कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इँटाभट्टामा कार्यरत भारतीय मजदुरलाई घर पठाइँदै 

भक्तपुर — लकडाउनका कारण घर फर्किन नपाएका भक्तपुरका इँटाभट्टामा कार्यरत भारतीय मजदुरलाई घर पठाइँदै छ । लकडाउनका कारण घर फर्किन नपाएका भक्तपुरका ६३ वटा इँटाभट्टामा कार्यरत २ हजार ९ सय ४० भारतीय मजदुरलाई घर पठाउन पहल गरेको महानगरीय प्रहरी परिसर प्रमुख एसपी सबिन प्रधानले बताए । 

इँटाभट्टामा कार्यरत भारतीय मजदुरलाई घर पठाइँदै 

लकडाउन सुरु भएयता इँटाभट्टा बन्द छ । बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गरेबमोजिम भारतीय दूतावास, पर्सा जिल्ला प्रशासन र इँटा व्यवसाय संघको समन्वयमा बिहीबारबाट भारतीय मजदुरलाई वीरगञ्ज नाका हुँदै घर पठाउन थालेको एसपी प्रधानले बताए ।

भारतीय मजदुरलाई वीरगञ्ज रक्सौल नाका पुर्‍याउन गृह मन्त्रालयले तीन दिनका लागि ६८ वटा बसलाई पास उपलब्ध गराएको जनाएको छ । शनिबार साँझसम्ममा ती मजदुर वीरगञ्ज नाका पुगिसक्ने प्रशासनले जनाएको छ । भक्तपुरको इँटाभट्टामा कार्यरत अधिकांश मजदुर बिहारको रहेको र वीरगञ्ज नाकाबाट पठाइएको एसपी प्रधानले बताए ।

इँटाभट्टा व्यवसायी संघ भक्तपुरका अध्यक्ष नातीभाइ हेम्बाका अनुसार लकडाउन सुरु भएयता इँटाभट्टा व्यवसायीले प्रतिव्यक्ति मासिक २५ सय रुपैयाँ रासन खर्च दिएर भारतीय मजदुरलाई राखेको थियो । ग्यास, बत्ती, पानी नि:शुल्क वितरण गर्दै आएको समेत जनाएको छ । भारतीय मजदुरलाई फर्काउन एउटा गाडीको भाडा ३६ हजार रुपैयाँ र प्रतिव्यक्ति ३ देखि ५ हजार रुपैयाँ खर्च दिएर घर फर्काएको उनले बताए ।

त्यसैगरी, लकडाउनपछि घर जान नपाएर इँटाभट्टालगायत क्षेत्रमा अल्झिएका करिब १ हजार ४ सय मजदुरलाई घर पुर्‍याएको जनाइएको छ । सम्बन्धित जिल्ला प्रशासनको समन्वयमा एकसाता यता ती मजदुर सम्बन्धित गृह जिल्ला पुगेको एसपी प्रधानले बताए

प्रकाशित : जेष्ठ १७, २०७७ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?