शनिबार १९ वटा आन्तरिक उद्धार उडान

चैत्र १५, २०७६

सुरज कुँवर

काठमाडौँ — काठमाडौंबाट शनिबार दिनभर पोखरा, लुक्ला, ताप्लेजुङ र नेपालगन्जका लागि १९ वटा उद्धार उडान भएका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख मुराहरिप्रसाद पौडेलका अनुसार लकडाउनका कारण अलपत्र परेका विदेशीलाई काठमाडौं ल्याउन एउटा हेलिकप्टर चार्टरसहित १९ वटा उडान भएका हुन् ।

सगरमाथा क्षेत्रमा पदयात्रामा गएका पर्यटकलाई लुक्लाबाट नेपाल वायुसेवा निगमको जहाजले ५ वटा उडान गरेको थियो भने ताराले ४ वटा उडान गरेको थियो । त्यस्तै सिता एयरले शनिबार तीनवटा उडान गरेको पौडेलले बताए । उनका अनुसार, सीताले एउटा लुक्ला, अर्को ताप्लेजुङ उडान गरेको थियो भने नेपालगन्जबाट एउटा काठमाडौंका लागि उडान भएको थियो ।


त्यस्तै समीट एयरले पनि लुक्लामा एउटा उडान गरेको थियो । त्यसैगरी श्री एयरलायन्सले पोखराबाट दुईवटा र यति एयरलायन्सले एउटा उडान गरेका थिए । हेलितकप्टरर्फ कैलाश एयरले पनि लुक्लाबाट विदेशी उद्धार गरेको आन्तरिक टर्मिनलले जनाएको छ । 


उता नेपालगन्जमा कोरोनाको आशंका गरिएका बिरामीको नुमना लिन गएको विमान धावनमार्ग बाहिर दुर्घटनामा परेपछि निगमले अर्को विमान नेपालगन्ज पठाएको थियो ।

नमुना लिन गएको नेपाल एयरलाइन्सको जहाज धावनमार्गमा 'क्र्यास-ल्यान्ड', सबै सुरक्षित [अपडेट]

उक्त विमानले नुमनासहित दुर्घटनामा परेका चालकदलका तीन सदस्य र दुई जना चिकित्सकलाई फिर्ता लिएर शनिबार साँझ काठमाडौं फर्किएको नेपालगन्ज विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरले बताए । निगमका प्राविधिकहरुले विमा कम्पनीका प्रतिनिधिलाई दुर्घटनामा परेको जहाजको निरीक्षण गराएर मात्रै धावनमार्गबाट झिक्ने जानकारी गराएको ठाकुरले बताए । 


यी सहित शनिबार काठमाडौंबाट राजधानी बाहिर चारवटा स्थानमा उद्धार उडान भए ।बिहान ८ बजेदेखी सुरु भएको पर्यटक उद्धार उडान बेलुकी ५ बजेसम्म संचालन भएको थियो ।  


यसैबीच तारा एअरले विज्ञप्ति जारी गर्दै लकडाउनका कारण पोखराबाट २२ जना र लुक्लाबाट ५३ जना गरी जम्मा ७५ जना पर्यटकहरुको उद्दार गरेको जनाएको छ । 

१५ जना अमेरिकन नागरिकलाई लुक्लाबाट उद्दार गर्न तारा एअरको विमान तयारी अवस्थामा रहेको तर मौषमका कारण लुक्ला विमानस्थल बन्द भएकाले उडान स्थगन भएको उस्ले जनाएको छ ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully