काठमाडौँ — भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले सीमाका सम्बन्धमा भारतीय पक्ष स्पष्ट रहेको बताएका छन् । बिहीबार साप्ताहिक मिडिया ब्रिफिङका क्रममा उनले भारतको मानचित्रले नै कालकापानी क्षेत्र भारतकाे सार्वभौम क्षेत्र भएको स्पष्ट दर्शाउँने बताएका हुन् ।
उनले भने, 'नयाँ नक्सामा नेपालसँग जोडिएको हाम्रो सीमामा कुनै फेरबदल गरेका छैनौं । नेपालसँगको सिमाना हाम्रो राजनीतिक नक्सामा यथावत रहेको छ ।'
सीमा समस्याबारे छिमेकीका गुनासा भारतीय नीतिअनुसार वार्ताद्वारा समाधान गर्ने कुरामा भारत सरकार दृढ रहेको उनले दाेहाेर्याए । उनले भने, 'छिमेकी राष्ट्रसँग मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धको मध्यनजर गर्दै वार्ताका माध्यमबाट सीमाका विषय हल गर्ने प्रतिबद्धता दोहोर्याउँछौँ ।'
रविशले नेपाल र भारतका प्रधानमन्त्रीबीच बुधबार भएको छलफलमा कालापानीको विषय उठ्याे कि उठेन भन्नेबारे आफूलाई जानकारी नभएको बताए । नेपालको तर्फबाट दुई नेताको फोनवार्तामा कालापानी क्षेत्रको मुद्दा उठेको थियो कि थिएन भन्ने आफूलाई औपचारिक जानकारी नभएको उनले बताए । सिमानाको बारेमा भारतको स्पष्ट नीति रहेको बताउँदै उनले नेपालसँगको सीमा समस्या हाल अस्तित्वमा रहेका दुवै मुलुकका संयुक्त संयन्त्रले गर्ने बताए ।
उनले विगतमा पनि भारतले नयाँ नक्सामा नेपालसँगको सिमानामा कुनै हेरफेर नगरेको दाबी गर्दै आएका थिए ।
यता नेपाल सरकारले भने भारतीय विदेश मन्त्रालयका यस्ता अभिव्यक्तिमा कुनै प्रतिक्रिया दिने गरेको छैन । नेपालले वार्ताद्वारा नै कालापानी क्षेत्रको समस्या समाधान गर्ने दाबी गर्दै आइरहेका बेला भारतबाट भने फरक खाले अभिव्यक्ति आइरहेका छन् ।
