नवलपरासी — नोवल कोरोना भाइरसका कारण रोग फैलिने डरले विदेशी पर्यटकले होटल बुकिङ धमाधम रद्द गरेपछि विदेशी पर्यटक खचाखच हुने सिजनमै यहाँका चल्तीका होटल खाली भएका छन् ।
नारायणी नदी किनारमा विदेशी पर्यटकीय सुविधाका लागि नामी होटल आइल्यान्ड जंगल रिर्सोट, टेम्पल टाइगर होटल, पार्क भ्यू रिभर रिर्सोट, मचान जंगल भिल्ला, हिमालय सेन्चुरी, लगायतका दुई दर्जन होटलका बुकिङ धमाधम रद्द भएको छ । यो सिजनमा चिनियाँ पर्यटकले होटल खचाखच हने समय हो तर कोरोना भाइरसको संक्रमण त्रासले धमाधम बुकिङ रद्द भएको आइल्याण्ड जंगल रिसोर्टका म्यानेजर दिपक तिवारीले जानकारी दिए । शनिबारसम्म प्याक रहेको होटलका बुकिङ आइतबारबाट रद्द भएको हो ।
तिवारीका अनुसार होटलमा फेब्रुअरी महिनामा आउन भनेर २ महिना अघिदेखि बुकिङ भइसकेको ४५ वटा समूहले होटल बुकिङ रद्द गरेको हो । यहाँका महँगा र सुविधासम्पन्न सबै होटलको हालत एउटै हो तिवारीले भने । चिनियाँ नोवल कोरोना भाइरसका कारण मार्चमा आउने अन्य मुलुकका नागरिकलेसमेत होटल बुकिङ रद्द गरिएको मेल पठाएका छन । ती सबै होटलमा माघ फागुनमा आउने भन्दै बुकिङ गरेका २४ सय पर्यटकले होटल बुकिङ रद्द गरेका हुन । ती होटलमा सिजनमा चिनियाँ पर्यटक हुलका हुल आउने गर्छन् । शनिबारसम्म चिनियाँ पर्यटक बाहेकले होटल बुकिङ रद्द गरेका छैनन् ।
पछिल्लो समय चितवन निकुन्ज किनारमा रहेका विदेशी पर्यटकीय सुविधाका होटल चिनियाँ पर्यटकको आवगमनले धमाधम भभिराउ थिए । कोरोना भाइरसको संक्रमण त्रासले चिनियाँहरुको उडान संसारभरिका देशले रद्द गर्न थालेपछि पर्यटक रोकिएका छन् । पर्यटक रोकिएपछि विदेशी पर्यटक भित्राउन नेपाल सरकारले थालेको भिजिट नेपाल २०२० पूरै असर परेको छ ।
निकुञ्जमा किनारका यी होटल नेपालकै सुविधासम्पन्न र विदेशी पर्यटकका रोजाईमा परेका होटल हुन् । पर्यटक आगमनले खचाखच हुने होटलहरु यसपटक माघ महिनामै असार, साउनमाझैं सुनसान भइसकेको पार्क भ्यू रिभर रिसोर्टका सञ्चालक पलट चौधरी बताउँछन् । निकुन्ज आसपासका यी होटल असोजदेखि वैशाखसम्म पर्यटक खचाखच हुने मुख्य सिजन हो ।
यहाँ रहेका निकुञ्ज र मध्यवर्ती आसपासमा सञ्चालित होटल नेपालमै आउने महँगा र आर्कषक होटलहरु हुन् । त्यस क्षेत्रका होटलमा जंगल सफारी, बर्ड बाचिङका लागि परिवार र समूहसहित विदेशी पर्यटक आउने गर्छन् । चिनियाँ बाहेक अन्य देशका पर्यटकहरुले भने यहाँ आउने बुकिङ आइतबारसम्म रद्द नगरेको टाइगर टप्स जंगल लजमा म्यानेजर डिबी चौधरीले जानकारी दिए ।
पूर्वी नवलपरासीको टाइगर टप्स थारु भिलेज रिसर्ट एउटै होटलमा एक सिजनमा २ हजारभन्दा बढि पर्यटक आउने गर्छन् । ५० वर्षअघि चितवन निकुञ्जभित्र बेलायती लगानीमा खुलेको होटल नेपालमै धरै महँगा र सुविधा खोज्ने पर्यटक भित्राउने होटल टाइगर टप्स जंगल लज हो । यसैले नेपालमा विदेशी पर्यटकका लागि नेपाललाई संसारभरी चिनाएको हो । चितवन निकुञ्ज भित्रका होटल बाहिर सारेपछि यो होटल टाइगर टप्स जंगल लजका नामले नवलपरासीको अमलटारीमा सञ्चालित छ । थारु होडेलको यो होटल नेपाल चिनाउन संसारभरी प्रसिद्ध छ ।
