प्लान्ट थन्काएर पन्छिँदै अस्पताल

बिग्रेका अक्सिजन प्लान्ट मर्मत र नयाँ जडानमा न अस्पतालको चासो छ, न सरकारले सक्रियता देखाएको छ

वैशाख ३१, २०७८

प्रशान्त माली

काठमाडौँ — कोरोना संक्रमणको दोस्रो लहर तीव्र भएसँगै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले संक्रमितको उपचारका लागि १४० बेड छुट्यायो । २ सय बेड पुर्‍याउने लक्ष्य पनि राखियो । बीचमा अक्सिजन अभाव हुन थालेपछि सय बेडमा झारियो । अहिले ८० बेड पुर्‍याइँदै छ ।

यस्तोमा अस्पतालमा उपचाररत संक्रमित र तिनका आफन्त त्रासमा छन् । क्षमता घटाउनुमा अस्पताल प्रशासनले सरकारले आवश्यक मात्रामा अक्सिजन सिलिन्डर उपलब्ध गराउन नसकेको एउटै कारण बताउँछ । तर बिग्रेर थन्किएको आफ्नै अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउन भने अस्पतालले चासो दिएको छैन । अस्पतालमा पर्याप्त जनशक्ति पनि छन् ।

अस्पतालका कोभिड फोकल पर्सन डा. अनिल पोखरेल भन्छन्, ‘अक्सिजन पहिलाभन्दा ५/६ गुणा बढी चाहियो । जुन हामीले थेग्नै गाह्रो पर्‍यो । यसबारेमा डेढ वर्षअघि नै सरकारलाई जानकारी गराएको हो । बेवास्ताले गर्दा अहिले विकराल रूप लियो ।’ उनले सरकारले भन्सार छुटमा सस्तो मूल्यमा प्लान्ट खरिद गर्ने वातावरण बनाइदिनुपर्ने माग गरे । ‘बैंकमार्फत सहुलियत कर्जा मिलाई दिनुपर्‍यो,’ उनले भने । उनका अनुसार अहिले अस्पतालमा प्रत्येक दिन २५० थान सिलिन्डर बाहिरबाट आउँछ । प्रत्येक संक्रमितका लागि प्रतिमिनेटमा १० लिटरका दरले २४ घण्टामा १४ हजार ४ सय लिटर अर्थात् २ सय थानभन्दा बढी सिलिन्डर खपत हुन्छ ।

वीर अस्पतालको प्लान्ट पनि बेलाबेलामा बिग्रिरहन्छ । गत वर्ष जेठमा बिग्रेको प्लान्ट बीचमा केही समय चल्यो । अहिले फेरि थन्किएको छ । यहाँ दैनिक तीन सय सिलिन्डर खपत हुन्छ । टेकुमा पनि लिक्विड खाली भइरहने भएकाले अक्सिजन प्लान्ट बेलाबेलामा बन्द हुने गरेको छ । लगनखेलको पाटन अस्पतालको अवस्था पनि उस्तै छ । प्लान्ट बिग्रेको एक वर्ष बितिसक्यो । करिब तीन सय सिलिन्डर प्रयोग हुने अस्पतालमा प्लान्ट अनिवार्य छ । तर अस्पताल प्रशासनले न मर्मत गरेको छ न नयाँ खरिद नै । पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यले प्लान्ट खरिद प्रक्रिया सकिएको बताए । ‘जहाजबाट ल्याउन कठिनाइ हुने भएकाले समुद्र हुँदै ल्याउने तयारीमा छौं,’ उनले भने, ‘प्लान्टले राम्रोसँग काम गर्छ/गर्दैन भनेर कम्पनीले टेस्ट गरिरहेको छ ।’

बिग्रेका प्लान्टहरू सञ्चालनमा ल्याउन अस्पताल मात्र होइन, सरकारी तवरबाट पनि पहल भएको छैन । वैशाख २० मा प्रधानमन्त्रीले देशवासीका नाममा गरेको सम्बोधनमा बिग्रेका प्लान्ट शीघ्र मर्मत गरी सञ्चालनमा ल्याइने बताएका थिए । १० दिन बितिसक्दा पनि त्यस्ता प्लान्ट सञ्चालनमा आएका छैनन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले प्लान्ट खरिदमा अस्पतालहरूलाई भन्सार छुट दिने भनिसकेको बताए । ‘सयभन्दा बढी बेड भएका अस्पतालले प्रक्रिया अगाडि बढाउँदा पनि हुन्छ,’ उनले भने ।

अक्सिजन पाउन १८ घण्टा लाइनमा

‘दाइ छटपटाइरहेका छन् । अक्सिजन छिटो ल्याउनू भनेर घरबाट तीन पटक फोन आइसक्यो । खाली सिलिन्डर बुझाएको १८ घण्टा बितिसक्यो, अहिलेसम्म पालो आएको छैन । के गरौं, कसो गरौं, कसलाई गुहारौं ? हे भगवान् रक्षा गर ।’

दक्षिणकाली नगरपालिका चाल्नाखेलस्थित सीता प्रोडक्टमा अक्सिजन भर्न आएका कीर्तिपुर पाँगाका श्याम महर्जनले गरेको प्रार्थना हो यो । होम आइसोलेसनमा रहेका दाइका लागि अक्सिजन लिन मंगलबार राति ८ बजे उनी कम्पनी पुगे । राति ११ बजेसम्म पनि पालो नआएपछि सिलिन्डर त्यहीं छोडेर फर्किए । तर उनको पालो बुधबार दिउँसो २ बजेसम्म पनि आएको थिएन । राम भन्छन्, ‘सिलिन्डर पाउन्जेलसम्म बिरामीको मृत्यु हुन बेर छैन ।’ उनका दाइलाई शनिबार कोरोना पोजिटिभ देखिएको हो । आइतबारसम्म स्वास्थ्य सामान्य थियो । सोमबार अचानक अक्सिजन लेबल कम भयो । अस्पताल लैजाँदा कतै भर्ना लिएनन् । हारगुहार गरेर २० लिटर क्षमताको सिलिन्डर हात पारे । त्यसयता घरमै राखेर अक्सिजन दिँदै आइरहेको उनले बताए ।

‘कोभिड बिरामीका लागि २० लिटरको सिलिन्डरले अक्सिजन मात्रा पुग्दैन । तैपनि यसैबाट काम चलाइरहेको छु,’ उनले भने । बजारमा सिलिन्डर १०, २० र ४७ लिटर क्षमताका गरेर तीन थरीका पाइन्छन् । चिकित्सकहरूले अस्पतालमा ४७ लिटरबाहेक अन्य सिलिन्डर प्रयोगमा ल्याएका छैनन् ।

७२ वर्षीया दमकी बिरामी आमाका लागि अक्सिजन भर्न आएका भक्तपुर गठ्ठाघरका हरि लम्साल पनि बुधबार दिउँसो २ बजेतिर कम्पनीमै भेटिए । उनी पनि मंगलबार राति नै त्यहाँ पुगेका रहेछन् । तर १८ घण्टासम्म उनको पनि पालो आएको थिएन । उनले कोभिड मात्र नभई दमका बिरामीलाई पनि खेलाँची नठान्न आग्रह गरे । सीतापाइला चुनीखेलबाट आएका प्रकाश अर्यालले पनि साँझ मात्र अक्सिजन पाएका छन् । सीता प्रोडक्टमा अक्सिजन भर्न आएका अधिकांश सिलिन्डर कतिखेर आउने हो भन्दै निराश मुद्रामा देखिन्थे । कतिपय वर्षामा रुझ्दै पालो कुर्दै थिए ।

पाटनको सगरमाथा अक्सिजन उद्योगमा सिलिन्डर भर्न पालो कुर्नेहरू पनि उत्तिकै थिए । बाहिरपट्टि गाडीको लाइन उस्तै । ‘पहिला आमालाई २० लिटरको सिलिन्डर भए पुग्थ्यो । अहिले ४७ लिटरको आवश्यक पर्‍यो । यही कम्पनीको सिलिन्डर प्रयोग गरिरहेका छौं,’ उद्योग परिसरमा एक महिलाले त्यहाँका कर्मचारीलाई सिलिन्डर दिलाइदिन अनुरोध गर्दै थिइन्, ‘४७ लिटरको नभएमा २० को भए पनि भरिदिनुपर्‍यो ।’ अक्सिजनको खोजीमा आएका बिरामीका आफन्त देख्दा जोकोहीको मन करुणाले भरिन्छ । उता कामको चापले कम्पनीका कर्मचारीलाई बोल्नसमेत फुर्सद थिएन । कर्मचारी र बिरामीका आफन्तहरू बेला–बेलामा अक्सिजनको चरम अभाव हटाउन सरकार गम्भीर नभएको भन्दै आक्रोशसमेत पोखिरहेका थिए ।

सीता प्रोडक्टका सञ्चालक प्रमोद तिमिल्सेनाले प्लान्ट चौबीसै घण्टा सञ्चालन गरिरहेको बताए । ‘बेला–बेलामा प्लान्टमा खराबी आउनाले तनाब दिने गरेको छ,’ उनले भने । उनका अनुसार १२ घण्टामा कम्पनीले १० लटसम्म उत्पादन गर्न सक्छ । लटमा २४ वटा उत्पादन हुन्छ । सानो १० लिटरको सिलिन्डर भर्न सामान्य अवस्थामा १५ मिनेट लाग्छ । ४७ लिटरको सिलिन्डर भर्न झन्डै एक घण्टा लाग्छ । उपत्यकामा यस्ता ८ वटा कम्पनी छन् । संक्रमणले खपत बढेपछि अहिले सबै उद्योगमा चाप उस्तै छ ।

कोरोना भाइरस

प्रशान्त

Link copied successfully