निगमको जापान र दुबई उडान शुक्रबार रातिदेखि स्थगन

चैत्र ६, २०७६

सुरज कुँवर

काठमाडौँ — नेपाल वायुसेवा निगमले जापानको नारिता र यूएईको दुबईमा गर्दै आएको नियमित उडान चैत ७ मध्यरातदेखि लागू हुने गरी स्थगित गरेको छ । ‘कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’को बैठकले गरेको निर्णय अनुसार ती दुई गन्तव्यको नियमित उडान  चैत्र ३० गतेसम्मका लागि स्थगित गरिएको’ निगमले बिहीबार विज्ञप्तिमार्फत जनाएको छ । 

उसले चैत ७ गते र सो भन्दा पछिका उडानका टिकट खरिद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पूरै उपलब्ध गराइने भनेको छ  । यसका अतिरिक्त नियमित उडान चालुरहेका गन्तव्यका लागि टिकट लिएका यात्रुहरुले उडानको एक दिनअघि उडान रद्द गर्न चाहेमा पनि भुक्तानी गरेको पूरै रकम उपलब्ध गराइने जनाउँदै यात्रुहरुको उडान मिति परिवर्तन गर्दा शुल्क नलाग्ने भनेको छ ।

यसैबिच हिमालय एयरलायन्सले बिहीबारदेखि लागू हुनेगरी काठमाडौं–ढाका–काठमाडौं उडान अर्को सूचना नआएसम्मका लागि स्थगन गरेको सूचना जारी गरेको छ ।  

कोभिड–१९ संक्रमण रोकथाम समितिकोरोना भाइरस

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully