सात सय जनासम्म नुन लिन एकै थलोमा भीड भएपछि सतर्कताका कारण वितरण रोके पनि अभावका अवस्थामा पुनः वितरण गरिने ।
बझाङ — बझाङमा सदरमुकाममा आयोडिनयुक्त नुन किन्न सर्वसाधारणको भीड बढेपछि कोभिड–१९ को संक्रमण फैलिने भन्दै स्थानीय प्रशासनले बिक्रीवितरणमा रोक लगाएको छ । भारतर्फका नाका बन्द भएर अभाव हुने हल्लाका कारण सर्वसाधारण टाढा टाढाबाट नुन लिन सदरमुकाम आइपुगेका छन् ।
सदरमुकाम चैनपुरस्थित साल्ट ट्रेडिङ कर्पोरेसनको वितरण केन्द्रमा आइतबारमात्र सात सय जनाभन्दा बढी नुन लिन जम्मा भएका थिए । नुन किन्नेको भीड अस्वाभाविक रूपमा बढ्न थालेपछि जिल्ला प्रशासनको निर्देशनमा कर्पोरेसनले अनिश्चितकालका लागि बिक्रीवितरण बन्द गरेको छ । वितरण बन्द भएपछि दुर्गम गाउँबाट नुन लिन आइपुगेकाहरू रित्तै फर्किएका छन् । अकस्मात बिक्री बन्द गरिएकोप्रति उनीहरूले आक्रोशित पनि भए ।
‘दिनभरि हिँडेर नुन लिन भनेर आयौं । एक घण्टा लाइनमा बसिसके पछि, एक्कासि अब बन्द भयो । अब पाइँदैन भने,’ जयपृथ्वी नगरपालिका–११ सुइलका डम्मर बोहराले भने, ‘सुरुमै पाइँदैन भनेको भए दुःख हुने थिएन ।’ सरकारले अत्यावश्यक सेवा बन्द नगर्ने भने पनि बझाङमा नुन वितरण बन्द गरेर यसको उल्लंघन गरिएको उनले बताए । कर्पोरेसनले प्रतिकिलो नौ रुपैयाँमा नुन बेच्छ । सधैं पाइने र सस्तो भएकाले बजारमा अन्य कम्पनीका नुन खपत हुँदैन ।
नाका बन्दले नुन नपाइने हल्लाका कारण घरको काम छाडेर सदरमुकाम पुगेको थलारा गाउँपालिकाकी कल्पना खातीले बताइन् । ‘आउँदा जाँदा एक हजारभन्दा बढी भाडा खर्च भयो । पूरै दिन यतै काटियो । लाइन बसेकालाई दिएर भोलि बन्द गरेको भए पनि त हुन्थ्यो,’ उनले भनिन् । एक्कासि नुन बन्द गर्ने निर्णयले टाढाबाट आएका आफू जस्ताले दुःख पाएको उनले गुनासो गरिन् ।
केही दिन अघिसम्म दैनिक डेढ समय जनासम्म आयो नुन लिन कर्पोरेसनको डिपोमा आउने गरेका थिए ।एक्कासि भीड बढ्न थालेपछि वितरण बन्द गर्नुपरेको डिपो प्रमुख टेकबहादुर बोहराले बताए । धेरै जनाको एउटै थलोमा हुने भीडले कोरोना संक्रमणको जोखिम बढ्ने भएपछि वितरण बन्द गरिएको बताए । ‘बझाङमा डेढ हजार क्वीन्टल नुन मौज्दात छ । हल्लाका पछि लागेर भीड बढ्न थालेपछि बन्द गराएका हौं,’ उनले भने, ‘नुनको अभाव भएमा जुनसुकै बेला पनि वितरण खुल्ला गर्नेछौं ।’ हल्लाका पछि लागेर चाहिनेभन्दा धेरै खरिद गर्नेलाई धमाधम बेच्दा पछिपछि अभाव हुन सक्ने स्थिति पनि समीक्षा गरिएको उनले बताए ।
‘भीड गर्न नहुने बेला छ । भीड भयो । सतर्कताका लागि हामीले वितरण बन्द गर्न भनेका हौं,’ प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले भने, ‘जिल्लामा कतै पनि नुन अभाव छैन । अभाव भयो भने घरमै पुर्याउने व्यवस्था गछौं । भीड गरेर जोखिम नबढाउनुस् भनेको छु ।’
