काठमाडौँ — ललितपुर महानगरपालिकाको हाताभित्र एउटा एम्बुलेन्स पार्किङ गरी राखिएको छ । गत वर्ष भारत सरकारले गणतन्त्र दिवसमा सहयोग गरेको उक्त एम्बुलेन्स अहिले सञ्चालनमा छैन । सरकारले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणबाट बच्न अत्यावश्यक सेवा चुस्तदुरुस्त राख्ने निर्णय गरेकै बेला महानगरमै एम्बुलेन्स थन्किएको छ ।
भारतले नै सहयोग गरेको अर्को एम्बुलेन्स पनि बिग्रिएको छ, जुन लिलामी गर्ने तयारी भइरहेको महानगरले जनाएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार महानगरमा २०, महालक्ष्मी नगरपालिकामा ४ र गोदावरी नगरपालिकामा ३ गरी जिल्लामा ३८ वटा एम्बुलेन्स दर्ता छन् । तीमध्ये १० वटा सञ्चालनमै छैनन् । काठमाडौंमा मात्र २ सय एम्बुलेसन्स दर्ता छन् । तीमध्ये आधा पनि सञ्चालनमा छैनन् । भक्तपुरमा भने दर्ता भएका ४६ मध्ये आठ वटा सञ्चालनमा छैनन् ।
सरकारले एम्बुलेन्सलाई अत्यावश्यक सेवाअन्तर्गत राखे पनि त्यसको महसुस गर्न नपाएको पाटन मुल्सी टोलका ५९ वर्षीय भिर्गुनाथ ठाकुरले बताए । ‘एक्कासि पेट दुखेर सहन नसक्ने अवस्थामा थिएँ,’ उनल भने, ‘एम्बुलेन्स नभएपछि मोटरसाइकलमा लिफ्ट मागेर अस्पताल जानुपर्यो । मंगलबजार हखाः टोलको एम्बुलेन्स पनि वर्षौंदेखि थन्किएको छ । ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बिग्रिएका एम्बुलेन्स चाँडै सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए ।
नेपाल एम्बुलेन्स सेवाका कार्यकारी प्रमुख अमित जोशी सरकारको प्रत्यक्ष निगरानीमा एम्बुलेन्स सञ्चालनमा ल्याउनुपर्ने बताउँछन् । ‘अहिले दर्ता गर्यो, बिग्रिएपछि त्यसै थन्क्याउने गरेको छ,’ उनले भने, ‘निगरानी नहुँदा एम्बुलेन्स अन्य काममा प्रयोग भइरहेका छन् ।’
एम्बुलेन्स व्यवस्थापन, अनुगमन तथा रेखदेख गर्न सम्बन्धित नगरप्रमुखको संयोजकत्वमा अनुगमन समिति छ । समितिले एम्बुलेन्स सेवा पारदर्शी, सरल, भरपर्दो र व्यवस्थित रूपमा सञ्चालन गरे/नगरेको, चालकले पालना गर्नुपर्ने आचारसंहिता लागू गरे/नगरेको, सेवाग्राहीको गुनासो तथा उजुरी आएमा सुनुवाइ, समीक्षा बैठक गर्नुपर्छ तर त्यसो गरेको पाइँदैन ।
काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले निजी संस्थासँगको सहकार्यमा १० वटा एम्बुलेन्स सञ्चालन गरिरहेको बताए । ‘महानगरबाहिर दुई वटा सञ्चालनमा छन्,’ उनले भने, ‘महानगरभित्र सञ्चालित एम्बुलेन्सलाई निगरानीमा ल्याउने तयारी भइरहेको छ ।’
गाउँपालिकामा अभाव
स्थानीय तहमा जनप्रतिनिधि आएको झन्डै तीन वर्ष बित्न लागिसक्दा पनि ललितपुरको वाग्मती गाउँपालिकामा एउटा पनि एम्बुलेन्स छैन । ललितपुर दक्षिणी भेगका स्थानीय बासिन्दा बिरामी पर्दा दूध र तरकारीको गाडीमा कष्टकर यात्रा गरी सहरका अस्पताल पुग्न बाध्य छन् । गाउँपालिका प्रमुख वीरबहादुर लोप्चनले कम्पनीलाई एम्बुलेन्स खरिद गर्न रकम बुझाइसकेको बताए । चैत मसान्तभित्रमा ल्याइसक्ने उनले बताए ।
दुर्गम पहाडी भेग भएका प्रत्येक गाउँपालिकामा कम्तीमा दुई एम्बुलेनस अनिवार्य चाहिने जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका एम्बुलेन्ससम्बन्धी टेक्निसियन उपेन्द्र अर्यालले बताए । ‘चालकलाई पनि तालिमको आवश्यकता छ,’ उनले भने ।
