४ वटा अन्तर्राष्ट्रिय एयरलाइन्स रित्तै आउँदै, यात्रु लिएर जाँदै

चैत्र १०, २०७६

सुरज कुँवर

काठमाडौँ — आइतबार राति ११ः५९ बजेदेखि सरकारले विदेशबाट हुने अन्तर्राष्ट्रिय यात्रुसहितका उडानमा रोक लगाइसकेको छ । तर, सोमबार चारवटा अन्तर्राष्ट्रिय एयरलायन्सले काठमाडौं खाली आउने यात्रु लिएर जाने उडानको अनुमति पाएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णका अनुसार, कतार एयरवेज, कोरियन एयर, इतिहाद एयरवेजले सोमबार काठमाडौं उडानको अनुमति पाएका छन् । प्रवक्ता कर्णका अनुसार, कतारले दुई वटा तथा इतिहाद र कोरियनले एउटा/एउटा उडान अनुमति पाएका छन् । कतार एयरवेजको एउटा विमान सोमबार बिहान आएर दोहा फर्किसकेको छ भने साँझ इतिहाद, कोरियन र कतारको एउटा/एउटा उडान तालिकामा राखिएको छ ।


यी सबै चार्टर नभई सेड्युल उडान हुन् । ‘यीनले विदेशबाट कुनै पनि यात्रु ल्याउन पाउँदैनन्,’ नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने, ‘यताबाट विदेशी लैजान छुट छ ।’


महानिर्देशक पोखरेलका अनुसार, काठमाडौंमा करिब १० हजार विदेशी नागरिक रहेको तथ्यांक अध्यागमन विभागले दिएको छ । तिनैमध्येका अधिकाशंले स्वदेश फर्किन टिकट बुकिङ गरेकाले विभिन्न एयरलायन्सले अहिले काठमाडौंबाट लैजाँदैछन् ।

‘हामीले कोरोना प्रभावित मुलुकका नागरिक र त्यहाँ रहेका नेपालीलाई रोकेका हौं तर कुनै एयरलायन्सले नेपालमा रहेका विदेशी लैजान्छ भने त्यसले सरकारले जारी गरेको कडाइको नियमलाई असर पुर्‍याउँदैन,’ महानिर्देशक पोखरेलले भने ।


तर, विदेशी एयरलाइन्सले नेपाल आउँदा यात्रु ल्याउन भने पाउँदैनन् । यदि त्यस्तो पाइएमा ती विमानबाट आउने यात्रुलाई क्यारेन्टाइनमा राखिने र क्वाइरेन्टाइनको खर्च ती एयरलाइन्सबाट भराउने निर्णय भएको महानिर्देशक पोखरेलले बताए ।

प्रतिबन्धविपरीत यात्रु ल्याएका विदेशी एयरलाइन्सको जहाज काठमाडौंमा ग्राउन्डेड गर्दै चालकदललाई गैरसैनिक हवाई ऐनअनुसार कानुनी कारबाही गर्न सकिने उनले बताए ।


सरकारले विभिन्न मुलुकका एयरलायन्स र यात्रुलाई रोक लगाएपछि आइतबार साँझसम्म आउने र जाने गरी १३ वटा मात्रै अन्तर्राष्ट्रिय उडान भएको विमानस्थलस्थित टर्मिनल ड्युटी कार्यालयले जनाएको छ । सामान्य अवस्थामा काठमाडौंमा आउने र जाने गरी १ सय १० वटा सम्म उडान हुने गरेका छन् ।


यसैबीच आन्तरिक उडानको संख्या भने बढेको प्रवक्ता कर्णले बताए । उनका अनुसार सोमबार काठमाडौंबाट देशभर आउने र जानेगरी ३ सय हाराहारी आन्तरिक उडानको तालिकामा देखिएको छ । 

कोरोना भाइरस

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully