लमजुङ — चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङमा रहेका ३० जना पर्यटकको उद्धार गरेर पोखरा पठाइएको छ । सरकारले लकडाउन गरेपछि अलपत्र परेका पर्यटकलाई प्रहरी, स्थानीय तह र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङको सहयोगमा उद्धार गरिएको हो ।
माथिल्लो मनाङ, माथिल्लो पिसाङ, तल्लो पिसाङ, ङावल, चामेलगायत ठाउँबाट पर्यटकलाई उद्धार गरी पोखरा पठाएको मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताए ।
उनका अनुसार उद्धार गरिएका पर्यटकमा जर्मनी र नेदरल्यान्ड्सका बढी छन् । अमेरिका, फ्रान्स, बेल्जियम स्विजरल्यान्डलगायतका पर्यटक पनि छन् । ६ वटा जिपमार्फत लमजुङको बेंसीसहर हुँदै २४ जना पर्यटकलाई शुक्रबार पोखरा पठाइएको छ । चामेका होटलमा रहेका अरु ६ जनालाई शनिबार बिहान उद्धार गरी पोखरा पठाइएको प्रजिअ पौडेलले बताए । लमजुङको उत्तरी क्षेत्रमा रहेका पर्यटकसमेत सम्पर्कमा आएकाले उनीहरुलाई समेत पोखरा पठाउन भनिएको छ ।
चक्रीय अन्नपूर्ण पदमार्गमा आएका पर्यटक माथिल्लो मनाङ कटेकाहरु थोराङला पास गरेर मुक्तिनाथ पुगेपछि मुस्ताङ प्रशासनले उद्धार गरिसकेको छ । केही पर्यटक हिँडेरै बेंसीसहरतर्फ आएका छन् । मनाङमा अझै पर्यटकको खोजी गरिरहेको प्रजिअ पौडेलले बताए । ‘केही पर्यटक हामी यहीं बस्छौं, जाँदैनौं भनिरहेका थिए । तर, उनीहरु अहिले हामी पनि जान्छौं भनिरहेका छन् । जिपको अभाव भयो,’ उनले भने ।
सरकारले विदेशी पर्यटक फर्काउने घोषणा गरेपछि पदमार्गमा रहेका पर्यटकको खोजी गरिएको थियो । लकडाउन गरेपछि मनाङमा तल्लो क्षेत्र धारापानीबाटै पर्यटकलाई माथिल्लो क्षेत्र जान दिइएको छैन । लमजुङको मर्स्याङदी गाउँपालिका ९, बगैंचाको पर्यटक चेक केन्द्र र लमजुङको बेंसीसहरस्थित पर्यटक प्रवेश शुल्क काउन्टरबाट पर्यटक प्रवेश अनुमतिपत्र नदिएको बेंसीसहरस्थित पर्यटक प्रवेश शुल्क काउन्टरका प्रमुख बालकृष्ण घलेले बताए ।
