कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

क्वारेन्टाइनमा राखिएका कामदारलाई खाद्यान्‍नको अभाव हुन दिइएको छैन : कतार

१८ हजार वेड तयार हुँदै, थप १६ जना आप्रवासी कामदार संक्रमीत
उपचारमा भेदभाव छैन : नेपाली दूतवास
होम कार्की

काठमाडौँ — कतारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन क्याम्पभित्रै निगरानीमा राखिएको झन्डै ५० हजार नेपालीसहित आप्रवासी कामदारलाई खाद्यान्यको अभाव हुन नदिइएको दाबी गरेको छ । कतारले सनैयाको सडक नम्बर १ देखि ३२ भित्र रहेका क्याम्पलाई विशेष जोखिम क्षेत्रको रुपमा पहिचान गर्दै गत मार्च १७ देखि आवातजावतमा पूर्ण रोक लगाएको थियो ।

क्वारेन्टाइनमा राखिएका कामदारलाई खाद्यान्‍नको अभाव हुन दिइएको छैन : कतार

उच्चस्तरीय संकट व्यवस्थापन समितिले मंगलबार पत्रकार सम्मेलन गर्दे निगरानीमा राखिएका सबै कामदारका लागि खाद्यान्य सुरक्षाको सुनिश्चित गरिएको जनाएको छ । समितिका प्रवक्ता लोलवाह विन्ट रसिद विन मोहम्मद अल खतिरले खाद्यान्य आपूर्तिमा सबै प्रवन्ध मिलाएकोले कामदारलाई ढुक्क भएर बस्न आग्रह गरेकी छिन् । कताभर खाद्यान्य सहज आपूर्ति मिलाउनको लागि १४ वटा कम्पनीसँग सम्झौता भइसकेको उनको दाबी थियो ।

उनले सुक्ष्म ढंगले निगरानीमा राखिएको ती कामदारहरुको लागि आइपर्ने सबै समस्यालाई समाधान गर्न औषधि र उपकरणको समेत ब्यवस्था भइरहेको बताइन् । ‘कामदारको स्वास्थ्य परिक्षणको लागि ६ वटा एम्बुलेन्ससहितको तीनवटा मोबाइल जाँचकेन्द्र स्थापना गरिएको छ,’ उनले भनिन्, ‘यो क्षेत्रलाई कोरोनाबाट मुक्त गर्नको लागि कामदारको क्रमिकरुपमा परिक्षण भइरहेको छ ।’

उनले शंकास्पद बिरामीलाई आवश्यक उपचारको लागि श्रोतसाधान सम्पन्न अस्पतालमा रिफर भइरहेको बताइन् । ‘यो कठिन समयमा जनचेतना बढाउनको लागि प्रभावकारी समन्वयको लागि दूतावास र समुदायसँग काम भइरहेको छ,’ उनले बताइन् ।

कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वजले कतारले खाद्यान्य र औषधीजन्य उपकरणको अभाव हुन नदिएको बताए । ‘खाद्यान्य र औषधिको लागि यहाँ रहेका नेपाली समुदाय चिन्तित हुन जरुरी छैन । हामीले आफ्नो तर्फबाट नेपाली समुदायको सुरक्षाको ध्यान दिइरहेका छौं,’ उनले भने, ‘निगरानीमा राखिएको कामदार अनुशासनमा बस्नुपर्छ । केही अप्ठ्यारो परेमा नेपाली दूतावास वा कतारी संयन्त्रमा सर्म्पक गर्न हामीले अनुरोध गर्दै आइरहेका छौं ।’
कतारले भाइरसबाट संक्रमित आप्रवासी कामदारको पहिचान खुलाएको छैन ।

१८ हजार बेड तयार हुँदै
कतारले केही हप्ताभित्र कोरोना भाइरसविरुद्ध लड्नको लागि आधारभुत स्वास्थ्य सुविधासहितको १८ हजार वेड उपलब्ध हुने जनाएको छ । ‘अहिले ४ हजार ६ सय ४५ वटा वेड उपलब्ध भइसकेको छ,’ प्रवक्ता अल खतिरले भनिन्, ‘कामदारलाई हुनसक्ने संक्रमण रोक्न यी सुविधासहितको अस्पताल बनाइएको हो ।’

कतारमा कोरोना भाइरस संक्रमितको संख्या बढिरहेको छ । मंगलबार पनि २५ जनामा देखिएको थियो । जसमा १६ जना आप्रवासी कामदार हुन् । समितिका अनुसार आप्रवासी कामदार र कतारी नागरीक गरी ११ हजार ५ सय ३१ जनाको स्वास्थ्य परिक्षण भइसकेको छ । जसमा ५ सय २६ जनामा संक्रमीत देखिएको छ । ४१ जनालाई निको भएको छ ।

नेपाली दूतावासका अनुसार कोरोना भाइरसको संक्रमणबाट बचाउनको लागि कतार सरकारले उपचारमा कसैलाई पनि भेदभाव गरेको छैन । दूतावासले निगरानी र क्वारेन्टाइनमा बसेका नेपालीलाई धैर्यतापुर्वक बस्न अनुरोध गरेको छ ।

नियमीत परिवारको सर्म्पकमा रहनु : दूतावास
कोरोना भाइरसको संक्रमणबाट आफू बच्न र अरुलाई पनि बचाउनको लागि कोठा भित्र बस्नुको विकल्प नभएको भन्दै मानसिक तनावको रुपमा नलिन कामदारसमक्ष अनुरोध गरेको छ ।


‘केही समय कोठाभित्र बस्न जरुरी छ । कोठाभित्र बस्नुपर्दा शारीरिक व्यायाम गर्ने, गीत सुन्ने, ध्यान गर्ने, पढ्ने, आफ्नो परिवारसँग नियमीत सर्म्पकमा रहने गरेमा मानसिक स्वास्थ्यलाई निकै सहयोग पुग्नेछ,’ दूतावासद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘कतारको परिचयपत्रको म्याद समाप्त भएपनि स्थिति सामान्य भएपछि कतार प्रवेश गर्न पाइने यहाँको सरकारी अधिकारीहरुले बताएका छन् । तत्कालको लागि भने आफू काम गर्ने कम्पनीमा सर्म्पक गर्न अनुरोध गर्दछु ।’

प्रकाशित : चैत्र १२, २०७६ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?