कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

सञ्जालमा कोरोना अफवाह

फेसबुकमार्फत झूटो सूचना फैलाउने एक जना पक्राउ 
जनकराज सापकोटा

काठमाडौँ — फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालमार्फत कोरोना भाइरस (कोभिड–१९) बारे भ्रामक सूचना तथा अफवाह फैलिन थालेका छन् । इन्टरनेटमार्फत् तीव्र गतिमा फैलिने यस्ता सूचनाले सर्वसाधारणलाई त्रसित मात्रै बनाएको छैन, गलत सूचनामा विश्वास गर्दा जनजीवन प्रभावित हुने खतरासमेत बढेको छ ।

सञ्जालमा कोरोना अफवाह

शुक्रबार राति १० बजे विवेक थापा मगरले सामाजिक सञ्जाल फेसबुकमा एउटा समाचारको लिंक सेयर गर्दै स्टाटस लेखे । उनले ‘नेपालमा कोरोनाको महामारी फैलिसके पनि सरकारले किन लुकाए यस्तो खबर । तल दिएको अडियो सुन्नुहोला... अनिवार्य’ भनेर लेखेका थिए ।

आफैंले सञ्चालन गरेको झोर्लेन्युज डट कममामा राखिएको अडियो क्लिपसहितको लिंक शनिबार बिहान भाइरल भइसकेको थियो । शनिबार मध्याह्नसम्म उनको फेसबुक स्टाटस ६ जनाले मात्रै सेयर गरेको देखिन्छ । तर सोही समाचारमा राखिएको उक्त अडियो क्लिप भने हजारौंले सामाजिक सञ्जालमार्फत् सेयर गरे । म्यासेन्जर, भाइबर र ह्वाट्सएपका विभिन्न ग्रुपबाट पनि यो क्लिप सयौंमाझ सेयर भएर देश–विदेशका नेपालीले सुनेको देखिन्छ । नेपाल प्रहरीको साइबर ब्युरोले शनिबार दिउँसो सामाजिक सञ्जालमार्फत् कोभिड–१९ बारे अफवाह फैलाएको भन्दै भक्तपुरको सिपाडोलमा डेरा गरी बस्ने तिनै २० वर्षीय विवेकलाई पक्राउ गर्‍यो । ख्यालख्यालमै विवेकले फैलाएको अफवाहले उनी त पक्राउ परे नै, सयौंलाई गलत सूचनाले त्रसित बनायो ।

सामाजिक सञ्‍जालमार्फत यसरी फैलियो कोरोनासम्बन्धी फेक अडियो

उक्त क्लिपमा विवेकले हिमाल नामक मान्छेसंँग कुरा गर्दै नर्भिक अस्पतालमा ९ जनालाई जाँच गर्दा ६ जना जतिलाई कोभिड–१९ को संक्रमण देखिएको पुष्टि भएको बताएका छन् । नेपालमा महामारी फैलिसकेको दाबी गर्दै भनेका छन्, ‘यो न्युज मिडियामा आउँदैन पनि रे । यो न्युज सरकारले लुकाको छ रे ।’ यसरी आफ्नै आवाजमा रेकर्ड गरेको क्लिप आफ्नै अनलाइनमा पोस्ट गरेर त्यसलाई सामाजिक सञ्जालमार्फत विवेकले अफवाह फैलाए ।

विवेकले आममानिसमा भ्रम छर्न ल्याएको अडियोमा प्रयोग भएका तथ्यहरूले उक्त सूचना गलत रहेको पुष्टि भयो । नेपालमा कोभिड–१९ संक्रमणको एक मात्र जाँच टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा हुने भए पनि विवेकले नर्भिकमा त्यस्तो जाँच भएको र उक्त कुरा लुकाइएको तर्क गरेका छन् ।

सामान्य अक्कलमै पनि भ्रमपूर्ण लाग्ने सूचना भने सर्वसाधारणले सजिलै पत्याउँदै सामाजिक सञ्जालमार्फत सेयर गरिरहे । शनिबार बिहानैदेखि फेसबुक म्यासेन्जर, ह्वाट्सएप र भाइबरजस्ता अनलाइन सञ्जालबाट यो अडियो फैली नै रह्यो । प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षत्रीले कान्तिपुरसँगको कुराकानीमा भ्रमपूर्ण खबर भन्ने थाहा पाएर पनि सेयर गर्ने र फैलाउने कार्य पनि नागरिकको गैरजिम्मेवार कार्य भएको बताए । उनले कोभिड–१९ बारेका सूचना सरकारको आधिकारिक निकायबाट वा विश्व स्वास्थ्य संगठनबाट लिन सुझाउँदै भने, ‘भ्रमपूर्ण खबर पोस्ट गर्ने वा फैलाउने सबैमाथि प्रहरीले उच्च निगरानी बढाएको छ ।’


कोरोना भाइरसबारे अडियोमार्फत भ्रम फैलाउने पक्राउ

अडियो क्लिपको भ्रमपूर्ण सन्देश प्रवाह भएपछि नर्भिक अस्पतालले विज्ञप्ति निकालेर त्यसको खण्डन गर्‍यो । अस्पतालको विज्ञप्तिमा अपराधपूर्ण अफवाहको निन्दा गर्दै भनिएको छ, ‘जटिल र एवं संवेदनशील समस्यामा सबै निकाय एकजुट भई समस्यासँंग लड्नुपर्ने चुनौतीपूर्ण अवस्थामा यस्ताखाले भ्रामक समाचारप्रति हामी घोर खेद प्रकट गर्दछौं ।’ सामाजिक सञ्जालमा यसका अलावा अन्य भ्रमपूर्ण अडियो क्लिप, भिडियो र पोस्टहरू पनि भाइरल भइरहेको देखिन्छ । भाइरल भएको अर्को अडियो क्लिपमा सैन्य हेलिकप्टरले कीटनाशक दबाई छर्किने भएकाले रातिको १२ बजे घरभित्र बस्न र घरबाहिरका कपडाहरू भित्र ल्याउन भनिएको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले भाइरल भएको अडियोको सन्देशमा कुनै सत्यता नरहेको उल्लेख गर्दै भने, ‘भ्रमपूर्ण सूचनाको पछि नलाग्नुस् ।’ यो अडियो क्लिप भने कसले र कहिलेबाट फैलियो भन्नेबारे यकिन भइसकेको छैन ।

कोभिड–१९ बारे अफवाह फैलाउने कैयन् भिडियो सामग्री, अडियो क्लिप तथा पोस्ट फेसबुक, ट्वीटर र टिकटकमार्फत् भाइरल भइरहेको प्रहरी अनुसन्धानले देखाएको छ । संक्रमणबारे सामाजिक सञ्जालमार्फत द्रुत गतिमा फैलिएको अफवाहलाई विश्व स्वास्थ्य संगठनले इन्फोडेमिक अर्थात् सूचना संक्रमणका रूपमा अर्थ्याएको छ ।

प्रहरी प्रवक्ता क्षत्रीका अनुसार टेकु अस्पतालमा कोभिड–१९ को संक्रमणबाट बिरामी मरेका छन् भनेर टिकटक भिडियो बनाउनेमाथि पनि प्रहरीले अनुसन्धान जारी राखेको छ । उक्त भिडियोमा टेकु अस्पतालबाट शव बेरेर पशुपति लगेको दाबी गरिएको छ । भिडियोमा नाम लिइएका डाक्टर टेकु अस्पतालका नभएको पुष्टि भएको बताउँदै प्रवक्ता डीआईजी क्षत्रीले भने, ‘उक्त टिकटक अमेरिकाबाट अपलोड भएको देखिन्छ ।’ प्रवक्ता क्षत्रीले संकटका बेला भ्रमपूर्ण खबर फैलाउनेलाई निगरानी गर्ने र तिनीहरू विदेशमा भए पनि स्वदेश फर्केका बेला पक्राउ पर्ने बताए । मुलुकी अपराध संहिता २०७४ मा झूटो सूचना तथा अफवाह फैलाउनेलाई कारबाही गर्न सकिने प्रावधान छ ।

कानुनमा अफवाह फैलाउने, प्रचारप्रसार गर्नेलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । त्यस्तै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ मा भने कुनै विपद्को घटना घट्न सक्ने अफवाह फैलाई सार्वजनिक रूपमा त्रास सिर्जना गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।

सामाजिक सञ्जालमा आफूलाई धार्मिक गुरु बताउने केहीले भने महामारीको उपचार आफूसँग रहेको बताइरहेको भिडियो पनि भाइरल भइरहेको छ । आफूलाई क्रिश्चियन धर्मगुरु अर्थात् पाश्चर बताउने पोखराका केशवराज आचार्यले यसुका नाममा ‘कोरोना मरिजा...’ भन्दै बोलेको भिडियो युट्युबमा राखेका थिए । सामाजिक सञ्जालमा धर्मको आवरणमा यस्तो भ्रमपूर्ण सूचना फैलाएको भन्दै व्यापक आलोचना भएपछि उक्त भिडियो शनिबार मध्याह्नबाट हटाइएको छ ।

महानगरीय प्रहरी कार्यालयले सञ्चालनमा ल्याएको शुल्क नलाग्ने फोन नम्बर १०० मा शनिबार मध्याह्नसम्म कोभिड–१९ को संक्रमणसँग सम्बन्धित २५ वटा सूचनाहरू आएका थिए । तीमध्ये केही सूचनाहरू अफवाहपूर्ण खबरहरू सामाजिक सञ्जालमार्फत् फैलाइएको भन्ने विषयमा थिए ।

निःशुल्क फोनमार्फत आउने सूचनाहरूको संकलन र व्यवस्थापनमा सक्रिय कार्यालयको उपत्यका परिचालन कक्षका सई नवराज थापाले कोभिड–१९ लागेर मान्छे मरेको भन्ने खालका भ्रमपूर्ण सूचना फैलाउने फेसबुक पेज र प्रयोगकर्ताबारे पनि केहीले सूचना दिएका थिए । उनका अनुसार केही सूचना भने बढी भाडा असुल्न खोज्ने सार्वजनिक सवारीसाधन र बढी मूल्यमा मास्क बेच्न खोज्ने व्यापारीबारे थियो । उनले भने, ‘आमनागरिकबाट आएका सूचनाबारे थप अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी अपराध महाशाखा र साइबर ब्युरोमा पठाउने गरिएको छ ।’

प्रकाशित : चैत्र ९, २०७६ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?