हुबेईमा रहेका सबै नेपालीको उद्धार गरिने, यस्तो छ फर्किने प्रक्रिया 

माघ १८, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालले चीनको हुबेई प्रान्तमा रहेको सबै नेपालीहरुको उद्धार गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण झन्झन् फैलिँदै गएपछि नेपालले हुबेईमा रहेका नेपालीहरुको उद्धार गर्ने भएको हो ।

चीनमा रहेको नेपाली राजदूतावासले शनिबार सूचना प्रकाशित गर्दे त्यहाँ रहेका नेपालीहरुको उद्धार गरिने बताएको हो । उद्धारका लागि विमान चार्टर्ड गरिएको दूतावासले जनाएको छ  । यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हुबेईमा रहेका नेपालीलाई फर्काउन जहाज तयारी अवस्थामा राखेका बताएका थिए । दूतावासले हुबेईमा रहेका सबै नेपाली नागरिकलाई विच्याटमार्फत सूचना दिइसकेको छ । 

नेपाल फर्किनका लागि हुवेईमा रहेका नेपालीहरुलाई फर्म भर्नुपर्ने छ । यो फर्म राजदूतावासको वेबसाइटमा गएर हेर्न सकिनेछ । 

 चीनका नेपाली विद्यार्थीको रेस्क्यु गर्न जहाज तयार : पर्यटनमन्‍त्री

नेपाल फर्किन चाहने नेपालीहरुको फर्म बुझाएपछि त्यही अनुसार विमानको व्यवस्था गरिने जनाएको हो । फर्म दूतावासले दिएको ठेगानामा स्थानीय समयअनुसार  फेब्रुअरी २ तारिख ९ बजेभन्दा अघि पठाइसक्‍नु पर्नेछ । हरेक पासपोर्ट भएका व्यक्तिले छुट्टै फर्म भर्नुपर्ने छ ।त्योभन्दा पछि दिएमा फर्म स्वीकार्य नहुने दूतावासले जनाएकाे छ । फर्किन चाहने व्यक्तिहरुले दूतावासले तोकेको प्रक्रिया पूरा गर्नुपर्ने छ ।

नाबालिगको हकमा अभिभावकले फर्म भर्दिनुपर्नेछ । यससँग कुनै दुविधा भएमा दूतावासले यो नम्बरमा १५७० १२८५७ ६३ मा सम्पर्क गर्न आग्रह गरेको  छ ।

फर्म भर्नका लागि दूतावासले दिएको यो लिंकमा जानुपर्नेछ । 

काेराेना भाइरसकाे स‌ंक्रमण बढ्दै गएपछि विभिन्न देशहरुले चीनमा रहेका आफ्ना नागिरकहरुकाे उद्धार गरिरहेका छन् । शनिबार मात्रै भारतले हुबेईमा रहेका भारतीय विद्यार्थीहरुकाे उद्धार गरेकाे छ ।

काेराेना प्रकाेप

चीनको सबै प्रान्तमा फैलिइसकेकाे काेराेना भाइरसका कारण शनिबार बिहानसम्म चीनमा मृत्यु हुनेको संख्या २५९ पुगेको छ। त्यस्तै ११ हजार ७ सय ९१ व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

कान्तिपुर

Link copied successfully