कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोग प्रतिरोधात्मक क्षमता बढाउन कस्ता खानेकुरा खाने ?

बिनिता पन्त, प्रनिती सिंह

काठमाडौँ — हाम्रो शरीरमा प्रतिरोधात्मक क्षमता बलियो भयो भने विभिन्न रोगसँग लड्न सक्छौँ । प्रतिरोधी प्रणालीले विभिन्न रोग तथा ब्याक्टेरियाविरुद्ध लड्न मद्दत गर्छ । हामीले आफू स्वस्थ्य रहन रोग प्रतिरोधात्मक क्षमता बढाउन आवश्यक छ ।

यसका लागि स्वस्थ्य खानपान मात्र होइन, स्वस्थ्य जीवनशैली अपनाउन पनि उत्तिकै आवश्यक छ । रोग प्रतिरोधात्मक क्षमता उमेरअनुसार फरक पनि पर्छ । शरीर बूढो हुँदै गएपछि अलि कमजोर हुँदै जाने हुन्छ । तर उचित खानपान, व्यायाम, पर्याप्त निद्रा, सकारात्मक सोच तथा आत्मबलले पनि यो क्षमता कायम राख्न सहयोग पुऱ्याउँछ ।


रोगले जनसुकै उमेरकालाई पनि समात्न सक्छ । तर जोसँग रोग प्रतिरोधात्मक क्षमता बलियो छ, अरु रोगबाट ग्रसित छैन भने उनीहरुलाई रोगले त्यति च्याप्न सक्दैन । मधुमेह, थाइराइड, दमका रोगीले आफ्नो खानपान तथा जीवनशैलीमा ध्यान दिनुपर्छ ।


रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढी देखिएको छ । अहिलेसम्म यसको उपचारका लागि औषधि पत्ता लागेको छैन । कोभिड–१९ को संक्रमणको जोखिम न्यूनीकरणका लागि शरीरमा रहेको रोग प्रतिरोधात्मक क्षमता नै महत्वपूर्ण हुन्छ ।


कोभिड–१९ ले दीर्घरोगीहरुलाई बढी सताएको तथ्यांक छ । त्यसैले आफ्नो दैनिकी तथा खानपानमा ध्यान दिन जरुरी छ । हामी नेपाली अलि खानपिन तथा जीवनशैलीमा कम ध्यान दिन्छौँ । धेरै भुटे तारेको, प्रशोधित खानेकुरा, जंक फुड खाने, व्यायाम नगर्ने बानी रहेको छ । त्यसैले आफू स्वस्थ्य तथा प्रतिरक्षा प्रणाली बलियो पार्न दैनिकी परिवर्तन गर्नुपर्ने हुन्छ ।


स्वस्थ्य जीवनशैली कसरी अपनाउने?

स्वास्थ्य जीवनशैली अपनाएको खण्डमा तपाईंले प्राकृतिक रुपमै आफ्नो रोग प्रतिरोधात्मक क्षमता बलियो तथा स्वस्थ्य बनाउन सक्नुहुन्छ ।


के गर्ने, के नगर्ने ?

  • धूमपान नगर्ने ।
  • नियमित व्यायाम गर्ने ।
  • आहारविहारमा तरकारी तथा फलफूलको मात्रा बढाउने ।
  • तौल सन्तुलनमा राख्ने ।
  • मद्यपान नगर्ने, गरे पनि एकदम थोरै मात्रामा गर्ने ।
  • पर्याप्त निद्रा तथा आराम गर्ने ।
  • सकारात्मक सोच्ने ।
  • तनाव नलिने ।
  • संक्रमण हुन नदिन साबुन पानीले हात धुने ।


कस्ता खानेकुरा खाने?

सरकारले अहिले लकडाउन गरेको अवस्था छ । घरबाहिर पनि निस्कन पाइँदैन । केहीले खाद्यान्नको जोहो गर्न पनि भ्याए होलान् । केहीसँग घरमै भएको खानेकुरा होला । बजारका खानेकुराभन्दा घरमै बनाएका खानेकुरामा अझ बढी पौष्टिक तत्व पाइन्छ । त्यसैले घरमै रहेका खानेकुरालाई राम्ररी बनाएर खायौँ भने स्वस्थ्य भइन्छ । खानेकुराले पनि हाम्रो रोग प्रतिरोधात्मक क्षमता निर्धारण गर्ने हुनाले स्वस्थ्य आहारविहार गर्नुपर्छ । प्रोटिन, खनिज पदार्थ, कार्बोहाइड्रेट , चिल्लो पदार्थ, भिटामिनहरुको मात्रा पुर्‍याएर सन्तुलिन भोजन गर्नुपर्छ । शरीरमा क्यालोरी भएन भने शरीर कमजोर बन्दै जान्छ ।


भिटामिन सी

अहिले बजारमा धेरैले भिटामिन सीका औषधिहरु खोजिरहेका छन् तर प्राकृतिक खानेकुरामा पाइने भिटामिन सी अझ फाइदाजनक र लाभदायक हुन्छ । यसका लागि अमला खाने, कागती पानी खाने, किवी, जुनार, मेवा, हरियो तरकारी, सागहरु खानेकुरा खानुपर्छ ।


भिटामिन डी

रोग प्रतिरोधात्मक क्षमता बढाउन भिटामिन डी पाइने खानेकुराहरु खानुपर्छ । भिटामिन डी हामीले घाममा पाउन सक्छौँ । हल्का घाममा एकछिन बस्दा पनि फाइदा हुन्छ ।


भिटामिन ई

भिटामिन ईलाई छालाको लागि राम्रो भिटामिनको रुपमा मानिन्छ । गाढा रंगको हरियो सागपात सबै यसमा आउँछन् । सूर्यमुखीको बियाँ, ओखर, बदाम, एभोकाडो, ब्रोकाउली, पालुंगोमा भिटामिन ई पाइन्छ ।


भिटामिन बी ६

यसले रक्क्तकोषिकाको उत्पादन गर्छ । रगतसम्बन्धी रोग भएका व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । त्यस्ता व्यक्तिले दूध, सखरखण्ड, पिस्ता, चना, केराउ, तोफु खानु राम्रो हुन्छ । रक्तकोषले काम गरेन भने कुनै पनि पौष्टिक तत्वले काम गर्दैन । त्यसैले यो एकदम आवश्यकता हुन्छ ।


भिटामिन बी १२

भिटामिन बी १२ विशेषगरी मांशाहारी भोजनमा पाइन्छ । माछा, मासु, अण्डा, दूध र दूधजन्य पदार्थमा यो भिटामिन पाइन्छ । यसले पनि रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । भिटामिन बी १२ को कमीले रक्तअल्पता हुने सम्भावना रहन्छ ।


मिनिरल अर्थात खनिज पदार्थ

शरीरको प्रतिरोधात्मक क्षमता बढाउनका लागि खनिज पदार्थ भएका खानेकुरा पनि नियमित रुपमा खानुपर्छ । आल्मोन्ड, फर्सीको बियाँ, ओखर, बदाममा धेरै मात्रामा खनिज पदार्थ पाइन्छ ।


प्रोटिन

बदाम, काजु, चना, टुसा उमारिएको गेडागुडीमा प्रशस्त प्रोटिन पाइन्छ । दाल, अन्डा, माछामासुबाट पनि प्रोटिन प्राप्त गर्न सकिन्छ । तर यसले संक्रमण गराउन सक्ने हुनाले विचार पुऱ्याएर खानुपर्छ । खानै परे एकदम मज्जाले पकाएर मात्र खानुपर्दछ । शरीरमा कुनै रोग छ भने चिकित्सक र पोषणविद्को सल्लाहमा मात्रै बढी प्रोटिन भएका खानेकुराहरु खाने गर्नुपर्छ ।


प्रोबायोटिक खानाहरु

प्रोबायोटिक खानाले पाचन शक्तिलाई एकदमै राम्रो गराउँछ तथा पाचनप्रणालीलाई सुुचारु गर्छ । दही, चिज, गुन्द्रक आदिले पाचन शक्तिलाई राम्रो गर्छ ।


प्राकृतिक एन्टिबायोटिक

प्राकृतिक एन्टिबायोटिक खानेकुराले रक्त सञ्चार सन्तुलन गर्ने, धवनीहरु सन्तुलनमा राख्न र दुखाइ कम गरी धमनीहरु स्वस्थ्य राख्ने काम गर्छन् । बाहिरी आउने संक्रमणलाई निस्तेज गर्ने र कोषहरुको क्षयीकरण रोक्ने काम गर्छन् । त्यसैले यी खानेकुरामा विशेष ध्यान दिनुपर्छ । लसुन, अदुवा, बेसार, पानीमा यी तत्व पाइन सक्छन् ।

गेडागुडी तथा दाल प्राय: सबैको घरमा उपलब्ध हुन्छ । यसलाई अंकुरण गरेर खाएको खण्डमा यसमा फाइबर, प्रोटिन पाइनुका साथै एन्टिअक्सिडेन्ट पनि पाइन्छ । यस्ता खानेकुरा स्वस्थ्यबर्द्धक पनि हुन्छ ।


दैनिक खानेकुरामा पोषिलो, झोलिलो सुपहरु बनाएर खाने गर्नुपर्छ । तातो झोलले शरीर तातो बनाउँछ, जसले गर्दा हत्तपत्त रुघाखोकी लाग्दैन । सुपबाट पाइने भिटामिन, आइरनले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ । त्यसैगरी दैनिक रुपमा व्यायाम, योगाजस्ता शारीरिक अभ्यासलले पनि मनलाई शान्त र चिन्तामुक्त बनाउन मद्दत गर्छ । यसले पनि शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ ।


त्यस्तै ताजा खानेकुरा मात्र पकाएर खाने, जंक तथा प्रशोधित खानेकुरा नखाने जस्ता बानीको विकास बालबालिकादेखि नै गराउनुपर्छ । बालबालिकालाई टेलिभिजन र मोबाइलमा खेल्न दिनुभन्दा ३० मिनेट हिँड्डुल तथा घरभित्रै व्यायाम गर्न सिकाउनुपर्छ । त्यसैगरी पर्याप्त मात्रामा पानी पिउनुपर्छ । बालबच्चा तथा बूढापाकालाई २ देखि ३ घण्टाको फरकमा खुवाइराख्नुहुन्छ । थोरै–थोरै खानेकुरा खुवाउने तर धेरैपटक । बुढाबुढीहरुलाई चिसो छिटो लाग्ने हुनाले तातो खान दिने, एकछिन हिँडाउने, अदुवापानी, बेसारपानी खान दिँदा राम्रो हुन्छ ।


-डाइटिसियन पन्तसिंहसँग इकान्तिपुरका लागि बुनु थारुले गरेको कुराकानीमा आधारित प्रकाशित : चैत्र ११, २०७६ १९:४१

प्रतिक्रिया
पठाउनुहोस्

ग्रान्डी र अल्का अस्पताललाई स्पष्टीकरण

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य मन्त्रालयले ग्रान्डी इन्टरनेशनल अस्पताल र अल्का अस्पताललाई स्पष्टीकरण सोधेको छ । दुवै अस्पताललाई के कति कारणले कोभिड–१९ को बिरामी जाँच्‍न नसिकने सञ्‍चार माध्यममा बताएकाले स्पष्टीकरण दिन भनेको हो ।


स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा.रोशन पोखरेलले ग्रान्डी अस्पतालले ‘आफूहरु बिरामी जाँच्‍न नसक्ने कुरा भन्न नखोजेको’,औंल्याउदै स्पष्टिकरणको उत्तर दिए पनि अल्काले भने कुनै प्रतिक्रिया नजनाएको बताए ।

ग्रान्डीले राज्यको नीति नियम मान्ने उल्ल्खे गर्दै सामान नपाएको गुनासो गरेको हो । डा.पोखरेलले निजी अस्पताललाई सामानहरुको जोहो आफैं गरेर मुलुकलाइ सघाउनु पर्ने उल्लेख गरे ।

प्रकाशित : चैत्र ११, २०७६ १९:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×