१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

चीनले २ दिनमै बनायो 'कोरोना भाइरस अस्पताल'

एजेन्सी

चीन — चीनले दुई दिनमै कोरोना भाइरस प्रभावितको उपचारका लागि अस्पताल बनाएको छ । चीनको हुवाङगाङ सहरमा एक हजार शय्याको अस्पताल पूर्ण रुपमा सञ्चालनमा आएको हो ।

चीनले २ दिनमै बनायो 'कोरोना भाइरस अस्पताल'

अत्याधुनिक मेसिनहरुको प्रयोग गरेर रातारात अस्पताल बनाइएको हो । यो अस्पताल बुधबार बिहान साढे १० बज पूर्ण रुपमा सञ्चालनमा आएको छ । अस्पतालमा कोरोना भाइरस संक्रमित बिरामीलाई सारिएको छ । यस अस्पतालले २ हजार ३ सय कोराना भाइरस संक्रमित बिरामीहरुको उपचार गर्ने लक्ष्य लिएको छ । कोरोना भाइरस संक्रमितहरुका लागि निर्माण गरिएको यो अस्पताल विश्वकै पहिलो हो ।


यो अस्पताल ह्वाङगाङ केन्द्रीय अस्पतालको नयाँ शाखा अस्पताल हो । अस्पताल परिसरमा रहेको खाली भवनमा मेडिकल सेन्टर, शय्या थपेर २ दिनमै तयार गरिएको हो । मे महिनामा खुल्ने भनिएको यो अस्पताल कोरोना भाइरसको संक्रमण फैलिरहँदा रफ्तारमा खोलिएको हो ।


चीनको वुहानमा निर्माणाधीन अर्को कोरोना भाइरस अस्पताल । तस्बिरः रोयर्टस ।

शुक्रबारमात्रै स्थानीय निकायले उक्त भवनलाई कोरोना भाइरसको संक्रमितका लागि उपचारका निम्ति प्रयोग गर्न दिने निर्णय गरेको थियो । त्यसपछि शनिबारबाट काम सुरु गरिएको थियो । सोमबारसम्म स्वयंसेवकले सबै शय्याहरुको व्यवस्था गरिसकेका थिए । त्यसैगरी पानी, बिजुली, इन्टरनेटको सुविधा पनि थपियो । ५ सय भन्दा बढी कामदार तथा विभिन्न अत्याधुनिक उपरकरणको प्रयोग गरेर रातारात दुई दिनमा यो काम सम्पन्न गरिएको हो । ती सहरका सम्बन्धित अधिकारी भन्छन्,‘यो प्रोजेक्ट हामीले ४८ घण्टामा सम्पन्न गर्न सक्यौँ । यो सबैको हातेमालोले गर्दा सम्भव भएको हो ।’

कोरोना भाइरस संक्रमितको उपचारका लागि रातारात अस्पताल बनाइँदै

चीनको दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित बुहान सहर ह्वाङगाङबाट ७५ किलामिटर टाढा छ । ह्वाङगाङको जनसंख्या ७५ लाख छ । मंगलबारसम्म ह्वाङगाङमा कोरोना भाइरसबाट ४ जनाको मृत्यु भइसकेको छ भने २१३ जना संक्रमित देखिएका छन् ।


चीनमा सन् २००३ मा ‘सार्स’ का कारण कम्तीमा ८ सय मानिस मरेका थिए । त्यसबेला पनि बेइजिङले एक साताभित्रै उत्तरी गाउँमा ‘सिआताङ्सान अस्पताल’ निर्माण गरेको थियो । स्थापना भएको दुई महिनाभित्र उक्त अस्पतालले देशमा संक्रमित भेटिएकामध्ये १५ प्रतिशतको उपचार गरेको थियो ।


त्यस्ता अस्पताल अरु पनि निर्माण गरिने भएको छ । दुईवटा बुहान र अर्को झेङजोमा । अरु बन्‍ने अस्पताल पनि यही मोडलका हुनेछन् । वुहान सहरमा निर्माण गरिने अन्य दुईवटा अस्पतालमा पनि विशिष्ट प्रकारको सुविधाहरु हुनेछन् ।


फायर गड माउन्टेन अस्पताल निर्माण सुरु भएको ४ दिनमा पूरा हुँदैछ । त्यसैगरी वुहानमा निर्माण गरिने थन्डर गड माउन्टेन अस्तपताल जुन ज्याङजिया जिल्लामा निर्माण हुँदैछ । सिन्हवा न्युज एजेन्सीका अनुसार शनिबारदेखि निर्माण सुरु गरिएको यो अस्पताल १५०० शय्याको हुनेछ र २ सय स्वास्थ्यकर्मी परिचालन गरिनेछन् र अर्को अस्पताल झेनजोमा निर्माण हुँदैछ । वुहान सरकारले गत बिहीबार कोरोना भाइरस अस्पताल १ हप्ताभित्रमा निर्माण गरिसक्ने बताएको थियो ।


हालसम्म कोरोना भाइरसको संक्रमणबाट चीनमा मृत्यु हुनेको संख्या १३२ पुगेको छ चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार बुधबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट १ सय ३२ जनाले ज्यान गुमाएका छन् भने झन्डै ६ हजारमा यसको संक्रमण देखिएको छ ।

प्रकाशित : माघ १५, २०७६ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?