‘नेपाल बन्द’ खुलेपछि किनमेल गर्न गएजस्तै बेलुकीपख समूहमा मानिस बजारमा निस्कने गरेका छन् ।
काठमाडौँ — विश्वभरि चिकित्सक र सम्बद्ध विशेषज्ञले कोभिड–१९ को सम्भावित फैलावट रोक्न सामाजिक दूरी (सोसल डिस्टेन्स) कायम गर्न सुझाव दिइरहेका छन् । तर हरेक दिन खासगरी बेलुकीपख किनमेलका लागि खाद्यान्न, तरकारी र माछामासु पसलमा मानिसको घुइँचो देखिन्छ । किनमेल वा बाटोमा हिँड्ने क्रममा एकअर्काबीच दूरी कायम गरेको देखिँदैन ।
त्रिविको सूक्ष्म जीवविज्ञान केन्द्रीय विभागका प्रमुख प्राध्यापक मेघराज बन्जाराका अनुसार कोभिड–१९ मानिसबाट मानिसमा सर्ने भएकाले संक्रमितले खोक्दा वा बोल्ने क्रममा थुक निस्किएर अर्को व्यक्तिको मुख, नाक र आँखामा पर्न सक्छ र संक्रमण फैलन सक्छ । त्यसैले सोसियल डिस्टेन्स (दूरी) कायम गर्नुपर्ने भएको हो । ‘यस्तो दूरी अमेरिकाको सेन्टर फर डिजिज कन्टोल (सीडीसी) ले ६ फिट र डब्लूएचओले एक मिटर भनेका छन्,’ उनले भने ।
अनुसन्धानले संक्रमति व्यक्तिमा भाइरस बढी हुने देखाएको छ र त्यस्ता व्यक्तिले धेरै जनामा सार्ने सम्भावना हुन्छ । निको भएका व्यक्तिबाट पनि सर्ने जोखिम हुने भएकाले ठेलमठेल गरेर किनमेल नगर्न उनले सुझाव दिए ।
बन्जाराका अनुसार किनमेलका क्रममा पनि दूरी कायम गर्न सकियो भने सम्भावित संक्रमण अर्को व्यक्तिमा सर्ने सम्भावना न्यून हुन्छ । को संक्रमित हो र को होइन भन्ने थाहा हुँदैन । ‘त्यसैले संक्रमण भएकाबाट बच्न र संक्रमण नै हुन नदिन दूरी कायम गरेर हिँडौं र किनमेल गर्दा पनि त्यो पद्धति अपनाऔं,’ बन्जाराले भने । ६ देखि ८ बजेसम्म वा समय तोकेर खोलिने खाद्यान्न पसलले झनै खतरा निम्त्याउने भएकाले त्यो प्रणाली नअपनाउन सरकारलाई उनले सुझाव दिए ।
मानिसबीचको दूरी कायम गर्नुपर्ने सन्देश सबैका मोबाइलको रिङब्याक टोनमा समेत छ तर बजारमा निस्किएकाहरूले त्यस्तो सन्देशलाई बेवास्ता गरेका छन् । भीडभाड नहोस् र संक्रमण नफैलियोस् भनेर नै सरकारले सोमबारदेखि १८ गते बिहान ६ बजेसम्म लकडाउन (बन्दाबन्दी) गरेको छ । तर दिनभरि घरभित्र रहेका सर्वसाधारण विगतका नेपाल बन्द खुलेपछि किनमेल गर्न गएजस्तै बेलुकीपख समूहमा बजारमा निस्कने गरेका छन् ।
कोभिड–१९ फैलिन सुरु भएको चीन र विकसित मुलुकमा चिकित्सक र सम्बद्ध विशेषज्ञले बाहिर हिँडडुल गर्दा वा किनमेल गर्दा सामाजिक दूरीलाई पूर्ण रूपमा पालना गर्न सर्वसाधारणलाई झक्झक्याइरहेका छन् । सकेसम्म घरबाटै बाहिर ननिस्किनु कोभिड–१९ को संक्रमणबाट बच्ने उत्तम अस्त्र हुने उनीहरूको भनाइ छ
