कोरोना भाइरस प्रकोप : मृतकको संख्या १३२ पुग्यो, ६ हजार संक्रमित- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना भाइरस प्रकोप : मृतकको संख्या १३२ पुग्यो, ६ हजार संक्रमित

एजेन्सी

बेइजिङ — कोरोना भाइरसको संक्रमणबाट चीनमा मृत्यु हुनेको संख्या १३२ पुगेको  छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार बुधबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट १३२ जनाले ज्यान गुमाएका छन् भने झन्डै ६ हजारमा यसकाे संक्रमण देखिएकाे छ ।

त्यस्तै बुधबार बिहानसम्म चीनमा मात्रै हजार सय ७४ जनामा कोरोना भाइरसको पुष्टि भएको छ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले मंगलबार बिहान कोरोना भाइरसको संक्रमण एकअर्कामा सर्ने बताएको छ। एक विज्ञप्ति जारी गर्दै आयोगले हाछ्युँ गर्दा वा खोक्दा निस्कने थुक र र्‍यालको छिटाबाट कोरोना भाइरसको संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने जानकारी दिएको हो।

कोरोना संक्रमणको केन्द्र वुहानमा रहेका नेपाली भन्छन्- ‘हाम्रो उद्धार गर्नुपर्‍यो’

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न देशमा पनि फैलिएको छ। चीन बाहेकका विभिन्न देशमा ७० भन्दा बढी व्यक्तिमा यसको संक्रमण देखिएको छ। चीनबाहिर भने अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट कसैको मृत्यु भएको छैन।

यसैबीच अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले वुहानमा रहेका आफ्ना नागरिकको जतिसक्दो चाँडो उद्धार गर्ने बताएका छन् । वुहानसहित हुबेई प्रान्तमा झन्डै ६ सय अस्ट्रेलियाली नागरिक रहेका छन् ।

कहाँ कति संक्रमित?

चीन - १३२ मृत्यु, ५९७४ संक्रमित

थाइल्यान्ड - १४ जना संक्रमित

हङकङ, ताइवान - ८/८ जना संक्रमित

मलेसिया - ७ जना संक्रमित

अस्ट्रेलिया, अमेरिका, मकाओ, सिंगापुर - ५/५ जना संक्रमित

जापान - ६ जना संक्रमित

फ्रान्स, जर्मनी, दक्षिण कोरिया - ४/४ जना संक्रमित

भियतनाम, क्यानडा - २/२ जना संक्रमित

नेपाल, कम्बोडिया, श्रीलंका, - १/१ जना संक्रमित

कोरोना भाइरसबाट कसरी जोगिने?

प्रकाशित : माघ १५, २०७६ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्

‘हारेको छैन मन’

घनश्याम खड्का

(विराटनगर) — मञ्च र दर्शकदीर्घामा बसिरहेकाहरू एकैसाथ उठेर उत्सुकतासाथ उनी भएतिर आए । झमककुमारी घिमिरे ह्विलचियरमै अघि बढिन् र सामुन्नेको दृश्यलाई ट्वाल्ल परेर हेरिरहिन् । डा. भगवान कोइराला उस्तै चासोसाथ नियालिरहेका थिए । मुख्यमन्त्री शेरधन राईका आँखा आश्चर्यले चौडा भएका थिए, अरू सयौं जोर उत्सुक आँखा र दर्जनौं क्यामेरा उनीतिर सोझिए ।

‘अहो !’ कोही भनिरहेको थियो, ‘कस्तो अद्भुतको प्रतिभा !’ हुन पनि यो दृश्य कुनै चमत्कार वा जादुभन्दा कम थिएन ।

गर्धनभन्दा तल केही नचल्ने, जन्मँदै हातगोडा नभएका एक युवक मुखले कुचीहरू चलाएर क्यानभासमा चित्र कोर्दै थिए सबका अघिल्तिर । जसै मुखले च्यापेका उनको कुची चल्दै गयो, क्यानभासको सेतो भुइँमा हिमाल, रुख, नदी, बादल र आकाश प्रस्ट हुँदै आयो । मकवानपुरको थाहा नगरपालिकाको पालुङ गाउँबाट आफ्नो कला देखाउन विराटनगर आइपुगेका १९ वर्षीय अमिर बमजनले सोमबार अनेक प्रतिभा देखाए, जसमध्येको एउटा थियो त्यो चित्र । ‘यस्तो त मैले जिन्दगीमा कहिल्यै देखेको छैन,’ डा. कोइरालाले भने, ‘उनको प्रतिभा र जीवनप्रतिको सिर्जनात्मक लगाब हातखुट्टा भएर पनि केही गर्न सकिनँ भनेर हरेस खानेहरूका लागि संसारैभर अद्वितीय प्रेरणा हो ।’

जन्मेदेखि नै लाखौंमा एकलाई लाग्ने दुर्लभ रोग ‘अथ्रोग्रिपोसी मल्टिप्लेक्स कन्जेनिटा’बाट ग्रसित बमजनले ६ सयभन्दा बढी चित्र बनाइसकेका छन् र ती ताइवानदेखि युरोपसम्मका मानिसले किनेर लगेका छन् ।

खान र एक इन्च सर्न पनि अरूको सहारा चाहिने अवस्थाका बमजनमा आत्मविश्वास भने अपूर्व छ ।

‘जीवनमा दुःख छ, तर त्यसलाई सामना गर्न सिर्जना र उत्साहले सजिलो पार्छ भन्ने एक उदाहरण हुन् अमिर,’ कोइरालाले भने, ‘शरीरको अवस्था त्यस्तो जराजीर्ण छ, अरूको सहाराबिना उनको एक दिन कट्दैन तर जहिल्यै भेट्दा पनि उत्साह र उमंगले भरिएको हुन्छ, यो आफैंमा एक विलक्षण खुबी हो ।’

बमजनलाई सघाउने काम गर्दै आएको संस्था करुणा फाउन्डेसनका अध्यक्षसमेत रहेका कोइरालाका अनुसार ‘अथ्रोग्रिपोसी मल्टिप्लेक्स कन्जेनिटा’ भएर यति अघि बढ्ने मानिस संसारमै दुर्लभ छ । ‘नेपालमा मैले उनीबाहेक अरू यस्तो देखेकै छैन,’ उनले भने, ‘विदेशतिर पनि यस्ता रोग भएका हतपती पाइन्नँ, पाइहाले पनि क्षमता र प्रतीभा देखाएर यसरी अघि बढ्नु भनेको कल्पनाभन्दा बाहिरको कुरा हो ।’

कुनै समय परिवारको बोझ र गाउँ समाजको अपहेलनाको सिकार भएका बमजनको अहिले लाखौंका प्रेरणाका स्रोत र परिवारको एक्लो कमाउने मान्छे भएका छन् । उनी चित्र कोर्ने मात्र होइन, उत्प्रेरणादायी प्रवचन दिने र गीत लेख्ने अनि गाउने कलामा पनि पोख्त छन् । सानैदेखि यी प्रतिभा उनमा भए पनि यसलाई पहिल्यान र सबले पत्याउने हुन वर्षौं लाग्यो । यहाँसम्म आइपुग्नका लागि उनले तय गरेको घुम्ती र पाएको हन्डरको अत्यासलाग्दो कथा छ ।

सामान्य खेती किसानी गर्ने उनका बाबु दिनेश र आमा दिलमाया अमिरलाई आँगनमा छाडेर जान्थे । आफैं बामे सर्न पनि नसक्ने उनी कहिले दिनभरि चर्को घाममा सेकिन्थे, कहिले हुरीमा निसासिन्थे भने कहिले एक्लोपनले आत्तिन्थे । उनको घरभन्दा पर रुखहरू थिए, एउटा गुम्बा थियो अनि थिए पहाड, हिमाल र चराहरू । ‘रहँदाबस्दा मैले मन बहलाउने एउटा उपाय निकालें,’ बमजनले ती दिन सुनाए, ‘म रूख, चरा र गुम्बा अनि पहाड र हिमालसँग गफ गर्न थालें मनैमनै । र, उनीहरूले पनि उत्तर दिएजस्तो लाग्न थाल्यो अलिक पछि ।’

बिस्तारै उनले मुखले कलम च्यापेर गोलो गोलो आकृति बनाउन थाले । त्यो उनकी आमा दिलमायाका लागि खासै नौलो दृश्य थिएन । ‘तर कलम च्यापेको देखेर होला, आमाले मलाई अमिर भनेर नाम लेख्न चाहिँ सिकाइदिनुभयो,’ उनले भने, ‘मलाई भने अरूझैं स्कुल जान पाए पनि हुन्थ्यो भन्ने रहर जहिल्यै लागिरहन्थ्यो । त्यो कहिल्यै पूरा भने भएन ।’

साँचो मनले इच्छा गरे त्यो पुगेरै छाड्छ भन्छन् । अमिरको जीवनमा पनि त्यस्तै हुन आयो । एक निजी स्कुलकी शिक्षिकासमेत रहेकी छिमेककी दिदी अनिता वल एक साँझ अमिरको घरमा आइन् । ‘के तिमी पढ्छौ बाबु ?’ मनकै कुरा थाहा पाएजसरी उनले अमिरलाई सोधिन्, ‘पढ्छौ भने म बेलुका बेलुका आएर सिकाउँछु ।’

अमिर मानौं, यही एक प्रश्न पर्खिबसेका थिए । उनले कसरी पढ्दिनँ भन्न सक्थे ? ‘तिनताक म एघार वर्षको थिएँ हुँला,’ अमिरले सम्झिए, ‘दिदी आउनु भो र पढाउन सुरु गर्न‘ भो ।’ सायद, अक्षरहरूसँग दोस्ती गर्ने उत्कट अभिलासाले होला, बमजनले एकै सातामा अंग्रेजी नेपाली दुवै भाषाका कखरा लेख्न जाने । ‘दिदी खुसी भएर तीन महिनासम्म पढाउन आउनुभयो र मैले आधारभूत शिक्षा त्यही अवधिमा सिकें,’ उनले भने, ‘त्यसपछि भने उहाँ मलाई यो यो पढ्नु भनेर बेलाबेलामा प्रगति जाँच्न मात्र आउने गर्न थाल्नुभयो, मैले पनि भनेअनुसारै गरें ।’

यसरी अमिरले मुखैले कलम च्यापेर अक्षर र अंकमा आफ्ना भाव केही पोख्न सिके । एक दिन उनलाई आँखाले सधैं ठम्याइरहने गुम्बा र पहाडलाई चित्रमा पनि उतारूँ भन्ने मन भएर आयो । ‘कसैले एउटा चित्रकपी दिएको थियो, मैले गुम्बालाई त्यसमा उतार्न सुरु गरें, बनाउँदै जाँदा कति समय बित्यो पत्तै भएन, पछि हेर्छु त गुम्बा सरेर कापीमा बस्न आएजस्तो भएछ, त्यस दिन मलाई साह्रै खुसी लाग्यो,’ उनले भने । उनले चित्र बनाए, गीत पनि गाए र अक्षरहरू सिके, तर टोल छिमेक र समाजले वास्तै गरेको थिएन ।

यस्तैमा, एउटा सानो संयोगले अमिरको जीवनले कोल्टे फेर्‍यो । भुइँचालो आएको केही पछि करुणा फाउन्डेसनले प्रभावित क्षेत्रमा अपांगता भएका मानिसको लागत लिन र तिनको हाल बुझ्न आफ्ना स्वयंसेवी परिचालिन गर्‍यो । त्यसै क्रममा पालुङको घरमा फाउन्डेसनका सुदीप काफ्लेले उनलाई फेला पारे । ‘अमिरको विलक्षण प्रतीभाले हामीलाई केही बेरमै प्रभावित पारिहाल्यो,’ फाउन्डेसनका कार्यकारी निर्देशक दीपकराज सापकोटाले भने, ‘उनी लाखौंमा होइन, करोडौंमा एक मानिस थिए, जसलाई खाँचो मात्र एक परिवेशको थियो ।’

फाउन्डेसनले अमिरलाई काठमाडौं ल्यायो । घिस्रने अवस्थाबाट मुक्त पार्न एउटा ट्रली दियो र कलाकार किरण मानन्धरसँग चित्रकला सिक्ने व्यवस्था मिलाइदियो । उनको चित्रकलामा तुरुन्तै निखार आयो । ‘उनी चरा, रूख, पहाड, आकाश र नदीलाई चित्रमा साह्रै मज्जाले उतार्छन्,’ कोइरालाले भने, ‘तीन वर्षअघि पहिलो पटक उनको चित्र हेर्दा म छक्कै परेको थिएँ, यसपटक आफ्नै अगाडि बनाएको देख्दा त झनै छक्क परें ।’

अमिरले चित्र बनाउने कलामा निखार ल्याएलगत्तै उनका ५० वटा पेन्टिङको काठमाडौंमा प्रदर्शनी भयो तीन वर्षअघि ।

छिट्टै अमिरको कलाले मान्छेको मन तान्न थाल्यो । शारीरिक दुर्बलता भएकाहरूले आफ्नो प्रतीभा तिखार्न हात वा मुखले बनाउने चित्रलाई प्रवर्द्धन गर्न जर्मनीस्थित एक संस्था ‘फुट एन्ड माउथ एसोसिएसन’ ले अमिरका चित्रहरू मन परायो । वर्षको पाँचवटा चित्र त्यस संस्थामा पठाउन पाउने गरी अमिर त्यसको सदस्य भएका छन्, जहाँबाट महिनाको ८० डलर उनलाई सहयोग आउँछ ।

लगत्तै, ताइवानमा पनि अमिरलाई चित्रकला प्रदर्शनीको निम्तो आयो । ‘त्यहाँ म आफैंले उनलाई लिएर गएको थिएँ,’ सापकोटाले भने, ‘मानिसहरू उनको प्रतिभा देखेर तिनछक परे ।’ अमिरले २२ चित्र ताइवानको प्रदर्शनीमा लगेका थिए । ती सबै त्यहाँ बिक्री भए । उनको कलाले बिस्तारै बजार र चर्चा पाउँदै गयो । अमिर गीत लेख्छन् र गाउँछन् पनि । उनको प्रतिभा देखेर संगीतकार न्युह वज्राचार्यले अमिरको गीतमा लय भरिदिएका छन् ।

‘यस्ता आठ गीतहरू पुगिसके, अब आउँदो भ्यालेन्टाइनमा अर्को गीत पनि म सार्वजनिक गर्दैछु,’ अमिरले सुनाए, ‘मौका पाए जसले पनि अघि बढ्न सक्छ, मैले पनि सकेँ र पाएँ भने अझै अघि बढ्छु ।’

घतलाग्दा कुरा बान्की पारेर भन्न कुशलतापूर्वक भन्न सक्ने अमिर वक्तृत्व कलामा पनि उस्तै सिपालु छन् । ‘जस्तै विपत् आइलागे पनि जिन्दगीलाई एक अवसरकै रूपमा हेर्नुपर्छ,’ उनले भने, ‘सुखी मान्छे त दुःखी भइरहन्छन् भने मलाई झन् कति दुःख होला, तर म हरेस खान्न, रोएर बस्दिनँ, जस्तो अवस्थामा छु अघि बढ्छु र जिन्दगीलाई पूरा स्वादका साथ अनुभव गर्छु ।’

अमिरलाई दस कक्षामा पढ्दै गरेका उनका भाइ दीपेशले छायाझैं सधैं पछ्याइरहन्छन् । डा. कोइरालाको अगुवाइमा करुणा फाउन्डले प्रदेश १ मा सुरु गरेको अपाङ्गता रोकथाम अभियानको उद्घाटनमा गाउन र चित्र बनाउन आएका अमिरलाई विराटनगर ल्याउने काम पनि उनै दीपेशले गरेका थिए । ‘दाजुको मलाई माया लाग्छ र उहाँसँग कहिलेकहीँ ठाकठुक पनि पर्छ,’ दीपेशले भने, ‘तर मिल्ती पनि तुरुन्तै हुन्छ, किनभने हामी झगडा गरेर बस्न सक्दैनौं ।’

सोमबार विराटनगरमा सबैका अघिल्तिर चित्र बनाउनुअघि अमिरले न्युह वज्राचार्यले संगीत भरेको गीत मञ्चमा गाएर सुनाएका थिए, जसको शब्द, लय र स्वरले सुन्नेहरू मन्त्रमुग्ध भए । ट्रलीमा घोप्टो परेको अवस्थामा भाइले समातिदिएको माइकमा मुस्कुराहटका साथ गाएका उनको गीतको पहिलो हरफ यस्तो थियो–

हारेको छैन मन, हारेको छैन
जस्तै होस् जिन्दगी, घृणा गर्ने छैन...।

प्रकाशित : माघ १५, २०७६ ०९:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×