काठमाडौं उपत्यकाको समग्र सहरी सेवा व्यवस्थापनका लागि अण्डरपास, फ्लाइओभर, इन्टरसेक्सन सुधार, नदी कोरिडोरको पूर्वाधार, पार्क निर्माण, फोहोरमैला व्यवस्थापन, युटिलिटी डक्ट, विद्युतीय तार भूमिगत गरिने
काठमाडौँ — सरकारले भिजन काठमाडौं-२०४० को दीर्घकालीन योजना कार्यान्वयन सुरू गर्ने भएको छ ।
शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेले पेस गरेको बजेटमा काठमाडौं उपत्यकाको समग्र सहरी सेवा व्यवस्थापनका लागि अण्डरपास, फ्लाइओभर, इन्टरसेक्सन सुधार, नदी कोरिडोरको पूर्वाधार, पार्क निर्माण, फोहोरमैला व्यवस्थापन, युटिलिटी डक्ट, विद्युतीय तार भूमिगत गर्ने सहितको एकीकृत पूर्वाधार बनाउने उल्लेख छ ।
प्रदेश र स्थानीय तहसँगको सहकार्यमा वित्तीय प्रोत्साहन सहित खुला क्षेत्रको संरक्षण र विस्तारका लागि विशेष पहल लिने पनि अर्थमन्त्री वाग्लेले बताए । काठमाडौं उपत्यकामा विद्युतीय सार्वजनिक बस सञ्चालन, चार्जिङ्ग स्टेसन, ट्र्याकिङ प्रणाली, स्मार्ट बसपार्क, सुदृढ संस्थागत व्यवस्थासहितको स्मार्ट अन मोबिलिटी कार्यक्रम सुरूवात गर्ने बजेटमा उल्लेछ ।
पोखरा उपत्यकामा पनि सार्वजनिक बसलाई विद्युतीय बसले प्रतिस्थापन गर्न ई-मोबिलिटी सेवा छिट्टै सुरू गरिने पनि अर्थमन्त्री वाग्लेको घोषणा छ।
