पीपीई नहुँदा जोखिममा स्वास्थ्यकर्मी

चिकित्सक भन्छन्, ‘पीपीई छैन भनेपछि हाम्रो मनोबल बलियो छैन, स्वास्थ्यकर्मी नै सुरक्षित नभए बिरामी कसरी हेर्ने ?’

चैत्र १२, २०७६

फातिमा बानु

काठमाडौँ — कोभिड–१९ संक्रमितको उपचार गर्दा अनिवार्य रूपमा लगाउनुपर्ने पीपीई (व्यक्तिगत सुरक्षा सामग्री) नहुँदा चिकित्सकमा थप जोखिम निम्तिने खतरा देखिएको छ । अस्पताल पुग्ने शंकास्पद बिरामीको उपचारमा पीपीईबिनै चिकित्सकहरू खटिइरहेका छन् ।

वीर अस्पतालको ज्वरो क्लिनिकमा त मास्कमात्रै लगाएर बिरामी जाँच भइरहेको छ । संक्रमित बिरामी हेर्नका लागि मात्रै पीपीई जोहो गरेर राखिएको अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले बताए । ‘पीपीई छैन भनेपछि चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल पनि बलियो छैन,’ उनले भने, ‘स्वास्थ्यकर्मी नै सुरक्षित नभए बिरामी कसरी हेर्ने ?’


कोभिडका बिरामी भर्ना हुने मुख्य केन्द्र टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक एक सय पीपीई खपत हुन्छन् । ‘मुख्य जोखिममा चिकित्सक र स्वास्थ्यकर्मी छन्,’ अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले भने, ‘ओपीडीदेखि आयसीयूसम्मका चिकित्सकलाई पीपीई नभई हुँदैन, जोखिम मोलेर कसरी काम गर्ने ?’ अस्पतालसँग स्टकमा भएको पीपीई प्रयोग भइरहे पनि अब एक सातालाई मात्रै पुग्ने उनले बताए । सरकारले थप पीपीईको व्यवस्था नगरे कपडाको सिलाएर भए पनि काम गर्न तयार रहेको उनको भनाइ छ ।


जनस्वास्थ्यविद् समीर दीक्षितका अनुसार कोभिड या यस्तै कडा संक्रमणजन्य रोगका बिरामी हेर्ने चिकित्सक पीपीईबिना सुरक्षित हुँदैनन् । उपचार गर्दा स्थानीय होइन विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार बनेको पीपीई नै आवश्यक हुन्छ । ‘पीपीईले कपालदेखि पैतालासम्म छेक्छ,’ उनले भने, ‘भाइरसलाई छिर्नबाट पूर्ण रूपमा रोक्ने हुँदा मानव शरीरभित्र पस्न पाउँदैन ।’ बिरामी हेर्नेबाहेक ज्वरो क्लिनिकमा शंकास्पद बिरामी जाँच गर्ने चिकित्सकले समेत अनिवार्य रूपमा पीपीई लगाउन उनले आग्रह गरे ।


कोभिडका बिरामी राख्न तयार भएको पाटन अस्पतालमा पनि यदि त्यस्ता संक्रमित आइहाले पर्याप्त पीपीई छैन । हाल शंकास्पद बिरामी हेर्दा सर्जिकल गाउन लगाएर काम चलाइएको अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माले बताए । ‘अहिले त बिरामी छैनन्, पीपीई खासै चाहिएको छैन,’ उनले भने, ‘भोलि महामारी फैलियो भने कसरी काम गर्ने हो, हामीसँग निकै कम मात्रै सामग्री छ ।’ अस्पताल आफैंले पीपीई सिलाउने तयारी भइरहेको उनले बताए ।


बानेश्वरस्थित सिभिल अस्पतालमा ज्वरो क्लिनिक भए पनि स्वास्थ्यकर्मीले विशेष सुरक्षा सामग्रीबिनै बिरामी जाँचिरहेका छन् । अस्पतालमा पीपीई निकै कम मात्रामा भएको निर्देशक डा. दीर्घराज आरसीले बताए । ‘बेड छ्ट्युाऊ, बिरामी आए उपचार गर भन्ने निर्देशन छ, तर सुरक्षा सामग्री दिइएको छैन,’ उनले भने, ‘भोलि सयौंको संख्यामा बिरामी आए भने हामीसँग उपचार गर्न सक्ने क्षमता हुन्न ।’


कान्ति बाल अस्पतालमा कोभिडका शंकास्पद बालबालिका भर्ना हुने गरेका छन् । सुरक्षा सामग्री नहुँदा रेनकोटको स्थानीय पीपीई बनाएर काम चलाइएको अस्पतालका निर्देशक डा. कृष्ण पौडेलले बताए । ‘हामीलाई अमेरिकन नेपाल मेडिकल संस्थाले २० वटा दिएको थियो । त्यसैले काम चलाएका छौं,’ उनले भने, ‘सुरक्षा सामग्री नहुँदा स्वास्थ्यकर्मी त्रसित छन्, सरकारलाई छिटो उपलब्ध गराउन अनुरोध गरेका छौं ।’

फातिमा

Link copied successfully