कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कहाँ कहाँ बने आइसोलेसन र क्वारेन्टाइन कक्ष ?

कान्तिपुर संवाददाता

कोभिड–१९ का शंकास्पद बिरामीको उपचारका लागि जिल्लाका विभिन्न स्थानीय तहमा आइसोलेसन र क्वारेन्टाइन कक्षको तयारी भएको छ । कहाँ कहाँ कति शय्याका कक्षहरु तयार पारिए ? जान्नुहोस् :

तनहुँमा ३८ शय्याको आइसोलेसन कक्ष


सम्झना रसाइली/तनहुँ

व्यास, शुक्लागण्डकी नगरपालिका, म्याग्दे, देवघाट र बन्दीपुर गाउँपालिकामा गरी ३८ शय्याको आइसोलसन कक्ष तयारी अवस्थामा राखिएको छ।


व्यासको किरियापुत्री भवनमा ८, शुक्लागण्डकीको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा १२, म्याग्देको जामुुने स्वास्थ्य चौकीमा ५, बन्दीपुरस्थित बन्दीपुर अस्पतालमा ८ र देवघाटको धर्माथ अस्पतालमा ५ श्यया गरी ३८ श्ययाको आइसोलेसन कक्ष तयार भएको छ।


व्यासको आइसोलेसन कक्षमा दमौली अस्पताल र निजी स्वास्थ्य संस्थाका चिकित्सकलाई खटाइने दमौली अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले बताए। दमौलीका निजी अस्पताल दाहाल मेडिकल हल र एपोलो अस्पतालले ४/४ शय्या उपलब्ध गराएका हुन्।


यस्तै, पूर्व तयारी स्वरुप म्याग्दे–३ स्थित जामुने स्वास्थ्य चौकीमा ५ श्यया बेडको आइसोलेशन कक्ष तयार गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले बताए। उनले भने, ‘आवश्यकता अनुसार स्वास्थ्यचौकीका अन्य कोठामा आइसोलेसन बेडको संख्या बढाउने छौं।’


यस्तै, गाउँपालिकाले विद्यालय भवनलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने भएको छ। गाउँपालिका भित्रका सबै विद्यालयलाई क्वारेन्टाइनको रुपमा प्रयोग गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बताए। उनले भने, ‘कोरोनाका शंकास्पद बिरामीको सम्पूर्ण उपचार खर्च गाउँपालिकाले नै बेहोर्ने छ।’

कोभिड–१९ का शंकास्पद बिरामीलाई तत्कालै गाउँमै उपचार गर्न सहज बनाउनका लागि धर्मथ अस्पतालमा आइसोलेसन कक्ष स्थापना गरिएको देवघाट गाउँपालिकाका प्रमुख दुर्गाबहादुर थापाले बताए। उनले भने, ‘गाउँपालिकाबासीमा कोभिड–१९ को संक्रमण देखिए सम्पूर्ण उपचार खर्च गाउँपालिकाले बेहोर्ने छ।’


यस्तै, जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा आवश्यकता अनुसार आइसोलेसन बेड बढाउन सक्ने केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले बताए।


कोरोनाको विश्वव्यापी संक्रमणलाई मध्यनजर गरेर स्थानीयस्तरमा पूर्वतयारी स्वरुप आइसोलेसन कक्ष स्थापना गरिएको उनले बताए। ‘कक्षमा कोरोना भाइरसका शंकास्पद बिरामीको उपचार गर्ने, खकार र सिगानको नमुना संकलन गरेर केन्द्रमा पठाउने व्यवस्था मिलाइएको छ’, उनले भने, ‘कोभिड–१९ पुष्टि भए भेन्टिलेटरमा पठाउने नत्र १४ दिन आइसोलेसनमै राखेर स्वास्थ्य परीक्षण गरिने छ।’


रसुवामा ६५ शय्याको क्वारेन्टाइन र २७ शय्याको आइसोलेसन तयार

बलराम घिमिरे/रसुवा


जिल्लाको दुई स्थानमा ६५ शय्याको क्वारेन्टाइन र २७ शैयाको आइसोलेसन तयार भएको छ।


गोसाईकुण्ड गाउँपालिकाको धुन्चे र स्याफ्रुबेसीमा ६५ शय्याको क्वारेन्टाइन तयार परिएको हो। रसुवा अस्पतालमा २० शय्या र जिबजिबे ग्रामिण अस्पतालमा ७ शय्या गरी २७ शय्याको आइसोलेसन वार्ड तयार भएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए। कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि जिल्ला विपद् व्यवस्थापन समितिको आइतबार बसेको बैठकले जिल्लाको विभिन्न आठ ठाउँमा २१० शय्याको क्वारेन्टाइन र ३५ शय्याको आइसोलेसन वार्ड बनाउने निर्णय गरेको थियो उनले भने। सदरमुकाम धुन्चेमा रहेको कृषि ज्ञान केन्द्र र पशु सेवा केन्द्रमा ५० शय्या र स्याफ्रुको कोमिनस्यामेवाङ्फेल माविमा १५ शय्याको क्वारेन्टाइन तयार परिएको छ। बाँकी अन्य ठाउँहरुमा पनि क्वारेन्टाइन तयार पर्ने काम भइरहेको छ।


बुधबारसम्ममा जिल्लाको पाँचवटै गाउँपालिकामा २ सय १० शय्याको क्वारेन्टाइन सञ्चालनमा आउने भण्डारीले बताए। क्वारेन्टाइन निर्माणको लागि लागि पाँच वटै गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, नेपाल प्रहरी सशस्त्र प्रहरी, नेपाली सेना र चेम्बर अफ कमर्सले सहयोग गरिरहेका छन्। जिल्लाको विभिन्न ७ स्थानमा हेल्थ डेक्स सञ्चालनमा आएको छ।


तेह्रथुमको तयारी

चन्द्र कार्की/तेह्रथुम


कोभिड १९ रोकथाम र संक्रमण फैलिन नदिनका लागि जिल्लाभर तयारी तीव्र पारिएको छ। स्थानीय प्रशासनको अगुवाईमा क्वारेनटाइन बेड र आइसोलेसन कक्ष निर्माण गर्ने कार्य भइरहेको छ। म्याङलुङ नगरपालिकाको सरस्वती माविमा ५० बेड क्षमताको क्वारेन्टाइन र ८ वटा आइसोलेसन बेड तयार पारिएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिए।


त्यस्तै लालीगुराँस नगरपालिकामा १० बेड क्षमताको क्वारेनटाइन र २ वटा आइसोलेसन बेड तयार पारिएको छ। मेन्छ्यायाम गाउँपालिकामा १० बेड क्षमताको क्वारेनटाइन तयार गरिएको छ। छथर गाउँपालिकामा सोही परिमाणको क्वारेनटाइन बेड तयार पारिएको छ। अन्य स्थानीय तहले पनि सोही परिमाणमा क्वारेनटाइन र आइसोलेन बेड तयार गर्ने काम गरिरहेको प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिए।


फ्लुका बिरामी पहिचानका लागि जिल्ला अस्पतालमा अलग्गै क्याम्प संचालन गरिएको छ। त्यस्तै स्थानीय प्रशासनको अगुवाईमा पछिल्लो एक महिना यता विदेशबाट घर आएकाहरुको खोजी गरी लगत लिने काम पनि गरीरहेको प्रजिअ न्यौपानेको भनाइ छ। स्थानीय तहका प्रहरी र स्वास्थ्यका युनिट परिचालन गरी उनीहरुबाट लगत लिने काम भइरहेको प्रशासनले जनाएको छ। हालसालै विदेशबाट घर आएका व्यक्ति पहिचान भए त्यस्ता व्यक्तिलाई घरमै होम क्वारेनटाइनमा बस्न सल्लाह दिने काम पनि भइरहेको प्रजिअ न्यौपानेले बताए।


माटिकारेमा क्वारेन्टाइन वार्ड निर्माण

खोटाङ


कोभिड १९ सम्भावित बिरामीलाई लक्षित गरी माटिकारे कभर्डहलमा क्वारेन्टाइन वार्ड निर्माण गरिएको छ। उक्त हलमा ३६ शय्याको क्वारेन्टाइन निर्माण गरिएको हो।

क्वारेन्टाइन निर्माणका लागि गोरखनाथ गण मुढे ब्यारेकाका नेपाली सेना खटिएका हुन्। दिक्तेल बजारस्थित माउन्ट एभरेष्ट बोर्डिङ स्कुलमा निर्माण गर्न नदिएपछि कभर्डहलमा निर्माण गरिएको हो। उक्त बोर्डिङ व्यवस्थापन समितिका अध्यक्ष नरेशकुमार श्रेष्ठले राख्न नदिएपछि राख्न नसकिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए। श्रेष्ठले भने बजारको बीचमा विरामीलाई राख्न नमिल्ने भएकाले नदिइएको बताए।


बोर्डिङमा राख्न नदिएपछि माटिकोरेस्थित कभर्ड हलमा राख्ने तयारी गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए। खोटाङका प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेलका अनुसार सोमबार जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङको अध्यक्षता बसेको बैठकले बोर्डिङमा क्वारेन्टाइन राख्ने बारे निर्णय भएको थियो। बोर्डिङका प्रिन्सिपल सागर जोशीले बोर्डिङमै राख्न आग्रह गरेपछि निर्णय गरिएको नगरप्रमुख रिजालले सुनाए।


अन्य पालिकाहरुमा पनि क्वारेन्टाइन निर्माण भइरहेको शर्मा पौडेलले सुनाए। उनका अनुसार हरेक पालिकामा ४० शय्याको क्वारेन्टाइन बनाउन निर्देशन दिइएको छ। खोटाङमा दुई नगरपालिका र आठ गाउँपालिका गरी दश पालिका छन्। प्रकाशित : चैत्र ११, २०७६ २०:३२

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कोरोना संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु

कान्तिपुर संवाददाता

न्युयोर्क — लामो समयदेखि न्युयोर्कमा बसोबास गर्दै आएका एक जना नेपाली नागरिकको कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट मृत्यु भएको छ ।

गत शुक्रबारदेखि न्युयोर्कको क्वीन्सस्थित एलमहस्ट अस्पतालमा उपचाररत ४७ वर्षीय नेपाली नागरिकको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको न्युयोर्कस्थित नेपाली कन्सुलेट पुष्पराज भट्टराईले कान्तिपुरलाई जानकारी दिए । मृतकका आफन्तले फोनमार्फत आफूलाई खबर गरेको कन्सुलेट भट्टराईले बताए ।

शुक्रबारदेखि क्वीन्सस्थित एलमहष्ट अस्पतालको सघन उपचार कक्षमा उपचाररत ती व्यक्तिको स्थानीय समयअनुसार सोमबार राति निधन भएको गैरआवासीय नेपाली संघ(एनआरएनए) न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारीले जानकारी दिए ।

मृतक न्युयोर्कमा उबर चालकका रुपमा काम गर्दै आएको पनि अधिकारीले जानकारी दिए । अमेरिकामा कोरोना संक्रमण फैलिन थालेपछि उनी दुई हप्तादेखि घरमै बसेका थिए । तर एक्कासि ज्वरो आएपछि अस्पताल भर्ना भएका उनको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो ।

प्रकाशित : चैत्र ११, २०७६ २०:३१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×