काठमाडौँ — नेकपाको केन्द्रीय समितिले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको छ । अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय समितिमा उठेको जवाफ दिने क्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा जारी गर्न निर्देशन दिइसकेकाे बताएका हुन ।
उनले अव छिट्टै सरकारले नयाँ नक्सा जारी गर्न लागेको समेत जानकारी दिए । सांसद समेत रहेकी केन्द्रीय सदस्य रामकुमारी झांक्रीले अध्यक्ष दाहालको भनाई उद्धृत गर्दै भनिन्, 'भूमिसुधारमन्त्री पद्मा अर्यालले नक्सा सम्बन्धि काम गरिरहेको रिपोर्टिङ गर्नुभएको छ । अब चाँडै नै नक्सा सार्वजनिक हुन्छ ।'
अध्यक्ष दाहालले मिचिएको भूमि समेटिएको नक्सा जारी गर्दा भारतसँग वार्ता गर्न सहज हुने भएकाले सरकारले अतिक्रमित भूमि समावेश गरेर नक्सा जारी गर्ने लागेको बैठकमा जानकारी गराएको केन्द्रीय सदस्य झांक्रीले जानकारी दिइन् ।
बैठकमा अध्यक्ष दाहालले यति होल्डिङ्स बारे नेपाल ट्रस्टका अध्यक्ष समेत रहेका रक्षामन्त्री ईश्वर पोखरेललाई स्वेतपत्र जारी गर्न निर्देशन दिइएको जवाफ दिएका थिए ।
