कोरोना नियन्त्रण : फ्रन्टलाइनमै छैन उच्च सावधानी

उच्च जोखिमयुक्त संक्रमण जाँचमा खटिनेका लागि पर्याप्त मेडिकल सामग्री छैन । मास्क, सेनिटाइजर वा ज्वरो मापन गर्ने केही थान उपकरणको भरमा मात्र खटिँदै आएका छन् । 

चैत्र ४, २०७६

मातृका दाहाल

काठमाडौँ — कोरोना भाइरस परीक्षण र सुरक्षा व्यवस्थापनका लागि अग्रभागमा हुन्छन्– सुरक्षाकर्मी र स्वास्थ्यकर्मी । नाकाबाट छिर्नेलाई पहिलो स्क्रिनिङ गर्ने मुख्य जिम्मेवारी उनीहरूकै हुन्छ । उच्च जोखिमयुक्त संक्रमण जाँचमा खटिनेका लागि त्यही उच्चस्तरको सावधानी अपनाउनुपर्छ । तर उनीहरूका लागि पर्याप्त मेडिकल सामग्री छैन । मास्क, सेनिटाइजर वा ज्वरो मापन गर्ने केही थान उपकरणको भरमा मात्र खटिँदै आएका छन् । 

नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान कार्यालयले आन्तरिक स्रोतसाधनबाट आवश्यक सावधानीका उपाय अपनाउन देशभरका युनिटलाई निर्देशन दिएको छ । प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षत्रीले सबै सुरक्षाकर्मीमा मास्क, सेनिटाइजर, ग्लोब (पन्जा) समेत पुर्‍याउन नसकिएको स्विकारे । ‘ट्राफिक प्रहरीले पोसाक स्केलअनुसार नै धूलोबाट बच्न मास्क, पन्जा र चस्मा प्रयोग गर्दै आए पनि अन्य जनशक्तिलाई यो सुविधा छैन,’ प्रवक्ता क्षत्रीले भने, ‘सम्भव भएसम्म बाहिर खटिनेलाई मास्क लगाउनुस्, साबुनपानीले हात धुनुस्, कार्यालय तथा ब्यारेक प्रवेश गर्दा सेनिटाइजर प्रयोग गर्नुस् भनेका छौं तर सबै ठाउँमा यो पर्याप्त छैन ।’ 


सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी प्रवीणकुमार श्रेष्ठले आफ्ना हेल्थ डेस्क र सबै कार्यालयमा थर्मल गन उपलब्ध गराइएको बताए । ‘देशभरका बाहिनी, गण–गुल्म/शिक्षालय तथा बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) लाई ज्वरो नाप्ने थर्मल गन पठाइसकेका छौं,’ उनले भने, ‘संक्रमण हुन नदिन सरसफाइ, मास्क, सेनिटाइजर प्रयोगलाई पनि अनिवार्य गर्न निर्देशन दिइएको छ, तर विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डअनुसारका स्वास्थ्य सामग्री हामीसँग छैन ।’ 


दुवै निकायले सुरक्षाकर्मीबीच र सर्वसाधारणसँग भेट गर्दा हात नमिलाउन र अंकमाल नगर्न पनि निर्देशन दिएका छन् । सोमबार नै महानगरीय ट्राफिक प्रहरी महाशाखाले सबैलाई भेट्दा ‘नमस्कार’ गर्न र हात नमिलाउन परिपत्र गरेको छ । प्रहरी र सशस्त्र मुख्यालयले डब्लूएचओको मापदण्डअनुसारका आधारभूत स्वास्थ्य जाँच उपकरण आफूहरूसँग नभएको स्पष्ट पारे । प्रहरी र सशस्त्र तथा संघ, प्रदेश र स्थानीय तहअन्तर्गतका स्वास्थ्यकर्मी सीमा नाकामा हेल्थ डेस्कसहित खटिइसकेका छन् । तर थर्मल गनबाहेक अन्य उपकरण र अस्थायी आइसोलेसन केन्द्र बनाउन सकेका छैनन् । 


सामान्य भाइरलका बेलाझैं अपनाइएको पूर्वतयारी कोरोना रोकथामका लागि पर्याप्त नहुने डब्लूएचओले हालै सार्वजनिक गरेको ‘मेडिकल गाइडलाइन’ बाट स्पष्ट हुन्छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि डब्लूएचओले सम्बन्धित डेस्कबाट ज्वरो मापन गर्नुपर्ने र सो क्रममा एक मिटरको दूरी रहनुपर्ने भनेको छ । त्यस्तै डेस्क वा जाँचमा खटिएकाले सोधपुछ गर्दा अनिवार्य रूपमा मेडिकल मास्क र पन्जा लगाउन अनिवार्य गरेको छ । 


शंकास्पद लक्षण देखिए तत्काल अस्थायी आइसोलेसन कक्षको व्यवस्था गर्नुपर्ने उल्लेख छ । मेडिकल मास्क र पन्जाबाहेक गाउन, बढी क्षमताको पन्जा, आँखा परीक्षण उपकरण, क्लोज वर्क बुट, (जुत्ता) लगाउनुपर्ने भनिएको छ । स्वाथ्यकर्मीका लागि मेडिकल मास्क, गाउन, पन्जा, आइप्रोटेक्सन उपकरण तथा तयारी हालतमा एम्बुलेन्स वा सम्बन्धित कामका लागि मात्रै सवारी साधन उपलब्ध गराउनुपर्ने भनिएको छ । तर सीमा नाका हुँदै आवतजावत गर्ने स्थानमा पूर्वसावधानी र आधारभूत स्वास्थ्य सामग्री उपलब्ध गराइएको छैन । नेपाल–भारत सीमा जोडिएका केही नाकामा गाउन, मेडिकल मास्क र थर्मल गन उपलब्ध गराइए पनि त्यो पर्याप्त छैन । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले नेपालमा कोरोना भाइरस संक्रमण देखिनसकेको र रोकथामका लागि भएका प्रयास नै पर्याप्त हुने बताए । ‘यदि कसैमा शंकास्पद लक्षण देखिएमा कसरी उपचार गर्ने र कुन किसिमको सावधानी अपनाउने भन्नेमा मजबुत तयारी छ, आत्तिनुपर्ने अवस्था छैन,’ उनले भने । 


जाँचमा छैन एकरूपता

कोरोना भाइरस नियन्त्रणका लागि झापाको काँकडभिट्टा नाकामा सोमबारदेखि २ सय जना स्वयंसेवक परिचालन गरिएको छ । मेचीनगर स्वास्थ्य शाखाका ५ स्वास्थ्यकर्मीसहित २५ जना परीक्षण तथा निगरानीमा खटाइएको छ । यही संख्यामा प्रहरीसमेत परिचालन गरिएको छ । 


नगरकी स्वास्थ्य शाखा प्रमुख शशिकला राईका अनुसार स्वास्थ्यकर्मीलाई उपलब्ध भएसम्मका सुरक्षा सामग्री दिइएको छ । मेचीनगरका प्रशासकीय अधिकृत महेन्द्र खाम्याङले आइतबार नगरपालिकामा सम्पन्न सर्वपक्षीय छलफलपछि नाकामा स्वयंसेवक परिचालन गरिएको जानकारी दिए । यसको संयोजन मेची उद्योग वाणिज्य संघ धुलाबारीले गरेको छ । टोलीले भारतबाट आउने यात्रीको भीडलाई मिलाउने काम गर्नेछ । खाम्याङका अनुसार कोरोना नियन्त्रणका लागि भनेर सरकारले कुनै बजेट पठाएको छैन । तर, हेल्थ डेस्क व्यवस्थापनका लागि बर्सेनि आउने १० लाख रुपैयाँ खर्च भइरहेको छ । 


पर्साको वीरगन्ज नाकास्थित हेल्थ डेस्कमा थर्मल गन, मास्क र पन्जा उपलब्ध गराइएको छ । सुरक्षाकर्मीसहित डेस्कमा एकपटकमा तीन जना बस्छन् । स्वास्थ्यकर्मीका लागि गाउन दिइएको छैन । नाकामा भीड हुने भएकाले एउटाको जाँच नसक्दै अरू भीड छिचोलेर प्रवेश गर्ने गरेका छन् । उता, कञ्चनपुरको गड्डाचौकीमा रहेको हेल्थ डेस्कमा थर्मल गनसहित १० जना टोली खटाइएको छ । बिहान ७ देखि साँझ ७ सम्म ५/५ जनाको समूह बनाएर खटाइएको छ । पूर्णागिरीमा मेलाका कारण भीड बढेकाले नाकामा सबै जाँच गर्न समस्या भइरहेको छ । सीमामा अस्थायी आइसोलेसनको पनि व्यवस्था गरिएको छैन । तर प्रहरी र सशस्त्रले भने नियमित रुघाखोकी र ज्वरो देखिएकालाई अस्थायी क्वारेन्टाइन बनाएर राख्ने गरेको छ ।

कोरोना भाइरस

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully