काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमण रोक्न सरकारले देशभर एक साताका लागि लकडाउन गरेसँगै सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई ‘फिल्ड’ मा तैनाथ गरेको छ । कोही शंकास्पद व्यक्ति भेटिए उनीहरूले तत्कालै परीक्षणका लागि अस्पताल वा क्वारेन्टाइनमा पुर्याउनेछन् ।
लकडाउन कडाइका साथ लागू गर्न गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीलाई सोमबार साँझै विशेष परिपत्र गरेको छ । सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका जनशक्ति सोमबार रातिबाटै फिल्डमा खटिइसकेका छन् । अग्रभाग स्वास्थ्यकर्मी र त्यसको ब्याकअपमा सुरक्षाकर्मीलाई तैनाथ गरिएको छ । महत्त्वपूर्ण भवन/कार्यालयको सुरक्षा र अन्य अत्यावश्यक काममा खटिनेबाहेक सबै सुरक्षाकर्मीलाई फिल्डमा तैनाथ गरिएको छ । सबै सुरक्षा निकायबाट ८० प्रतिशतभन्दा बढी जनशक्तिलाई फिल्डमा खटाइएको गृहले जनाएको छ । सरकारी निर्णय लागू गर्न सुरक्षाकर्मीलाई टोल–टोलमा माइकिङ गराएर नागरिकलाई सूचना दिन पनि निर्देशन दिइएको छ ।
लकडाउनको निर्णयसँगै सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स, खानेपानीलगायत तोकिएका अत्यावश्यक सेवाबाहेक सवारी तथा मानिस आवतजावतलाई निषेध गरिएको छ । यद्यपि औषधि किन्न र नजिकै खाद्यान्न खरिद गर्न निस्केका मानिसका हकमा औचित्य हेरेर सुरक्षाकर्मीले केही लचकता अपनाउन सक्नेछन् । सरकारले भारतबाट दैनिक उपभोग्य वस्तु र इन्धन ढुवानी गर्न सुरक्षा निकायलाई परिचालन गर्ने भएको छ ।
सेनाले प्रत्येक प्रदेशमा क्वारेन्टाइन र आइसोलेसन वार्डको सुरक्षामा आफ्ना जनशक्ति परिचालन गरिसकेको छ । ४१ वटा हेल्थ डेस्कमा सेना यसअघि नै खटिइसकेको छ । १ सय ६४ डेस्कमा सशस्त्र र १ सय ३२ डेस्कमा नेपाल प्रहरीका जनशक्ति अन्य निकायसँग समन्वय गरेर खटिएका छन् । अत्यावश्यक काममा बाहिर निस्कनुपरे जिल्ला प्रशासन कार्यालय वा सुरक्षा निकायबाट अनुमति लिनुपर्नेछ । त्यसका लागि पनि बाहिर निस्कने मानिसले फिल्डमै खटिएका स्वास्थ्यकर्मीसँग अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गर्नुपर्नेछ । कसैले सरकारी निर्णय उल्लंघन गरेर हिँडेमा तत्काल पक्राउ गरी प्रहरीले हिरासतमा राख्नेछ । फिल्डमा कोही निस्किए तत्काल सुरक्षाकर्मीले नियन्त्रणमा लिएर ज्वरो नाप्ने र शंका लागे तत्काल एम्बुलेन्समा राखेर अस्पताल पुर्याउनेछ । सेल्फ क्वारेन्टाइनमा बस्न सरकारले सर्वसाधारणलाई अपिल पनि गरेको छ ।
७७ वटै जिल्लामा प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको जिल्ला विपत् व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिलाई लकडाउनका बेला अनुमतिबिना कसैलाई पनि बाहिर ननिस्कने व्यवस्था मिलाउन निर्देशन दिइएको छ । ‘मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म लकडाउन रहने र सबै नागरिक सेल्फ क्वारेन्टाइनमा बस्ने गरी आवश्यक सुरक्षा व्यवस्थापन र स्वास्थ्य टोलीसहितको संयन्त्र फिल्डमा खटाउने गरी निर्देशन दिएका छौं,’ गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले कान्तिपुरसँग भने, ‘नागरिककै सुरक्षाका लागि यो निर्णय लिइएको हो, निर्णय कार्यान्वयनमा आमनागरिकको साथ र सहयोग हुने सरकारको अपेक्षा छ ।’
फ्रान्सबाट काठमाडौं आएकी एक युवतीमा कोरोनाको लक्षण (पोजेटिभ) देखिएपछि सम्भावित जोखिम नियन्त्रण गर्न सरकार लकडाउनसम्मको अवस्थामा पुगेको गृह मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले नागरिकको सुरक्षाका लागि लकडाउन गरिएको बताए । ‘लकडाउन एक किसिमको स्वास्थ्य संकटकाल हो, शान्तिसुरक्षा कायम गर्नेक्रममा जसरी कर्फ्यु लगाइन्छ, सरकारले पछिल्लो पटक लिएको निर्णय पनि स्वास्थ्य कर्फ्यु नै हो । यसलाई कार्यान्वयन गराउन सुरक्षाकर्मी र स्वास्थ्यकर्मी एकसाथ तैनाथ भइसकेका छन् ।’
नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले लकडाउनपछि सेना स्थानीय प्रशासनमार्फत् देशभर खटिएको हो । ‘यो लकडाउन कोरोना भाइरसको सम्भावित जोखिम रोक्न लागू गरिएको स्वास्थ्य संकटकाल हो, यो निर्णयलाई देशवासी सबैले मिलेर पालना गर्नुपर्छ,’ पाण्डेले भने, ‘स्थानीय प्रशासन ऐन, २०२८ अनुसार प्रमुख जिल्ला अधिकारीमार्फत् हाम्रा जनशक्ति आवश्यकताअनुसार तैनाथ हुन्छन् ।’ सेनाले फिल्डमा खटिनेबाहेकका फौजलाई ब्यारेकमा सीमित गरेको छ । लकडाउन गर्ने सरकारी निर्णयसँगै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई विभिन्न समूह बनाएर फिल्डमा तैनाथ गरिएको छ ।
उपत्यकामा ३ सय स्वास्थ्यकर्मी रिजर्भ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार लकडाउनको निर्णयसँगै उपत्यकासहित देशभर आपत्कालीन अवस्थामा तैनाथ गराउन विशेषज्ञ चिकित्सक र नर्सलाई हाइअलर्टमा राखेको छ । उपत्यकामा मात्रै ३ सय स्वास्थ्यकर्मी कोरोनाको सम्भावित संक्रमणको उपचारमा स्ट्यान्डबाई राखिएको छ ।
‘कोरोना उपचारका लागि २ वटा डेडिकेटेड अस्पतालबाहेक अन्य स्वास्थ्य संस्थाबाट पनि सम्भावित बिरामीको उपचार गर्न मिल्ने गरी स्वास्थ्यकर्मीलाई तयारी हालतमा राखिएको छ,’ स्वास्थ्य सचिव कोइरालाले भने, ‘लकडाउनमा पनि सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका टोली एकसाथ खटिनेछन् ।’
सरकारले शुक्रराज ट्रपिकल र बलम्बुस्थित सशस्त्र प्रहरीको एपीएफ अस्पताललाई कोरोनाका बिरामीको मात्रै उपचार हुने गरी आवश्यक संरचना निर्माण गरेको छ । वीर अस्पतालसहित त्रिवि शिक्षण अस्पताल, पाटन र नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताललाई पनि कोरोनाका बिरामीको उपचार गर्न मिल्ने गरी तयारी हालतमा राखिएको छ । त्यस्तो अवस्था सिर्जना भए त्यहाँ रहेका बिरामीलाई अन्यत्र सारिनेछ । स्वास्थ्य सचिव कोइरालाले लकडाउनबाट नआत्तिन र नागरिककै स्वास्थ्य सुरक्षाका लागि यस्तो निर्णय लिनुपरेको स्पष्ट पारे ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार क्वारेन्टाइन
सरकारले देशभर निर्माण गर्ने क्वारेन्टाइनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाउन मातहत सबै निकायलाई निर्देशन दिएको छ । क्वारेन्टाइन व्यवस्थापन मापदण्ड–२०७६ जारी गर्दै सरकारले त्यस्तो भौतिक संरचना विश्व स्वास्थ्य संगठनले तोकेअनुसारको हुने जनाएको हो । उपत्यकामा करिब ५ हजारसहित देशभर करिब साढे ५ लाख बेड क्षमताको सार्वजनिक क्वारेन्टाइन निर्माण गर्ने सरकारको तयारी छ ।
यसका लागि सोमबारै राजधानीसहित देशभर सम्भावित क्वारेन्टाइन स्थल निरीक्षण भएको थियो । काठमाडौंको बलम्बुस्थित मनमोहन अस्पताल र इचंगुनारायणमा सार्वजनिक क्वारेन्टाइन स्थल निर्माण गर्न स्वीकृति दिइएको छ । त्यस्तै देशभरका रंगशाला, आवास गृह, विभिन्न शैक्षिक संघसंस्थाका संरचनालगायतमा पनि क्वारेन्टाइन निर्माण गर्ने सरकारले निर्णय गरिसकेको छ ।
