिलेका लागि भने हामी घरभित्र बस्नु नै उचित हो । जति धेरै बिरामी त्यत्ति धेरै गाह्रो स्वास्थ्यकर्मी लगायतलाई हुन्छ ।


(विनोद पाण्डेसँग गरेको कुराकानीमा आधारित)

प्रकाशित : चैत्र १६, २०७६ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?