वाइडबडी शनिबार पौने ३ बजे वुहान उड्ने

यो चार्टर उडानको प्रति घन्टा कम्तीमा १८ हजार डलर भाडा

माघ २९, २०७६

सुरज कुँवर

काठमाडौँ — कोरोना प्रभावित चीनको हुबेई प्रान्तस्थित वुहान शहरमा रहेका १ सय ८० नेपाली विद्यार्थी लगायतलाई फिर्ता ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी विमान शनिबार दिउँसो पौने ३ बजे काठमाडौंबाट त्यसतर्फ जाने भएको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद्ले निगमको जहाज पठाउने निर्णय गरेसँगै निगमले वुहानका लागि यो समय तालिका सार्वजनिक गरेको हो । ‘शनिबार दिउँसो पौने ३ बजे हाम्रो जहाज काठमाडौंबाट वुहान जाँदैछ,’निगमको अपरेशन विभाग प्रमुख दिपुराज जुहार्चनले भने,‘उताबाट फर्किदा राति सवा २ बजे जहाज काठमाडौं अवतरण हुनेछ ।’ उक्त विमानमा नेपाल वायुसेवा निगमका तीन जना पाइलट, ६ जना क्याबिन क्रू, १ जना इन्जिनियर, १ जना प्राविधिक, १ जना फ्लाइट डिस्प्याचर,१ जना लोड मास्टर र ४ जना नेपाली सेनाका चिकित्सक रहने छन् ।


नेपाली सेना र स्वास्थ्य मन्त्रालयका चिकित्सकले बुधबार निगमको केन्द्रीय कार्यालयमा चीन जाने टोलीसहित निगमको विमानस्थलमा रहेका कर्मचारीहरुलाई तालिम दिएका थिए । निर्देशक जुहार्चनका अनुसार, चिकित्सकहरुले परसनल प्रोटेक्टिभ इक्युभमेन्ट (पीपीई) प्रयोगबारे सिकाएका थिए । ‘के गर्ने के नगर्ने तथा पीपीई प्रयोगपछि उक्त उपकरणलाई कसरी डिस्कार्ड (स्वास्थ्यलाई असर नपर्नेगरी निस्तेज गर्ने) बारे सिकाइयो,’ उनले भने । विमानस्थलमा कार्यरत कर्मचारीलाई बिहीबार तालिम दिँइदै छ । 


उक्त उडानपछि जहाज र चालकदल लगायतका निगमका कर्मचारीलाई कति घन्टा क्वारेन्टाइनमा राख्‍नेबारे सरकारले कुनै निर्णय गरेको छैन । यसबारे विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड पालना गर्नुपर्ने हुन्छ । ‘बिहीबारको मन्त्रिपरिषद्ले यसबारेको मापदण्ड पारित गरेपछि मात्रै जहाज र कर्मचारीहरुको क्वारेन्टाइनबारे एकिन भन्‍न मिल्ने छ,’ क्याप्टेन जुहार्चनले भने । स्वस्थ्य मन्त्रालयले बनाएको मापदण्ड प्रधानमन्त्री कार्यालयमा पेश भइसकेको बताइएको छ ।


निगमले सरकारले दिएको निर्देशन अनुसार, निगमको जहाज र कर्मचारीलाई वुहान पठाउन लागेको जनाएको छ । ‘यो देशका लागि गर्नुपर्ने कर्तव्य हो, कसैलाई दबाब दिएर वा अनिवार्य पठाउन लागिएको होइन,’ निर्देशक जुहार्चनले भने,‘निकट भविष्यमा सरकारले निगम र वुहान जाने पाइलट, क्याबिन क्रू, प्राविधिक लगायतका कर्मचारीको कामको मूल्यांकन गर्ने विश्वास लिएका छौं ।’ 


यसैबीच वुहान जाने वाइडबडी जहाजको ग्राउन्ड ह्याण्डलिंङ गर्न परराष्ट्र मन्त्रालयले त्यहाँको ग्राउन्ड एक्सप्रेस लिमिटेडलाई तोकेको छ । उक्त कम्पनीले निगमको उक्त उडानमा नेपाल आउने विद्यार्थी लगायतको ब्यागेज जहाजमा राख्‍ने, जहाजलाई अन्य प्राविधिक लगायतका काममा मद्दत गर्ने छ । यस बापत निगमले उक्त कम्पनीलाई भुक्तानी दिनुपर्ने छ ।


निगमले यसपटक गर्न लागेको यो चार्टर उडान हो । यसको भाडा निगमले प्रति घन्टा कम्तीमा १८ हजार हाराहारी डलरका दरमा लिनेछ । जहाज थप ४८ घन्टा कम्तीमा ग्राउन्डेड गरिनुपर्ने भएकाले यो दरमा निगमले थप अतिरिक्त शुल्क पनि लगाउने सक्ने एक अर्का निर्देशकले बताए ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully