कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उद्योग बन्द भए, विद्युत् खपत घट्यो

मर्मत चौबीसै घण्टा, प्राधिकरणका कर्मचारी अलग्गै आइसोलेसनमा बसेर काम गरिरहेका छन्
विजय तिमल्सिना

काठमाडौँ — सरकारले साताव्यापी लकडाउन घोषणा गरेसँगै उद्योग तथा कलकारखाना बन्द भएपछि विद्युत् खपत परिमाण घटेको छ । अन्य दिन बिहानको पिक आवरमा १ हजार १ सय मेगावाट विद्युत् माग हुने गरेकोमा मंगलबार बिहान ८ सय मेगावाट मात्रै माग रहेको प्राधिकरणले जनाएको छ ।

उद्योग बन्द भए, विद्युत् खपत घट्यो

सरकारले मंगलबार बिहान ६ बजेदेखि चैत १८ गतेसम्मका लागि देशव्यापी लकडाउन घोषणा गरेको छ । यो बेलामा अत्यावश्यक सेवाबाहेक अन्य कार्यालय र सेवा बन्द गर्न निर्देशन जारी गरिसकेको छ । यससँगै मंगलबारदेखि देशभरका उद्योग, कलकारखाना र धेरै कार्यालय बन्द छन् ।


उद्योग बन्द भएसँगै विद्युत् माग घटेकाले गार्हस्थ उपभोक्तालाई विद्युत् अपुग नहुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । हावाहुरीका कारण पोल ढल्ने र ट्रान्सफर्मर पड्किने समस्याका कारण कुनै स्थानमा केहीबेर विद्युत् अवरुद्ध हुन सक्ने भए पनि आपूर्ति र वितरणमा समस्या नरहेको उनको भनाइ छ । विद्युत् अपुग नहुने भएकाले उपभोक्ताले खाना पकाउन र अन्य कामका लागि बिजुली प्रयोग गर्न सक्ने उनको सुझाव छ ।


‘सेवा अवरुद्ध भए चौबीसै घण्टा मर्मतका लागि टोली तयार राखेका छौं,’ उनले भने, ‘मर्मतमा जाने, नो लाइट सेवा र सबस्टेसन र भार प्रेषण केन्द्रका कर्मचारीलाई कार्यालयमै आइसोलेसनमा राखिएको छ ।’ ‘कार्यालय प्रमुखले सिफ्ट ड्युटी, नो लाइट, मिटर सिकायत र मर्मतसम्भारमा खटाइने कर्मचारीको वैकल्पिक व्यवस्थासहितको अलग सूची बनाई तदनुरुप ड्युटीमा खटाउने, यस्ता कर्मचारीलाई यथासम्भव कार्यालयमा अलगै आइसोलेसनमा बस्ने व्यवस्था मिलाउने, कार्यालय परिसरमा बाह्य व्यक्तिको प्रवेश निषेध गर्ने,’ सञ्चालक समितिको बैठकपछि प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ ।


चैतदेखि जेठसम्म हावाहुरीको समय भएकाले नो लाइट सेवा बढी संवेदनशील रहेको घिसिङले बताए । ‘त्यसकारण नो लाइट सेवाका कर्मचारीलाई स्ट्यान्डबाई राखेका छौं,’ उनले भने । नो लाइट सेवाका सेवाका कर्मचारी मर्मतसम्भारका लागि बाहिर जानुपर्ने भएकाले सरकारसँग व्यक्तिगत सुरक्षाका सामग्रीसमेत माग गरिएको उनले जानकारी दिए ।


प्राधिकरण सञ्चालक समिति बैठकले सोमबार कोरोना संक्रमणबाट आफ्ना कर्मचारीलाई बचाउन र सेवा निरन्तर बनाउन लागि विभिन्न निर्णय गरेको उनले बताए । प्राधिकरण सञ्चालक समितिको बैठकले अत्यावश्यक शाखामा काम गर्नेबाहेकका कर्मचारीलाई घरमै तयारी अवस्थामा रहन र काम पर्दा मात्रै कार्यालय आउन निर्देशन दिएको छ ।


प्राधिकरणले चैत २१ गतेसम्मका लागि आफ्ना सबै महसुल काउन्डर र मिटर रिडिङको काम बन्द गर्ने निर्णय गरेको छ । यस अवधिमा विद्युत् महसुल नतिरे पनि सेवा अवरुद्ध नगर्ने र जरिवाना नलिने निर्णय गरेको छ । उपभोक्ताले समयमै विद्युत् महसुल भुक्तानी गरेबापत् पाउने छुटसमेत पछि विद्युत् महसुल तिर्दा पाउने कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । तत्कालका लागि उपभोक्ताले विद्युतीय भुक्तानी प्रणालीमार्फत बिल तिर्न सक्ने उनको भनाइ छ ।

प्रकाशित : चैत्र १२, २०७६ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?