नगर जुटे आइसोलेसन कक्ष र क्‍वारेन्टाइनस्थल निर्माणमा

चैत्र १४, २०७६

सीमा तामाङ

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई संयोजकत्वको क्वारेन्टाइन स्थल निर्माण तथा व्यवस्थापन कार्यदलको प्रस्तावअनुसार पालिकाहरूले आइसोलेसन कक्ष धमाधम बनाउन थालेका छन् ।

संघीय सरकारले कम्तीमा ५ हजार, प्रत्येक प्रदेश र महानगरपालिकाले २/२ हजार, उपमहानगरपालिकाले १/१ हजार, नगरपालिका र गाउँपालिकाले ५ सयदेखि १ हजार शय्याका क्वारेन्टाइन निर्माण गर्नुपर्ने भएको छ  । क्वारेन्टाइन तथा आइसोलेसनका लागि केही नगरपालिकाले तयारी थाले पनि केही जनशक्ति र उपकरण अभाव भन्दै पन्छिन थालेका छन् । 


काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले भेन्टिलेटर र आईसीयूसहितको आइसोलेसन कक्ष तयार गरेको छ । होम क्वारेन्टाइनलाई नै जोड दिइरहेको नगरप्रमुख सन्तोष चालिसेले बताए । जोरपाटी चोकमै स्थापना हुन लागेको अस्पतालसँग समन्वय गरेर भेन्टिलेटरसहित ६ शय्या र ५ शय्याको आईसीयूसहितको आइसोलेसन कक्ष तयार गरिसकेको उनले जानकारी दिए । कोरोनासम्बन्धी नगरवासीको उपचार खर्च नगरपालिकाले नै बेहोर्ने भएको छ । नेपाल मेडिकल कलेजमा ७ शय्या र शंखरापुर अस्पतालमा ५ शय्याको आइसोलेसन कक्ष तयार गरिसकेको नगरप्रमुख चालिसेले बताए । नगरभित्रको चाइल्ड हेभन स्कुलले उपलब्ध गराएको १० वटा कोठालाई क्वारेन्टाइन बनाउने योजना छ । 


टोखा नगरपालिकाले टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा ५ शय्याको आइसोलेसन कक्ष तयार गरेको मेयर प्रकाश अधिकारीले जानकारी दिए । चिकित्सकका लागि व्यक्तिगत सुरक्षा सामग्री, ज्वरो नाप्न थर्मल गन तथा स्क्यानर र अक्सिजन अभाव रहेको उनको भनाइ छ । ‘दक्ष जनशक्ति र आवश्यक उपकरण पाइएको खण्डमा आइसोलेसन तथा क्वारेन्टाइन बनाउन संस्थागत तथा सामुदायिक विद्यालय भवन तयार राखिएको छ,’ उनले भने । शंखरापुर नगरपालिकाले पनि सुष्मा मेमोरियल र पिपुल्स केयर अस्पतालमा २/२ शय्याको सामान्य आइसोलेसन कक्ष तयार गरेको छ । विदेशबाट फर्किएका ५ जनालाई घरमै क्वारेन्टाइन बस्न निर्देशन दिइएको र स्वास्थ्यकर्मीले निगरानी गरिरहेको नगरप्रमुख सवर्ण श्रेष्ठले जानकारी दिए । नगरपालिकाले साँखु स्वास्थ्यचौकीमा १० देखि १२ शय्याको क्वारेन्टाइन तयार गर्दै छ ।


नागार्जुन नगरपालिका, कागेश्वरी मनोहरा, चन्द्रागिरि र कीर्तिपुर नगरपालिकाले पनि धमाधम आइसोलेसन कक्ष तयार पारिरहेका छन् । १२ बेडको आइसोलसन कक्ष तयार गरिरहेको नागार्जुनले विदेशबाट आएका २ सयभन्दा बढीलाई घरभित्रै क्वारेन्टाइनमा बस्न निर्देशन दिएको छ । नगरप्रमुख मोहनबहादुर बस्नेतले सशस्त्र प्रहरी अस्पताल बलम्बुमा २० शय्याको आइसोलेसन कक्ष छुट्याइएको बताए । कागेश्वरी–मनोहराले मूलपानीमा ३ बेडको आइसोलेसन कक्षसहित २२ शय्याको क्वारेन्टाइन तयार गरेको छ । चन्द्रागिरिले प्राथमिक केन्द्रमा १५ शय्याको सामान्य आइसोलेसन कक्ष तयार गरिरहेको छ । कीर्तिपुरले त्रिभुवन विश्वविद्यालय परिसरमा ५० शय्याको आइसोलेसन तयार गरेको छ । नगरप्रमुख रमेश महर्जनले उक्त कक्षमा ३ सय जना मानिस अटाउने बताए । गोदावरी नगरपालिकाले चापागाउँ अस्पतालमा १० शय्याको आइसोलेसन तयार गरिरहेको छ । १५ लाखको आकस्मिक कोषसमेत स्थापना गरेको नगरप्रमुख गजेन्द्र महर्जनले बताए । 


दक्षिणकाली र बूढानीलकण्ठ नगरपालिकाले आइसोलेसन कक्षको तयारी नगरे पनि होम क्वारेन्टाइनलाई जोड दिएका छन् । महांकाल र कोन्ज्योसम गाउँपालिकाले हालसम्म केही तयारी गरेका छैनन् । उपकरण, जनशक्ति र भौतिक पूर्वाधार अभाव रहेको महांकाल गाउँपालिका अध्यक्ष रामचन्द्र दाहालले बताए । महालक्ष्म्मी नगरपालिकाले भौतिक पूर्वाधार भए पनि आइसोलेसन कक्ष बनाउन सकेको छैन । नगरप्रमुख रामेश्वर श्रेष्ठले मेडिकल टिम, बेड र डि–इन्फेक्सन औषधि नपाएको बताए । नगरपालिकाले विदेशबाट आएका १९ जनालाई घरमै क्वारेन्टाइन बस्न आग्रह गरेको छ ।


खरिपाटी क्वारेन्टाइनमा ९६ जना

चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्रको क्वारेन्टाइनमा बस्नेको संख्या ९६ पुगेको छ । थाई एयरवेज र एयर इन्डियाले शनिबार काठमाडौं ल्याएका ६४ जना, सिंगापुर, ओमान, अस्ट्रेलियाबाट आएका ९ जनालाई क्वारेन्टाइनमा राखिएको हो । बुधबार भारत र बंगलादेशबाट काँकडभित्ता हुँदै नेपाल भित्रिएका २३ नेपाली पनि क्वारेन्टाइनमा रहेको महानगरीय प्रहरी परिसर प्रमुख एसपी सबिन प्रधानले बताए । विदेशबाट आएकाहरू अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने विश्व स्वास्थ्य संगठनको मापदण्ड छ ।

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully