थेच्व मतयाः मा बेथितिप्रति व्यंग्य

जात्रामा ऐतिहासिक पक्ष मात्र होइन, राजनीतिक र सामाजिक बेथितिप्रति व्यंग्य गरेर विभिन्न झाँकी प्रस्तुत गरिएको थियो

भाद्र ६, २०८१

प्रशान्त माली

satire on bethiti in thechava matayah

काठमाडौँ — लिच्छविकालीन राजा नरेन्द्रदेवको भेषमा एक युवक सजिएका थिए । सँगै कान्तिपुरका तान्त्रिक बन्धुदत्त आचाजु र रथचक्र भनिने ललित ज्यापूको भेषमा अर्का दुई युवक अगाडि बढे । उनीहरूलाई टीकाभैरव, श्वेतभैरव, हरिसिद्धिको क्रोधभैरव र चण्डभैरव रूपी भेषमा आएका युवाले चारै दिशाबाट घेरेका थिए ।

नेपालमा १२ वर्षसम्म अनिकाल परेकाले वृष्टि गराउन राजा नरेन्द्रदेव, बन्धुदत्त र ललित मिलेर भारत असमको कामरूपकामाक्ष पर्वतबाट रातो मत्स्येन्द्रनाथलाई नेपाल ल्याउँदाको दृश्य हो, यो । जसलाई ललितपुर थेच्वको मालीगां धिमे खलःले बुधबार मतयाः (दीपयात्रा) जात्रामा प्रस्तुत गरेको थियो । 

नेवारहरूले प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट मतयाः जात्रा मनाउने गर्छन् । मतयाः जात्रा ललितपुरको गोदावरी नगरपालिका–१२ थेच्वमा भने विशेष हुने गरेको छ । थेच्वमा १२ वटा बाजा खलक छन् । यीमध्ये प्रत्येकले हरेक वर्ष पालैपालो जात्रा आयोजना गर्छन् । यस वर्ष कुटुझ्वः बाँसुरी खलःले जात्रा आयोजना गरेको हो । मतयाः जात्रा थेच्व सांस्कृतिक बाजा संरक्षण समितिको अगुवाइमा हुने गरेको छ ।

यो जात्रामा ऐतिहासिक पक्ष मात्र होइन, राजनीतिक र सामाजिक बेथितिप्रति व्यंग्य गरेर विभिन्न झाँकी प्रस्तुत गरिएको थियो । अग्रपंक्तिमा ‘नाय् खिं’ बाजा बजाएका युवाको समूह थियो । त्यसपछि कालो चस्मा, हिल जुत्ता, नक्कली कपाल लगाएर युवतीको भेषमा एक युवक नृत्य गर्दै अगाडि बढे ।

पछिपछि ‘झीगु तजिलजि झीगु म्हसिका’ अर्थात् ‘हाम्रो संस्कृति हाम्रो पहिचान’ लेखेको ब्यानर बोकेका र बाँसुरी बजाएका युवायुवतीको अर्को समूह थियो । त्यसपछि हात्तीको शिर भएका छुचुन्द्रो मुसा बोकेका अर्का व्यक्ति गणेशको भेषमा आए । पछिपछि लाखे नाच थियो । यो दृश्य कुटुझ्वः बाँसुरी खलकको हो । पर्यटन प्रवर्द्धनमार्फत अर्थतन्त्र उकास्न मद्दत गर्ने यी संस्कृति सम्पदा विस्तारै लोप हुँदै गए पनि राज्यले संरक्षणमा ठोस योजना नबनाएको प्रति व्यंग्य गरेको दृश्य हो, यो । 

जात्राको अवसरमा तःननी टोलमा पाँच जना पुरुषले ब्राह्मणको भेषमा सजिएर ‘भ्रष्टाचारविरुद्ध कोटिहोम’ नाम दिएर यज्ञ गरेका थिए । उनीहरूले ‘नेताहरूमा सद्बुद्धि आओस्, मुलुकमा समृद्धि छाओस्’ भनेर शंख फुकेर पूजा गरेका थिए । सरस्वती धिमे खलः ले राक्षसी स्वरूपको घण्टाकर्ण दहन गर्दै गँठेमंगल पर्व मनाएको थियो । यो पर्व रोपाइँ सकेपछि मनाउने गरिन्छ । कृषियोग्य जमिन मासिँदै गएको र कृषि पकेट क्षेत्र घोषणा गर्न अपरिहार्य भएको व्यंग्य गर्दै यसपालि यो पर्व मनाएको स्थानीय कृष्ण मालीले बताए । 

satire on bethiti in thechava matayahन्ह्यछेँ दाफा खलःले भने चार जना पुरुषलाई वृद्धिको भेषमा सजाएर उनीहरूको व्रतबन्ध गरेको थियो । केही महिलाले नयाँ दुलहीझैं सिगारिएर तासको चोलो, नक्कली सुनका गरगहनाजस्ता भेषभूषामा सामूहिक बेलविवाह गरेर नगर परिक्रमा गरेका थिए । नेवारी परम्पराअनुसार ३ देखि १२ वर्षभित्रका अथवा रजस्वला नभएका कन्याको पहिलो विवाह बेलसँग गराउने चलन छ ।

पुरुषलाई ब्रह्मचर्यको कर्म निर्वाह गर्न सक्षम मानेर ८ वर्ष पूरा भएपछि व्रतबन्ध गरिन्छ । तर, वैदेशिक रोजगार तथा अध्ययनको सिलसिलामा बिदेशिएका र उतै जन्मिएका सन्तानको बेलविवाह र व्रतबन्ध गर्ने चलन हराउँदै गएको छ । यसलाई पनि व्यंग्य गर्दै बेलविवाह र व्रतबन्ध गरेर नगर परिक्रमा गरेको न्ह्यछेँ दाफा खलका ज्ञानभक्त महर्जनले बताए ।

त्यस्तै नवजात शिशु र सुत्केरी आमाको स्याहारसुसार गर्ने माइती खलकको चलन पनि विस्तारै हराउँदै गएको छ । यसलाई संरक्षण गर्नुपर्ने भन्दै तःतनी बाँसुरी खलःले खर्पनमा खानेकुरा, शिशुलाई चाहिने लत्ताकपडालगायत सामान बोकेर नेवार परम्पराअनुसार शिशु जन्मेपछि माइती खलकले गर्ने स्याहारसुसार देखाएको थियो । यस्तो स्याहारसुसारले आमाको मृत्यु र शिशु अपांगता हुनबाट जोगिने विश्वास छ । 

अर्को समूहले भने हराउँदै गएको थारू संस्कृति संरक्षण गर्न सबैले चासो दिनुपर्ने भन्दै थारू संस्कृति प्रदर्शनी गरेको थियो । सरकारी कार्यालयमा थन्किएका कवाडीका सामान टेन्डर गरेर आम्दानी गर्नुपर्ने र प्लास्टिकजन्य वस्तु जलाउनुभन्दा कवाडीको रूपमा बिक्री गर्नुपर्ने सन्देश दिँदै एक जना पुरुष साइकलमा कवाडी संकलन गरेर नगर परिक्रमा गरेका थिए । त्यसैगरी संस्कृति सम्पदा संरक्षण तथा प्रवर्द्धनमा लामो समयदेखि योगदान गर्दै आएकाको सम्मान स्वरूप सालिक बनाउनुपर्ने भन्दै एक जना पुरुष जात्रा अवधिभर तल्लो पुखुसी टोलमा सालिक बनेर बसेका थिए ।

जात्रामा विभिन्न मौलिक भेषभूषामा सजिएका महिलाहरू सहभागी थिए । कुटुझ्वः टोलमा छ्वालीले छाना छाएर पुराना भाँडाकुँडा सजाएर ढोका बनाइएको थियो । जसले जात्रा अवलोकनमा आएकाको ध्यान खिचेको थियो । यीबाहेक नवदुर्गा धिमे खलः, खाँचा धिमे खलः कुसिको बाँसुरी खलः, ब्रम्हायणी सांस्कृतिक मंका खलःलगायत बाजा खलःहरूले सांस्कृतिक प्रस्तुति दिए । 

थेच्व सांस्कृतिक बाजा संरक्षण समितिका अध्यक्ष बाबुराम महर्जनले संस्कृतिलाई पर्यटनसँग जोड्न सके आम्दानी पनि गर्न सकिने बताए । ‘यसका लागि विभिन्न निकायसँग समन्वय गर्न खोजिरहेका छौं,’ उनले भने, ‘बन्द भइसकेका बाजाहरू पुनः सञ्चालनमा ल्याउन पनि खोजिरहेका छौं ।’ गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले मतयाः जात्रा सञ्चालन गर्न नगरपालिका स्थापनाकालदेखि सहयोग गर्दै आएको बताए । ‘संस्कृति सम्पदा संरक्षणका लागि थेच्वमा संग्रहालय बनाउने योजनाअनुरूप काम अघि बढेको छ,’ उनले भने । 

जात्रामा सहभागीमध्ये उत्कृष्ट प्रदर्शन गरेर पहिलो हुनेमा न्ह्यछेँ दाफा खलः, दोस्रो हुनेमा तःननी बाँसुरी खलः र तेस्रो हुनेमा माली गां धिमे खलः छन् । सिंगारिएको उत्कृष्ट टोलमा तःतनी परेको छ ।

युवा ग्यालरी

प्रशान्त

Link copied successfully