संसद‍्‍मा अवरोध नगर्ने कांग्रेसको निर्णय

माघ २८, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले मंगलबार बस्‍ने प्रतिनिधि सभा बैठकमा अवरोध नगर्ने भएको छ । सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले संसद् चल्न दिने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।

‘बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरकारको छाया बन्यो भन्ने कांग्रेसको ठहर हो । यस विरुद्धको मुद्दा कांग्रेस कानुनी र राजनीतिक रुपमा लड्छ,’ खाँणले भने, ‘अनियमितता, भ्रष्टाचार र संवैधानिक अंगहरुको दुरुपयोगबारे कांग्रेस सांसदहरुले सदनमा कुरा उठाउनु हुन्छ । आज बोलाइएको सदन चल्न दिन्छौं ।’

अख्तियारले पार्टीका संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई राजनीतिक प्रतिशोधका आधारमा बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुद्दा दायर गरेको भन्दै कांग्रेसले सदन अवरोध गर्दै आएको थियो । कांग्रेसले बिहीबार, शुक्रबार र आइतबार बसेको संसद् बैठकमा अवरोध गरेको थियो । 

अख्तियारले गत बुधबार ललिता निवासको जग्गा प्रकरणमा गच्छदारसहित १७५ जनाविरुद्ध  विशेष अलालतमा मुद्दा दायर गरेको थियो । उक्त प्रकरणमा निर्णय लिने तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, बाबुराम भट्टराई, मुख्य सचिव लिलामणि पौडेल (अहिले चीनका लागि नेपाली राजदूत) लाई जोगाएर सिफारिस गर्ने मन्त्रीका हैसियतमा गच्छदारलाई मात्रै फसाइएको आरोप कांग्रेसको छ । 

प्रतिनिधि सभा बैठक मंगलबार दिउँसो १ बजेका लागि डाकिएको छ । 

ललिता निवास

कान्तिपुर

Link copied successfully