काठमाडौँ — राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले मंगलबार फेसबुकमा ‘अर्जेन्ट अनुरोध’ भन्दै काठमाडौंमा तुरुन्त टेलर चाहियो भनेर पोस्ट गरे । डाक्टरले कोरोनाका बिरामी जाँच गर्दा लगाउने ड्रेस ‘व्यक्तिगत सुरक्षा सामग्री (पीपीई)’ बनाइदिन महाराजगन्जको शिक्षण अस्पताल र धरानको बीपी अस्पतालले आग्रह गरेपछि उनले टेलरको खोजी फेसबुकबाट गरेका थिए ।
यही पोस्टका आधारमा उनले काठमाडौंका दुई वटा गार्मेन्टलाई पाँच सय वटा पीपीई बनाउन दिइसकेका छन् । पानी र हावासमेत नछिर्ने रबराइज टफेटा नामको कच्चा पदार्थबाट पीपीई तयार भइरहेको पुनले बताए ।
बुधबार उत्पादन गरेको सामग्री उनले मेडिकल काउन्सिलका अध्यक्ष भगवान कोइरालालाई देखाए । ‘यतिको भएपछि काम चल्छ भनेपछि धमाधम बनाइरहेका छौं,’ पुनले भने । डा. कोइरालाले स्थानीय पीपीईले काम चल्ने बताएपछि बिहीबारदेखि धमाधम दुई वटा गार्मेन्टबाट सिलाइ भइरहेको पुन बताउँछन् । पुनसँग हाल ६ सय वटा पीपीई बनाउने कच्चा पदार्थ छ । अस्पतालले उपलब्ध गराएको ‘ओरिजिलन पीपीई’कै आधारमा स्थानीय पीपीई बनाइरहेको उनले बताए । तयार हुनेबित्तिकै उपत्यका र बाहिरका जिल्लामा पठाउने उनको तयारी छ । वीर, टिचिङ, मेडिसिटीबाहेक प्यूठान र बाग्लुङका अस्पतालले पनि पीपीईको अर्डर गरेको पुनले बताए । ‘एउटा पीपीईको कच्चा पदार्थ र सिलाइ ज्यालासमेत गरी सरदर एक हजार रुपैयाँ पर्छ,’ उनले भने, ‘शुक्रबारदेखि नै अस्पतालमा सप्लाइ हुन्छ ।’
पीपीई अभाव भएपछि निजी अस्पतालले पनि आफैं उत्पादन सुरु गरेका छन् । धापासीस्थित ग्रान्डी अस्पतालले स्थानीय सामग्री प्रयोग गरेर ३० थान पीपीई बनाइसकेको अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेले बताए । ‘पानी नछिर्ने कपडा किनेर टाउकादेखि पैताला छोप्ने खालको पीपीई सिलाएका छौं,’ उनले भने, ‘एन ९५ भने हामी बनाउन सक्दैनौं, किनेर प्रयोग गरिरहेका छौं ।’ पीपीई सिलाउने टेलर नपाएपछि अस्पतालमै टेलर बोलाएर पीपीई सिलाउन थालिएको उनले जानकारी दिए ।
स्टार अस्पतालले स्थानीय सामग्री प्रयोग गरेर पीपीई बनाउन थालेको छ । ज्वरो क्लिनिकमा शंकास्पद बिरामी हेर्ने चिकित्सक र स्वाथ्यकर्मीलाई जोखिम बढेपछि आफैं पीपीई बनाएर प्रयोग गरिरहेको अस्पतालका प्रबन्ध निर्देशक डा. शैल रूपाखेतीले बताए । ‘बजारका खरिद गर्न पाइएन, सरकारको मुख मात्रै ताक्ने हो भने बिरामी नहेर्दा पनि हुने स्थिति छ,’ उनले भने । चीनमा कोभिडका बिरामी देखिन थालेदेखि नै अस्पतालमा कोरोना रेस्पोन्स टिम बनाएर पीपीई र सेनिटाइजर बनाउन सुरु गरिएको उनले बताए । मोटरसाइकल चलाउँदा प्रयोग हुने चस्मा, हेल्मेटमा प्रयोग हुने भाइजर, वाटरप्रुफ कपडाको रेनकोट, घुँडा ढाक्ने गमबुट, कपडाका मास्क र घरायसी काममा प्रयोग हुने पन्जाको प्रयोग गरी पीपीई बनाइएको डा. रूपाखेतीले जानकारी दिए । एउटा पीपीई बनाउन करिब २ हजार रुपैयाँ लाग्छ, लकडाउनले गर्दा स्थानीय कच्चा पदार्थ पनि खरिद गर्न गाह्रो भइरहेको छ,’ उनले भने, ‘यही पीपीईलाई पनि संक्रमणमुक्त (अटोक्लेभ) गरेर प्रयोग गर्न सकिन्छ कि भनेर सोचिरहेका छौं ।’ अस्पतालमै बनेको पीपीई अहिले सुरक्षागार्डदेखि, शंकास्पद बिरामी हेर्ने चिकित्सक र स्वास्थ्यकर्मीले लगाइरहेका छन् ।
पीपीई अभाव भएपछि चिकित्सक आफैंले पनि पीपीई बनाइरहेका छन् । सरकारी चिकित्सक संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेको पहलमा एक सय थान पीपीई तयार भइसकेको छ । लकडाउनले गर्दा सामग्री उपलब्धता सहज नभएकाले ठूलो परिमाणमा पीपीई बनाउन नसकिएको उनले बताए । ‘अहिले बनिसकेका पीपीई अत्यावश्यक पर्ने शुक्रराज ट्रपिकल अस्पताल टेकु या संक्रमित बिरामी हेर्ने अन्य अस्पतालमा दिन्छौं,’ उनले भने, ‘सामग्री खरिद गर्न अहिले हामीले आफ्नै लगानी गरेका छौं । सरकार या कुनै संस्थाले सहयोग गर्ने हो भने हामी जति पनि बनाएर उपलब्ध गराउन सक्छौं ।’
स्थानीय पीपीई भरपर्दो छैन : स्वास्थ्य मन्त्रालय
स्थानीय कच्चा पदार्थ प्रयोग गरेर बनाइएको पीपीई कोभिड संक्रमणका बिरामी उपचार गर्न गुणस्तरीय नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । चिकित्सक र स्वास्थ्यकर्मीको मनको सन्तोकका लागि प्रयोग गर्न सकिने भए पनि यसबाट सजिलै मानव शरीरमा भाइरस छिर्न सक्ने मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले बताए । ‘उहाँहरूले बनाएको पीपीई ज्वरो क्लिनिकमा सम्म लगाउन सकिन्छ,’ उनले भने, ‘पोजिटिभ केस हेर्नलाई सुरक्षित छैन ।’
आफ्नो सुरक्षाका लागि आफैं पीपीई बनाउनेलाई मन्त्रालयले कुनै रोकावट नगर्ने उनले बताए । ‘अहिले अभावको स्थितिमा अस्पतालले पीपीई बनाउन गरेका प्रयास प्रशंसनीय छन् तर यो विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार बनेको छैन ।’ कोभिडकै बिरामी हेर्ने भनेर तोकिएका अस्पतालमा भने पुग्दो मात्रामा पीपीई पठाइसकिएको उनले बताए ।
