१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

गच्छदारलाई फसाइएको भन्दै नेविसंघको प्रदर्शन

काठमाडौँ — नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई राजनीतिक पूर्वाग्रहपूर्ण तरिकाले ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फसाएको भन्दै नेपाल विद्यार्थी संघ(नेविसंघ)ले शुक्रबार प्रदर्शन गरेको छ । 

गच्छदारलाई फसाइएको भन्दै नेविसंघको प्रदर्शन

माइतीघर मण्डलामा दिउँसो गरेको प्रदर्शनमा कांग्रेसका अन्य भातृसंस्थाका प्रतिनिधिहरु पनि सहभागी भएका थिए ।

करिब एक घण्टाको प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेविसंघका अध्यक्ष राजीव ढुंगानाले कम्युनिस्ट नेताहरूलाई बचाएर कांग्रेस नेतालाई फसाउने र बद्‍नाम गर्ने तरिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको बताए ।


‘दोषीलाई उन्मुक्ति दिने निर्दोषलाई फसाउने दुई तिहाइको सरकारको राजनीतिक षडयन्त्रपूर्ण कदम चाल्न अख्तियारलाई प्रेरित गरेको छ,’ अध्यक्ष ढुंगानाले भने, ‘मन्त्रीपरिषद्को निर्णयमा प्रधानमन्त्रीलाई छुट दिँदै मन्त्रीलाई फसाउने निर्णय जग हसाउने खालको छ । त्यसको विरुद्ध हामीले प्रदर्शनको सुरुवात गरेका छौं । निर्णय नसच्चिएसम्म हाम्रो आन्दोलन जारी छ ।’

कोणसभामा तरुण दल अध्यक्ष जितजंग बस्नेतले नेकपा महासचिव विष्णु पौडेलका छोरा नविनलाई जोगाउने गलत नजिरले नेपाल सस्थागत भ्रष्टाचारको दलदलमा फस्न लागेको प्रष्ट भएको बताए । बस्नेतले अख्तियार सरकारको छायाँमा चल्न नहुँने बताए ।

प्रकाशित : माघ २४, २०७६ १५:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?