खाद्यान्न पर्याप्त छ, तर खरिदबिक्री गर्ने छैनन्
काठमाडौँ — फलफूल, तरकारी, दूधलगायत खाद्यान्न पर्याप्त भए पनि बजारमा बिक्री गर्ने मान्छे छैनन् । खाद्यवस्तु खरिद गर्ने ग्राहक पनि छैनन् । तरकारी, दुग्धपदार्थलगायत अत्यावश्यक वस्तु मनग्गे भए पनि होलसेलबाट खरिद गरेर खुद्रासम्म पुर्याउने व्यवसायी छैनन् ।
‘तरकारी ढुवानी मंगलबार बिहान ६ बजेसम्म भयो । तर बिक्री भएको छैन । किन्ने मान्छे पनि आएनन्,’ कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने, ‘जति बिक्री हुनुपर्ने थियो, त्यो भएन ।’
होलसेलमा बजारमा राति १२ बजेदेखि ढुवानी सुरु हुन्छ । सामान्य दिनमा कालिमाटीमा औसत ८ सय टन तरकारी भित्रिन्छ । उक्त तरकारीले उपत्यकाको करिब ६५ प्रतिशत माग धान्छ । मंगलबार २ सय ८७ टन तरकारी मात्रै भित्रियो । त्यही पनि सबै बिक्री हुन सकेन । ‘व्यापारीहरु सामान कसरी कटाउनेमा चिन्तित छन । सामान चाँडै बिक्री गर्न सस्तोभन्दा सस्तोमा बिक्री गरेको जानकारी पाएको छु,’ श्रेष्ठले भने । होलसेलमा सस्तोमा बिक्री भए पनि खुद्रामा भने मूल्य बढेको छ ।
सरकारले कोरोना संक्रमण रोक्न चैत १८ सम्म लकडाउन गरेको छ । तर पनि अत्यावश्यक वस्तुको ढुवानी, बिक्री रोकेको छैन । समितिले पनि बजार खुलै राखेको छ । बिक्रीवितरणमा भने चुनौती देखिएको व्यवसायीहरुको गुनासो छ । लकडाउन भएपछि सर्वसाधारण घर बाहिर निस्केका छैनन् । खुद्रा पसल पनि बन्द छन् ।
‘फलफूल पर्याप्त आएको छ । तर बिक्री भएन,’ कालिमाटी तरकारी बजारका फलफूल व्यवसायी भरत खनालले भने, ‘ठेलागाडा र खरिदकर्ता किन्नै आएनन् ।’ सरकारले अत्यावश्यक वस्तुको ढुवानी र बिक्रीमा कुनै अवरोध नहुने बताए पनि व्यवहारमा लागु नभएको उनको गुनासो छ । बजार व्यवस्थित बनाउन सरकारले खरिदबिक्रीको समेत समय तोक्नुपर्ने उनले बताए । ‘फलफूल पर्याप्त छ, दुईतीन दिन चिस्यानमा पनि राख्न सकिन्छ,’ उनले भने, ‘त्यसपछि के गर्ने भन्ने अन्योल छ ।’ बल्खु फलफूल व्यवसायी संघका अध्यक्ष अमर बानियाँको भनाइ पनि उस्तै छ । उनले पनि फलफूल खरिद गर्न ग्राहक नआएको गुनासो गरे ।
‘पसल खोल्न आउने र किन्ने आउनेलाई समेत प्रहरीले रोक्यो,’ उनले भने, ‘फलफूल हुँदाहुँदै पनि बिक्री भएन । ढुवानीको सहजता नहुँदा उपभोक्तामा हाहाकार देखियो ।’ व्यवसायीका अनुसार भारतबाट पर्याप्त मात्रामा फलफूल आइरहेको छ । भन्सारमा रोकवट छैन । अधिकांश ग्राहक जिल्लातर्फ गएकाले समस्या भएको बल्खु तरकारी बजारका म्यानेजर श्याम लामिछाने बताउँछन् । ‘बल्खु तरकारी बजार खुला भए पनि ग्राहक छैनन्,’ उनले भने, ‘दैनिक ३ देखि ४ सय टन आउने तरकारी मंगलबार न्यून आयो । त्यही पनि बिक्री भएन ।’
मार्टहरुको गुनासो पनि उस्तै छ । लकडाउनका कारण मंगलबार मार्टलगायत अन्य खाद्य पसल पनि बन्द भए । सरकारले भने सञ्चालन गर्न आग्रह गरिरहेको छ । मार्ट सञ्चालकले ग्राहक नै नभएको बताउँदै आएका छन । ‘आपूर्ति मन्त्रालयबाट मार्ट खोल्न आग्रह भएको छ । तर, ग्राहक खरिद गर्न आउने वातावरण छैन,’ बिग मार्टका फाइनान्स प्रमुख विवेक देवले भने, ‘मार्ट खुला राखेर मात्रै भएन । सर्वसाधारण घर बाहिर आएकै छैनन् ।’ मार्ट खोल्न कर्मचारी पनि नभएको उनले गुनासो गरे ।
भाटभटेनी सुपरमार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले पनि भाटभटेनी बन्द गरिएको जनाए । ‘आपूर्ति प्रणाली मिलाउनुपर्छ । कर्मचारीहरुका लागि पास चाहिन्छ । कर्मचारी व्यवस्थापन गर्न ग्राहो छ,’ उनले भने । अवस्था हेरेर एकदुई ठाउँमा पुनः सञ्चालन गर्छौं,’ उनले भने ।
दुग्धजन्य क्षेत्रमा पनि धेरै प्रभाव परेको छ । उपत्यकाका लागि मंगलबार ७४ हजार लिटर दूध बजारमा पठाइएको दुग्ध विकास संस्थानका योजना तथा बजार व्यवस्था विभाग प्रमुख सञ्जीव झाले जानकारी दिए । त्यसमध्ये २१ सय लिटर फिर्ता भएको उनले बताए । ‘बजारमा मुभमेन्ट छैन । बिक्रेता पनि छैनन्,’ उनले भने, ‘संकलनदेखि बिक्रीमा कोसिस गरेका छौं ।’ उनका अनुसार संस्थानका अधिकांश बिक्रेता सडकमै हुन्छन् । सडकबाट दूध उठाएर विभिन्न पसल पुर्याउँछन् । तर लकडाउनले आवतजावतमै समस्या भएको झाको भनाइ छ ।
डेरी एसोसिएसनका महासचिव प्रह्लाद दाहालले भने ७५ प्रतिशत दूध फिर्ता भएको दाबी गरे । ‘मंगलबार पसल नै खुलेनन् । बजारमा पठाइएको दूधमध्ये ७५ प्रतिशत फिर्ता भयो,’ उनले भने ।
लकडाउनको पहिलो दिन भएकाले अत्यावश्यक वस्तु खाद्य र औषधिका पसल बन्द भएको वाणिज्य तथा आपूर्ति सचिव बैकुण्ठ अर्यालले बताए । केही स्थानमा प्रहरीले पनि बन्द गराएकाले गृह मन्त्रालयसँग समन्वय भइरहेको उनको भनाइ छ । ‘सबै कुरा आपूर्तिले मात्रै गर्न सक्दैन । मार्टहरुले कर्मचारीको पास बनाउँदै छन् । पसल खोल्ने तर ग्राहक जान नदिने भन्ने पनि हुँदैन,’ उनले भने, ‘कसरी व्यवस्थापन गर्ने सन्दर्भमा मन्त्रीज्यूलगायत सबै पक्षसँग छलफल भइरहेको छ ।’ खरिदबिक्रीका लागि समय तोक्दा सर्वसाधारणको भीड बढ्ने उनले बताए । ‘लकडाउनको उद्देश्य भीड नहोस् भन्ने नै हो,’ उनले भने, ‘त्यसको व्यवस्थापन गर्छौं ।’
