काँकडभिट्टा — सरकारले छिमेकीसँगका नाकाबाट आवतजावत बन्द गरेपछि सोमबार भारतबाट नेपाल फर्किन लागेका करिब तीन सय सर्वसाधारण मेची पुलमा अड्किएका छन् ।
भारतीय सुरक्षाकर्मीले नेपाल प्रवेश गर्ने अनुमति दिएका उनीहरुलाई नेपाली प्रशासनले देश छिर्न रोकेपछि उनीहरुले पुलमै नाराबाजीसमेत गरेका छन् । उनीहरुलाई मेची पुलमै प्रहरीले ब्यारिकेट राखेर रोकेको छ ।
अधिकांश भारतका विभिन्न सहरमा काम गरेर फर्किएका हुन् भने केही बंगलादेशबाट फर्किएका विद्यार्थीहरु छन् । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले उनीहरुको गुनासो केन्द्रमा पठाएको जनाएका छन् । रानाले भने,'क्याबिनेटले गरेको निर्णय हो, मेरो केही लाग्दैन ।' नेपालबाट भारततर्फ जान चाहने झन्डै २ सयजना पनि रोकिएका छन् ।
नाका बन्द हुनुअघि सोमबार बिहान १० बजेसम्म १ हजार ७ सय ४२ जना भारत गएका छन् भने ३ सय १५ जना नेपाल आएका छन् । १० बजेपछि आएकाहरु रोकिएको हो ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी राजेन्द्र पोख्रेलले नेपाल छिर्न खोज्ने सबैलाई क्वारेन्टाइनमा राख्नु पर्ने बताए । उनले भने,'भारततिरै क्वारेन्टाइनमा बसे हुने थियो,' उनले भने,'तर उनीहरु नेपाल छिर्न पाउनु पर्छ भनिरहेका छन् ।'
