अत्यावश्यक काम छाडेर गृहमन्त्री थापा प्रहरी समायोजन बैठकमा व्यस्त

चैत्र १०, २०७६

मातृका दाहाल

काठमाडौँ — कोरोना भाइरस(कोभिड–१९) को सम्भावित जोखिमविरुद्ध क्रियाशील हुनुपर्ने बेलामा गृहमन्त्री रामबहादुर थापा नेपाल प्रहरी र सातवटै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरु सम्मिलित प्रहरी समायोजनसम्बन्धी बैठक गृह मन्त्रालयमा बसिरहेको छ । 

कोरोना भाइरसविरुद्धका योजना तथा रणनीति तय गर्नुपर्ने अवस्थामा गृहमन्त्री थापा सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरु र प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली सम्मिलित बैठक ३ घण्टादेखि गृहमन्त्रालयमा बसिरहेको छ । 

एक महिनाभित्र समायोजनमा जाने प्रहरीहरुको विवरण तयार पारिसक्नुपर्ने कानुनी बाध्यता भए पनि पछिल्लो पटक देखिएको कोरोनासम्बन्धी सरकारले चालेका कदमसँगै अत्यावश्यकीय र नियमित कामकाजका बाहेकका अन्य प्रशासनिक कामकाजहरु तत्कालका लागि स्थगित गरिएको छ । तर गृहमन्त्री थापा र प्रदेशका आन्तरिक मामिला मन्त्रीहरु प्रहरी समायोजनको बैठकमा केन्द्रित भएका हुन् । 

सोमबार गृहसचिव अध्यक्ष रहेको समायोजन समिति बैठकले प्रहरीमा कार्यरत दर्जागत कुल जनशक्तिको विवरण गृहमन्त्री अध्यक्ष रहेको निर्देशन समितिमा बुझाएको छ । 

कोरोना भाइरस

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully