अवतरण नगर्न निर्देशन दिँदादिँदै सिल्क एयरले जबर्जस्ती गर्‍यो : एटीसी

एक अस्ट्रेलियन नागरिकसहित ९८ जनालाई नै ओरालियो
मातृका दाहाल

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित एयर ट्राफिक कन्ट्रोल (एटीसी)को निर्देशनविपरीत सिल्क एयरको जहाज अवतरण गरेको खुलासा भएको छ । अस्ट्रेलियाबाट सिंगापुर हुँदै नेपालका लागि उडेको सिल्क एयर बंगलादेशको आकाशमा आइपुग्दा एटीसीले कोरोनाको सम्भावित प्रकोपका कारण लिइएउको पछिल्लो निर्णयबारे जानकारी गराउँदै जहाज फिर्ता हुन चालक दलका सदस्यलाई आग्रह गरेको थियो ।

अवतरण नगर्न निर्देशन दिँदादिँदै सिल्क एयरले जबर्जस्ती गर्‍यो : एटीसी

तर इन्धन भर्नुपर्ने कारण देखाएर जहाज नेपालतर्फ आयो । त्यसको केही समयपछि ८ बजेर ३० मिनेटमा विमानस्थलमा अवतरण गर्‍यो । तेल भरेपछि जहाज फिर्ता हुन पुन: एटीसीले निर्देशन दियो । तर जहाजभित्रैबाट नेपाली यात्रुहरुले होहल्ला र नाराबाजी गरेपछि चालकले ‘यस्तो वातावरणमा म जहाज उडाउन सक्तिनँ’ भन्दै एटीसीलाई सन्देश पठाए ।

एटीसीले त्यसपछि जहाजमा कुन देशबाट कति नागरिक आएको भन्नेबारे नागरिक उड्ययन प्राधिकरणका अधिकारी र अध्यागमनसग सल्लाह गर्‍यो । विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सागर आचार्य र नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक राजन पोखरेलसहितको टोली विमानस्थल पुग्यो ।

आपत्‌कालीन बैठक नै बसेर विमानभित्रका यात्रुबारे जानकारी लिएपछि त्यहाँ भएका सबेलाई ओराल्ने निर्णय भएको स्रोतले बतायो । त्यसपछि कागजात र राहदानी प्रमाणीकरण गर्दा ९७ जना नेपाली र १ जना अस्ट्रेलियन नागरिक जहाजमा भएको भेटियो । नेदरल्याण्ड्सबाट आएका एकजना नेपालीलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पठाउने र अस्ट्रेलियन नागरिकलाई कोरोनामूक्त स्वास्थ्य परीक्षण रिपोर्टका आधारमा होटलमै १४ दिन बस्ने गरी तथा बाँकी नेपालीलाई सेल्फ क्वारेन्टाइनमा बस्ने गरी छाड्ने निर्णय भएको छ ।

सम्बन्धित समाचार

सिंगापुरबाट आएको सिल्क एयरका नेपाली यात्रुलाई ओरालेर अरुलाई फिर्ता पठाइने

प्रकाशित : चैत्र ९, २०७६ ००:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?