काठमाडौँ — वुहानमा रहेका भारतीय नागरिकहरुलाई भारतले आज स्वदेश फर्काएको छ । यसका लागि ४२३ सिटे जम्बो प्लेनको व्यवस्था गरिएको थियो । एयर इन्डियाको विशेष विमानबाट ३२४ जना भारतीय नागरिकहरु घर फर्केका हुन् ।
उनीहरुलाई शनिबार बिहान ल्याइएको हो । उनीहरुलाई दिल्लीमा रहेको इन्डो टेबटन बोर्डर पुलिस छ्वाला क्याम्प र हरियाणाको मनेसरमा रहेको आर्मी क्याम्पमा मेडिकल निगरानीमा राखिने छ । उद्धार गरिएकामध्ये २११ जना विद्यार्थीहरु रहेका छन् । धेरै जसो आन्ध्र प्रदेश र केरलाका रहेका छन् भने २२ जना महाराष्ट्रका रहेका छन् । तस्बिरमा हेर्नुहाेस् स्वदेश फिर्ता हुँदै गरेका भारतीयहरु:
एयर इन्डिया बोइङ ७४७ शुक्रबार नै वुहान पुगेको थियो डाक्टरको टिमसहित । हुबेई प्रान्त अहिले पूर्णत लकडाउन गरिएको छ । कम्तीमा ६ जना भारतीयहरु भने आउनबाट रोकिएका छन् । जसमा ४ विद्यार्थी तथा दुईजना प्रशिक्षार्थीहरु जो सेन्जेनमा रहेको चाइजिन इलेक्ट्रोनिक्स कम्पनीमा काम गर्छन् । उनीहरु चिनियाँ अध्यागमन विभागमा रोकिएका थिए । मेडिकल स्क्रीनिङ गर्दा तापक्रम घटबढ देखाएको थियो ।


