चिनियाँ उडान स्थगन गर्ने क्रम बढ्यो

माघ १८, २०७६

सुरज कुँवर

काठमाडौँ — नोवल कोरोना भाइरसको प्रभावका कारण पर्यटकले टिकट रद्द गर्न क्रम वृद्धि भएपछि चीनका विभिन्न सहरबाट काठमाडौं उडान गर्दै आएका वायुसेवा कम्पनीहरुले उडान स्थगन गर्ने क्रम बढेको छ ।

राजधानीस्थित सर्वाधिक टिकट विक्री गर्ने ओशो वर्ल्ड ट्राभलका प्रबन्ध निर्देशक श्याम थपलियाका अनुसार छेन्दुबाट काठमाडौं उडान भर्ने एयर चाइनाले आउने मंगलबारपछिका २४ वटा उडान स्थगन गरेको छ । उसले यात्रुहरुलाई टिकटको मिति सार्न वा भुक्तानी फिर्ता लिन सकिने भनेको छ ।

त्यस्तै ग्वाङजाउबाट काठमाडौं उडान भर्ने चाइना साउर्दनले माघ १९ देखि एक सातासम्मका उडान रद्द गरेको छ । चाइना साउर्दनले यो समयमा हुने १४ वटा उडान रद्द गर्दै नेपालको टिकट बिक्री गर्दै आएका स्वदेशी तथा विदेशी ट्राभल एजेन्सीलाई यात्रुको अनुरोधमा टिकट सार्न वा रकम फिर्ता दिलाउन इमेल लेखेको छ ।


त्यस्तै, तिब्बत एयरलायन्सले माघ १८ पछिका उडान अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगन गरेको छ । हाल चिनियाँ ५ वटा चिनियाँ एयरलायन्सले चीनको ग्वाङजाउ, कुन्मिङ, छेन्दु र ल्हासाबाट दैनिक १४ वटा उडान गर्छन् ।


चीनका ५ वटा सहरमा उडान गर्दै आएको हिमालय एयरलायन्सले चैत १५ गतेसम्मका लागि चीनका गुयाङ, चाङ्सा र सेन्जेन गरी तीन सहरको उडान रद्द गरेको पर्यटन बोर्डले शनिबार राजधानीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रशासनिक उपाध्यक्ष विजय श्रेष्ठले बताए । सर्वाधिक चीनका सहरमा उडान भर्ने यो एक मात्र एयरलायन्स हो । उनले हाल एयरलायन्सले सबै यात्रुलाई अनिवार्य मास्क वितरण गरिरहेको बताए । चिनियाँ कर्मचारी समेत रहेको हिमालयले कम्पनीमा स्वदेशी विदेशी चालकदलको आवतजावत भइरहने भएकाले अनिवार्य मास्क लगाउने तथा सावधानी अपनाउने गरिएको उनले बताए । उनले जहाजमा पनि यात्रुहरुका लागि चिनियाँ, नेपाली र अंग्रेजी भाषामा प्लेकार्ड छपाई गरी वितरण गरिरहेको बताए । उक्त प्लेकार्डमा स्वास्थ्य लगायतका समस्याबारे जानकारी राखिएको छ । 


हिमायलले ट्राभल एजेन्सीलाई यात्रुहरुले चीनका लागि खरिद गरेका टिकट फिर्ता गर्न चाहेमा भुक्तानी दिन काठमाडौंका ट्राभल एजेन्सीलाई सूचना जारी गरेको छ । विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णका अनुसार, चीनतर्फबाट हुने उडानमा यात्रुको संख्या घट्दो देखिन्छ । चीनबाट आउने विमानका यात्रुहरु जहाजबाट ओर्लिने बित्तिकै मास्क लगाउदै बाहिरिने गरेका छन् । 


यसैबीच संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले चीनको प्रभावित क्षेत्रमा रहेका नेपाली विद्यार्थीलाई उद्धार गर्नुपरेमा हिमालय एयरलायन्स र नेपाल वायुसेवा निगम तयार रहेको बताए । पर्यटन बोर्डमा भएको कार्यक्रममा दुवै एयरलायन्सका प्रतिनितिको उपस्थिती थियो । मन्त्रीले दुवै एयरलायन्सलाई तयार अवस्थामा रहन भनेका थिए ।

काठमाडौंमा उडान भर्दै आएका विदेशी एयरलायन्सहरुको संस्था एयरलायन्स अपरेटर्स कम्युनिटीका अध्यक्ष शरद काफ्ले विदेशीहरु नेपाल आउन अप्ठ्यारो मानिरहेकाले सरकारले तत्काल नेपालको स्थितीबारे ट्राभल एडभाइजरी जारी गर्न ढिलाई नगर्न भने । उनले पछिल्लो सयममा छिमेकी मुलुक चीनमा देखिएको कोरोनाका कारण छिमेकी मुलुकका हैसियतले नेपालमा के छ स्थिती भन्नेबारे नेपाल घुम्न आउन चाहानेहरु अलमलमा परेको भने ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully