अस्पतालमै बस्न चाहन्छन् स्वास्थ्यकर्मी !

अस्पतालमा लामो समयको ड्युटी तोकिए पनि खाना र आवासको उपयुक्त प्रबन्ध नहुँदा जोखिम मोलेर घर जानुपरेको गुनासो

चैत्र १२, २०७६

अतुल मिश्र

काठमाडौँ — कोभिड–१९ संक्रमण रोकथाम र उपचारको अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीहरूले अस्पतालमै उपयुक्त आवासको व्यवस्था गर्न आग्रह गरेका छन् । विश्वका विभिन्न भागमा बिरामीको उपचार गर्दा स्वास्थ्यकर्मी संक्रमित भई मृत्युसमेत भएकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका स्वास्थ्यकर्मीले सम्भावित संक्रमणबाट आफ्नो परिवार र आफन्तलाई जोगाउन अस्पतालमै बस्न चाहेका हुन् ।

कोभिड–१९ संक्रमित १९ वर्षीया किशोरी अस्पताल भर्ना भएपछि र दिनहुँ थप शंकास्पद बिरामी भर्ना हुन थालेपछि डाक्टरलगायतका स्वास्थ्यकर्मीले अस्पतालमै आवासको व्यवस्था भए सजिलो हुने बताएका छन् । आइतबारदेखि डाक्टरहरूलाई २४ घण्टे ड्युटी तोकिएको छ ।

‘घण्टौं ड्युटी गरेपछि बाध्य भएर घर जाँदै छु,’ टेकु अस्पतालका एक चिकित्सकले भने, ‘साना बच्चा र ७० नाघेकी आमा हुनुहुन्छ । परिवारलाई रोग सर्ने हो कि भन्ने त्रासमा छु । यहीं बस्ने, खाने उपयुक्त व्यवस्था नहुँदा जोखिम मोलेर घर जानुपरेको छ ।’ उनले खाने–बस्ने व्यवस्था नाम मात्रको भएकाले घण्टौं कामको तनावपछि पनि सहज नभएको गुनासो गरे ।

‘द ल्यान्सेट’ मा यही साता प्रकाशित एक अध्ययनमा उल्लेख भएअनुसार चीनमा मार्च महिनाको सुरुआतमा तीन हजार तीन सय स्वास्थ्यकर्मी कोभिड–१९ ले संक्रमित भएका थिए । फरवरीमा त्यहाँ २२ जना स्वास्थ्यकर्मीको कोभिड–१९ संक्रमणले मृत्यु भएको थियो । हालै इटलीमा २० प्रतिशत उपचारमा संलग्न स्वास्थ्यकर्मी यो संक्रमणको सिकार भएका छन् । केही चिकित्सकको मृत्युसमेत भएको छ ।


‘उच्च जोखिमबीच हाम्रा चिकित्सक र स्वास्थ्यकर्मी कोभिड–१९ संक्रमणसँग लड्न तयार छन् तर हामीलाई उपयुक्त मात्रामा सुरक्षा कवच (पीपीई) हुनुपर्‍यो, यहाँ त मास्ककै अभाव छ,’ टेकु अस्पतालका निर्देशक डा.सागरकुमार राजभण्डारीले भने, ‘हाल करिब एक साताजति पुग्ने निजी सुरक्षा उपकरण छन्, त्यसपछि गाह्रो हुन्छ ।’

हाल टेकु अस्पताललाई स्वास्थ्य मन्त्रालयले ‘कोभिड–१९’ संक्रमण उपचारको हब अस्पताल भने पनि त्यसअनुसारको कुनै सुविधा र क्षमता विस्तारमा ध्यान नदिएको डा.राजभण्डारीले गुनासो गरे । सरकारले राजधानीका १०० शय्याभन्दा बढी क्षमताका अस्पतालले शंकास्पद कोभिड–१९ का बिरामीलाई आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने भने पनि यसको पालना निजी अस्पतालले गरेका छैनन् ।

‘चारैतिर घुमेर अन्त्यमा कोभिड–१९ का शंकास्पद सबै बिरामीलाई टेकु पुर्‍याउने गरिन्छ,’ उनले भने, ‘राजधानीको १०० शय्यामाथिका निजी अस्पतालले सरकारको आदेश नमान्दा टेकुमा बिरामीको चाप थेग्नै नसकिने अवस्था आउने डर छ ।’


अस्पतालमा आइसोलेसनमा राख्नुपर्ने बिरामीका लागि पाँचवटा शय्या छन् । ती सबैमा बिरामीको उपचार भइरहेको छ । हाल स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विभागबीच उपयुक्त समन्वय नहुँदा टेकु अस्पतालमा बढी चाप परेको त्यहाँ कार्यरत चिकित्सकले बताए । विज्ञहरूले टेकुमा बिरामीको चाप बढ्ने देखिएकाले समयमै अन्य अस्पतालमा उपचारका लागि उपयुक्त व्यवस्था मिलाउन सरकारलाई सुझाएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार मंगलबार साँझसम्ममा विश्वभरिका १८९ मुलुकमा फैलिएको कोभिड–१९ बाट ३ लाख ३४ हजार ९ सय ८१ जना संक्रमित भएका छन् भने १४ हजार ६ सय ५२ जनाको मृत्यु भइसकेको छ । डब्लूएचओ दक्षिणपूर्व एसिया कार्यालयका अनुसार नेपाल, भारत, बंगलादेश, भुटानलगायत देशमा कोभिड–१९ को प्रयोगशाला प्रमाणित १ हजार ७ सय ७६ केस देखिएकोमा ५८ जनाको मृत्यु भएको छ ।

ग्रान्डी र अल्का अस्पतालसँग स्पष्टीकरण
स्वास्थ्य मन्त्रालयले ग्रान्डी इन्टरनेशनल अस्पताल र अल्का अस्पतालसँग स्पष्टीकरण सोधेको छ । दुवै अस्पताललाई के–कति कारणले कोभिड–१९ का बिरामी जाँच्न नसकिने सञ्चारमाध्यममा बताएको हो स्पष्टीकरण दिन भनिएको छ ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलका अनुसार ग्रान्डी अस्पतालले ‘आफूहरुले बिरामी जाँच्न नसक्ने भन्न नखोजेको’ औंल्याउदै स्पष्टीकरणको उत्तर दिए पनि अल्काले कुनै प्रतिक्रिया जनाएको छैन । ग्रान्डीले राज्यको नीति–नियम मान्ने उल्लेख गर्दै सामान नपाएको गुनासो गरेको छ । डा. पोखरेलले निजी अस्पतालले सामानहरुको जोहो आफैं गरेर मुलुकलाई सघाउनुपर्ने बताए ।

अतुल मिश्र कान्तिपुर दैनिकमा प्रमुख उप-सम्पादकका रुपमा कार्यरत छन् । उनी स्वास्थ्थ तथा विज्ञान विषयमा विगत २५ वर्ष देखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully