‘आफू पनि बाँचौं, अरुलाई पनि बचाऔं’ सन्देशसहित मस्जिदमा नमाज स्थगित

चैत्र ७, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले धेरै मानिसहरुको भीडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेसँगै मस्जिदहरुमा नमाज पढ्ने कार्यक्रम स्थगित गरिएको छ ।विश्वभरी कोरोना भाइरस (कोभिड—१९) सन्त्रास फैलिएका बेला उपत्यकाका विभिन्न मस्जिदहरुमा नमाज पढ्ने कार्यक्रम स्थगित गरिएको हो ।

नेपाली जामे मस्जिद (धार्मिक स्थल) सञ्चालक समिति तथा पञ्‍च कश्मीरी तकिया मस्जिद सञ्‍चालक समितिले स‌ंयुक्त रुपमा संक्रमणबाट बच्न शुक्रबारको विशेष नमाजलगायतका हरेक दिन हुने अनावश्यक भीडभाड नगर्न आग्रह गरेको छ । 


‘आफू पनि बाँचौं, अरुलाई पनि बचाऔं’ भन्ने सन्देशसहित मस्जिदले सरकारले गरेको अनुरोधलाई ध्यानमा राख्दै सक्दो सयोग गर्न आग्रह गरेको छ । मस्जिदले आ—आफ्नो ठाउाबाट नमाज पढ्न पनि अनुरोध गरेको छ । कोभिड—१९ को जोखिमबाट बच्न सरकारले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरिसकेको छ । यसअघि बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगश भट्टराईले धार्मिक गतिविधि सञ्चालनमा पुर्नविचार गर्न आग्रह गरेका थिए । 

कान्तिपुर

Link copied successfully