चितवन — भरतपुर अस्पतालले अहिलेसम्म कोरोना भाइरस कोभिड–१९ को संक्रमण भएको आशंकामा चारजना व्यक्तिको नमुना परीक्षण गरेको छ । परीक्षण गराएका चारै जनामा कोरोना संक्रमण नदेखिएको पनि अस्पतालले जनाएको छ ।
पछिल्लो पटक भारत भ्रमण गरेर आएकी एक जना महिलामा बिरामी भएपछि भरतपुर अस्पतालले नमुना परीक्षणका लागि केन्द्रीय प्रयोगशाला पठाएको थियो । काठमाडौंबाट सोमबार साँझ प्राप्त परीक्षण नतिजामा उनमा संक्रमण नदेखिएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।
अस्पतालले यसअघि पनि तीनजना व्यक्तिको नमुना परीक्षणका लागि काठमाडौं पठाएको थियो । उनीहरुमा पनि संक्रमण देखिएको थिएन । विश्वव्यापी महाहारीको रुपमा देखिएको कोरोना भाइरस कोभिड–१९ को संक्रमण रोक्न भरतपुरको सरकारी अस्पतालले मध्य माघबाटै तयारी सुरु गरेको थियो । माघ १८ गते पाँच बेडको आइसोलेसन वार्ड बनाइएको थियो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीका अनुसार अस्पतालले फागुन २९ मा आइसोलेसन वार्डमा बेड संख्या बढाएर १९ पुर्याइएको छ । अस्पतालले जिल्लावासीमा विशेष अनुरोध गरेर सजग र सचेत रहँदै शंकास्पद लक्षण देखिएमा परीक्षणका लागि आउन अनुरोध गरेको छ । ‘पछिल्लो १० दिनभित्र रुघा खोकी वा ज्वरो आएको, कोरानाको जोखिम रहेको देशमा दुई हप्ताभित्र भ्रमण गरेको वा त्यस्ता देशको भ्रमण गरेको व्यक्तिको सम्पर्कमा रहेकाहरुलाई सिधै अस्पतालको कोठा नम्बर २०१ मार्फत सेवा दिने व्यवस्था मिलाइएको छ,’ अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले भने ।
शंकास्पद लक्षण लिएर परीक्षणका लागि अस्पताल आउने व्यक्तिहरु अन्य सामान्य व्यक्तिको सम्पर्कमा नपुगून भनेर अस्पतालले विशेष सावधानी अपनाएको पौडेलले बताए । यसका साथै आइसोलेसन वार्डलाई पनि पहिलाको भन्दा सुविधायुक्त बनाएको उनले बताए । संक्रमण रोक्नका लागि अस्पतालले सचेतना कार्यक्रम चलाउने, भाइरसको बारेमा जानकारी समेटिएका पोस्टर, पम्प्लेट र फ्लेक्सहरु प्रयोग गर्ने योजना बनाएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जिल्लामा सम्भावित जोखिमलाई ख्याल राखेर आइसोलेसन बेडको संख्या ७५ कायम गर्ने तयारी भइरहेको बताए । ‘सरकारी अस्पताल र दुईवटा शिक्षण अस्पताललाई दुई आईसीयूसहितको २०/२० बेडको आइसोलेसन वार्ड र बाँकी १५ वटा बेड अन्य निजी अस्पताल र नर्सिङ होमले तयार गर्न आवश्यक छ’ प्रमुख जिल्ला अधिकारी भट्टराईले भने ।
भरतपुरमा रहेको वाग्मती प्रदेश स्वास्थ्य कार्यालयका प्रमुख दिपक तिवारीका अनुसार जिल्लामा पौने दुई सय अस्पताल र क्लिनिकहरु छन् । जसमा तीन हजारभन्दा बढी बेडहरु छन् । तर आइसोलेसन बेड राख्नमा भरतपुरको सरकारी अस्पतालको जस्तो तदारुकता अरुले देखाएका छैनन् । छिटो फैलने खतरा रहेका कारण कोरोनाका संक्रमितलाई अरुभन्दा अलग अर्थात आइसोलेसनमा राखेर उपचार गर्नु पर्दछ ।
