साझा पार्टीद्वारा कोभिड–१९ विरुद्ध लड्नका लागि सर्वदलीय ‘उच्चस्तरीय राजनीतिक संयन्‍त्र’ बनाउन माग

चैत्र १५, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — साझा पार्टीले कोरोना भाइरसको नियन्‍त्रणका लागि राष्ट्रिय सहमति सहितको एकताबद्धता आवश्यक पर्ने भएकाले सबै दलहरु सम्मिलित ‘उच्चस्तरीय राजनीतिक संयन्‍त्र’ निर्माण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ ।

पार्टीका अध्यक्ष रविन्द्र मिश्रले शनिबार प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र पेश गर्दै सकेसम्म प्रधानमन्त्री  नभए उपपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा यस्तो सयंन्त्र बनाउन प्रस्ताव गरेको हो । 


यो संयन्त्रले राजनीतिक तहमा आएका विभिन्‍न विचार, राय र सुझावलाई समीक्षा र संश्लेषण गर्ने माध्यमको रुपमा पनि काम गर्ने र संकटको यो घडीमा आम जनमानसको राज्य र राजनीतिप्रतिको विश्वसनीयता कायम राख्‍न समेत यस्तो संयन्त्रले सघाउ  पुर्‍याउने  मिश्रले उल्लेख गरेका छन् ।


त्यस्तै विभिन्‍न क्षेत्रका विज्ञहरु सम्मिलित ‘उच्चस्तरिय विज्ञ समिति’ निर्माण पनि साझा पार्टीले माग गरेको छ । वर्तमान संकटको विविध क्षेत्रमा पर्ने तात्कालिक र दीर्घकालिक असरहरूसँग जुध्‍नका लागि सरकारलाई निरन्तररूपमा आवस्यक विश्लेषण, सुझाव र समीक्षाका लागि यस्तो विज्ञ समिति आवश्यक पर्ने साझा पार्टीको भनाइ छ ।

कान्तिपुर

Link copied successfully