कोरोना भाइरसबारे अडियोमार्फत भ्रम फैलाउने पक्राउ 

चैत्र ८, २०७६

काठमाडौँ — कोरोना भाइरस (कोभिड १९) को महामारीबारे अफवाह र भ्रमपूर्ण अडियो क्लिपलाई सामाजिक सञ्‍जालमार्फत भाइरल बनाउनेलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवेक थापा मगरलाई त्यस्तो भ्रमपूर्ण खबर रेकर्ड गरी सामाजिक सञ्‍जालमार्फत फैलाएको भन्दै प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । 

साइबर व्यूरो स्रोतका अनुसार भ्रमपूर्ण अडियो क्लिप शनिबार बिहान ८ बजेतिर सामाजिक सञ्‍जालमा देखा परेको थियो । पक्राउ परेका मगरले चलाउने एक अनलाइन पोर्टलमार्फत उक्त अडियो पहिले सावर्जनिक भएको र पछि सामाजिक सञ्जालमा फैलिएको प्रहरी प्रहरी स्रोतले जनायो । मगरसँग प्रहरीले विस्तृत बयान जारी राखेको छ । 

पक्राउ परेका मगरले नर्भिक अस्पतालमा ६ जना कोरोना भाइरसबाट संक्रमित फेला परेको भन्‍ने सूचना त्यहीं कार्यरत चिकित्सकले बताएको भन्दै भिडियो क्लिप सेयर गरेका थिए । उनले नर्भिकमा मात्र नभई त्रिवि शिक्षण अस्पतालमा पनि कोरोनाबाट संक्रमित केही व्यक्तिको मृत्यु भइसकेको भ्रमपूर्ण अडियो रेकर्ड गरेका थिए ।  

  यो पनि 

विश्‍वव्यापी महामारी बनेको कोरोना भाइरसबाट पछिल्लो तथ्यांकअनुसार ११ हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । संक्रमितको संख्या करिब पौने ३ लाख पुगिसकेको छ । सरकारले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै लामो दूरीको यातायात, अन्तर्राष्ट्रिय उडानहरु रद्द गर्ने निर्णय गरिसकेको छ । 

प्रधानमन्‍त्री केपी शर्मा ओलीले शुक्रबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाबाट दिइने अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेका थिए । त्यस्तै उनले कोभिड १९ को सम्भावित संक्रमण रोक्न मुलुकभर अत्यावश्यकबाहेक सबै सेवा चैत ९ देखि २१ गतेसम्म बन्द गर्ने बताए । 

यो पनि 

Link copied successfully