कोरोना भाइरस मानिसमा प्रवेश गरेको १० दिनभित्र देखिन्छ लक्षण
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — चीनबाट विश्वव्यापी भएको निमोनिया उत्पन्न गराउने नोवल कोरोना भाइरस मानिसको शरीरमा प्रवेश गरेको २ देखि १० दिनभित्र लक्षण देखिन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![कोरोना भाइरस मानिसमा प्रवेश गरेको १० दिनभित्र देखिन्छ लक्षण](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2020/third-party/coronavirus-2712020024020-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मुख्यालयका अनुसार यो भाइरसको ‘इन्क्युवेसन पिरियड’ २ देखि १० दिनसम्म हुन सक्छ । यो भाइरसबारे अझ बढी तथ्यांक र संक्रमित व्यक्तिहरूको विस्तृत इपिडिमियोलजिकल जानकारी उपलब्ध भएपछि मात्रै लक्षण देखिने समयबारे परिष्कृत अनुमान गरिनेछ ।
संक्रमित बिरामीले खोक्दा र हाच्छिउँ गर्दा मुखबाट निस्किने पानीका स–साना थोपा (ड्रप्लेट) का माध्यमबाट अन्य व्यक्तिको शरीरमा यो भाइरस पुग्न सक्ने समयबारे जान्नु नियन्त्रणको प्रयासका लागि महत्त्वपूर्ण रहेको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक एवं भाइरोलजिस्ट डा. वासुदेव पाण्डे बताउँछन् । शरीरमा यसको संक्रमण भए पनि लक्षण नदेखिने व्यक्तिबाट वा ‘इन्क्युवेसन अवधि’ (शरीरमा किटाणु पुगेपछि लक्षण देखिने अवधि) मा रहेका व्यक्तिबाट अन्य व्यक्तिमा रोग सर्न सक्ने अवधिबारे विशेषज्ञहरूले अध्ययन गरिरहेका छन् ।
के हो नोवल कोरोना, कसरी बच्ने ?
नोवल कोरोना भाइरसको प्रकोपको स्रोत र चीनमा यसको फैलावटबारे अझैसम्म ज्ञात हुन सकेको छैन । डब्लूएचओको पछिल्लो जानकारीअनुसार हालसम्म रिपोर्ट गरिएका अधिकांश केसमा करिब २० प्रतिशतले गम्भीर बिरामीको सामना गर्नुपरेको छ । धेरैजसोमा हल्का रोग देखिएको छ भने करिब २० प्रतिशतमा निमोनिया, श्वासप्रश्वासको विफलता र केही अवस्थामा मृत्युसमेत देखिएको छ । यसअघि गत बिहीबार डब्लूएचओले आकस्मिक समितिको बैठकपछि गरेको पत्रकार सम्मेलनमा करिब २५ प्रतिशतले गम्भीर बिरामीको सामना गर्नुपरेको जनाएको थियो ।
हालसम्म यो भाइरसले उच्च रक्तचाप, मधुमेह, मुटु र रक्तनलीसम्बन्धी रोगलगायत शरीरको प्रतिरक्षा प्रणाली कमजोर भएकालाई बढी सताएको छ । डा. पाण्डेका अनुसार डब्लूएचओले एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण सर्ने प्रक्रियालाई सीमित बनाउने रणनीति लिएको छ । विश्वभरि नै यही रणनीतिअन्तर्गत संक्रमित बिरामीलाई छुट्टै राखेर उपचार गरिएको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)