कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नमाज मस्जिद होइन घरमै पढौं : मुस्लिम आयोग

ललितपुर — मुस्लिम आयोगले कोभिड–१९ को संक्रमणबाट जोगिन घरमै नमाज पढ्न उर्दी जारी गरेको छ । आयोग गठन भएको पहिलो वर्षको कार्यप्रगति सार्वजनिक गर्न शुक्रबार जावलाखेलस्थित आयोगको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष समिम मिया अन्सारीले उक्त जानकारी गराएका हुन् ।

नमाज मस्जिद होइन घरमै पढौं : मुस्लिम आयोग

‘सरकारको निर्णयअनुसार विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट जोगिनु सबैको कर्तव्य हो,’ अध्यक्ष अन्सारीले भने, ‘मुस्लिम समुदायले नियमित रुपमा पढिने नमाज र शुक्रबारका दिन पढिने जुम्माको नमाज सकेसम्म घर, कलकारखाना आदिमा पढ्ने र मस्जिदमा सकेसम्म कम उपस्थितिमा पढ्ने पढाउन र अति आवश्यक नभई कुनै पनि कार्यक्रममा सहभागी नहुन सम्बन्धित सबै मुस्लिम समुदायमा अनुरोध छ ।’ काठमाडौंको घन्टाघरसँगै रहेका दुई ठूला मस्जिदमा शुक्रबारदेखि नै भिडभाड कम गराएको जनाइएको छ । त्यसैगरी मदरसाहरूमा पठनपाठन बन्द गर्न भनेको छ ।

‘आफू पनि बाँचौं, अरुलाई पनि बचाऔं’ सन्देशसहित मस्जिदमा नमाज स्थगित

सरकारले संविधानअनुसार मुस्लिम समुदायको हकहितको संरक्षण, संवर्द्धन तथा सशक्तिकरणका निम्ति आयोग गठन गरेको हो । आयोगमा एक अध्यक्ष र चार सदस्य रहने व्यवस्था छ । हालसम्म अध्यक्षमात्र नियुक्त छन् । ‘संवैधानिक आयोग भनियो तर अधिकार कटौती भयो,’ चार आयोगले मन्त्रीको ध्यानाकर्षण गराएको उल्लेख गर्दै अध्यक्ष अन्सारीले भने, ‘चार सदस्य नियुक्ति नहुँदा बृहत् कार्ययोजना बन्न सकेको छैन । बनेको कार्ययोजनाअनुसार एक्लै निर्णय लिएर अघि बढ्नु परेको स्थिति छ ।’

पहिलो वर्षमा मुस्लिम समुदायमाझ आयोग चिनाउने काम भएको अध्यक्ष अन्सारीले बताए । त्यसैगरी आयोगले निजामती सेवामा मुस्लिमको पहुँच बढाउन शाखा अधिकृत र नायब सुब्बाको लोकसेवा तयारी कक्षा सञ्चालन गरेको छ । मुस्लिम समुदायको बाहुल्य रहेको १२ जिल्लामा क्षमता विकास तालिम, लैगिक हिंसाविरुद्ध कानुनी सचेतना, शैक्षिक सामग्री वितरण, हाजीहरुको संख्या बढाएको अन्सारीले जनाए । ‘मुस्लिम समुदायको इतिहास, कला, साहित्य, संस्कृति क्षेत्रमा कलम चलाउने लेखक, साहित्यकार, पत्रकारमध्ये वार्षिक एकजनालाई पुरस्कृत गरिनेछ,’ अध्यक्ष अन्सारीले भने । उनले स्रोत साधनहरुमा मुस्लिम समुदायको प्रतिनिधित्व बढाउन आरक्षण व्यवस्था गर्ने बताए ।

प्रकाशित : चैत्र ७, २०७६ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?