चीनमा रहेका नेपालीलाई तत्काल फिर्ता गर्नुपर्ने अवस्था छैन : प्रवक्ता श्रेष्ठ

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको वुहान लगायत अन्य क्षेत्रमा रहेका नेपालीहरुलाई फिर्ता गर्नुपर्ने अवस्था तत्काल नभएको जनाएको छ ।

चीनमा रहेका नेपालीलाई तत्काल फिर्ता गर्नुपर्ने अवस्था छैन : प्रवक्ता श्रेष्ठ

बिहीबार भएको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले अहिले नै चीनमा रहेका नेपालीहरुलाई फिर्ता गर्नुपर्ने अवस्था नभएको बताएका हुन् । कोरोना भाइरसको संक्रमण बढेपछि अमेरिका, अस्ट्रेलिया लगायतका देशहरुले आफ्ना नागरिक फिर्ता बोलाइरहेको सन्दर्भमा प्रवक्ता श्रेष्ठले यस्तो बताएका हुन् ।


कोरोना संक्रमणको केन्द्र वुहानमा रहेका नेपाली भन्छन्- ‘हाम्रो उद्धार गर्नुपर्‍यो’



अध्ययनका क्रममा वा कामको शिलशिलामा चीन गएका नेपालीहरुमा अहिलेसम्म कुनै संक्रमण नदेखिएको बताउँदै उनले अहिले नै फिर्ता गरिहाल्नुपर्ने अवस्था नभएको तर यसका लागि आवश्यक तयारी भने गरिरहेको बताए । ‘फिर्ता बोलाउने तयारी छ । तर अहिले नै बोलाइहाल्नुपर्ने अवस्था छैन । फिर्ता बोलाएपछि अमेरिका लगायतका देशहरुले आफ्ना नागरिकलाई विभिन्न टापुमा लगेर १५ दिनका लागि राखेको छ । ‘हामीले फिर्ता बोलाएपछि कहाँ राख्ने भन्ने विषयमा छलफल भएको छ । आर्मीले आफ्नो ब्यारेकमा कतिसम्म राख्न सक्छ भनेर पनि छलफल भएको छ । फिर्ता बोलाएपछि उनीहरुलाई १५ दिन छुट्टै राख्नुपर्ने हुन्छ’, उनले भने ।

काेराेना प्रकाेप

स्वास्थ्य आपतकालिन तथा विपद् व्यवस्थापन एकाई प्रमुख सागर दाहालले त्रिभुवन विमानस्थलमा हेल्थ डेस्क नै स्थापना गरेर निगरानी बढाइरहेको बताए । उनका अनुसार चीनसँग जोडिएका नाकाहरुमा पनि निगरानी सुरु गरिएको छ । रसुवागढी र तातोपानी नाकामा विशेष निगरानी बढाइएको उनले बताए ।


वुहानमा रहेका नेपाली विद्यार्थीहरुले आफूहरुको उद्धार गर्न चीनमा रहेको नेपाली दूतावासलाई आग्रह गरेका छन् । चीन लगायत विश्वका दर्जन बढी देशहरुमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो भाइरसका कारण अहिलेसम्म चीनमा १७० जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित : माघ १६, २०७६ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?