शवदाह गृहको ताल्चा फोडेर संक्रमितको अन्त्येष्टि 

विद्युतीय शवदाह गृहका कर्मचारी भागेपछि पदाधिकारीले ताल्चा फोडेर ललितपुरका कोरोना संक्रमितको शव अन्त्येष्टि
धुलिखेलकी सुत्केरी महिलाको शव पशुपतिसम्म ल्याउन कुनै शव वाहनले मानेनन्
बाँकेमा मृत्यु भएका युवाको शव डोजरले उठाएर लगेर गाडियो, बुटवलमा मृत्यु भएका पुरुषको शव ३० घण्टापछि सेनाले उठाएर अन्त्येष्टि गर्‍यो
मकर श्रेष्ठ

काठमाडौँ — कलेजोको बिरामी ५६ वर्षीय पुरुषको बुधबार साँझ ललितपुरको किस्ट मेडिकल कलेजमा मृत्यु भयो । कोरोनाकै कारण मृत्यु भएको रिपोर्ट पनि आयो । अब प्रहरी प्रशासनलाई फसाद पर्‍यो– शवको व्यवस्थापन कसरी गर्ने ! यही अन्योलका कारण शव रातभर अस्पतालमै रह्यो ।

भोलिपल्ट पनि दिनभरि शव उठेन । बिहीबार पौने ५ बजे बल्ल शव अस्पतालबाट निकालियो । राजदल गणका कर्णेल उत्तम सापकोटा र महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माको टोलीले शव एस्कर्टिङ गरेर ६ बजे पशुपतिस्थित विद्युतीय शवदाह गृहमा पुर्‍यायो । तर, शवदाह गृहमा ताल्चा लगाइएको थियो । साँझ ७ बजेसम्म ड्युटी गर्नुपर्ने कर्मचारी कोरोनाले मृत्यु भएका व्यक्तिको शव ल्याउने खबर पाएपछि ६ बजेअघि नै ताल्चा लगाएर निस्किसकेका थिए ।

कर्णेल सापकोटाले पशुपति विकास कोषका पदाधिकारी र कर्मचारीसँग समन्वय गरेर शव लगेका थिए । ‘कर्मचारी तयारी अवस्थामा छन्, ल्याउँदा हुन्छ भनेपछि हामीले लगेका थियौं,’ घाटमा पुगेका एक प्रहरीले भने, ‘त्यहाँ शव पुर्‍याउँदा कर्मचारी कोही थिएनन् । गेटमा पनि ताल्चा लगाइएको थियो ।’

प्रहरीको समन्वयमा पशुपति विकास कोषका पदाधिकारीलाई बोलाइयो । कोषका सदस्यसचिव प्रदीप ढकालसहितको टोली आत्तिँदै आइपुग्यो । उनीहरू आउँदासम्म कोरोना संक्रमित पुरुषको शवलाई सेना र प्रहरीले सुरक्षा दिएर राखेको थियो । ‘म आफैं गएर ढोकाको ताल्चा फुटाएँ,’ ढकालले भने, ‘धुलिखेलमा मृत्यु भएकी संक्रमित महिलाको शव अन्त्येष्टि गरेर क्वारेन्टाइनमा बसेका साथीहरूलाई बोलाएर ती पुरुषको शव अन्त्येष्टि गर्‍यौं ।’ धुलिखेलकी महिलाको शव अन्त्येष्टि गरेको बिहीबार १३ दिन भएको थियो ।

सदस्यसचिव ढकालले पशुपतिस्थित किरियापुत्री घरमै क्वारेन्टाइनमा बसेका अर्जुन खड्का र पूर्णबहादुर कार्कीलाई बोलाएर शव अन्त्येष्टि गराएका हुन् । कर्मचारी व्यवस्थापन गर्न ढिलाइ भएपछि साढे ७ बजे मात्रै ती पुरुषको शव विद्युतीय शवदाह गृहमा हालिएको थियो । ‘साथीहरूसँग पीपीई केही थिएन, डराएर गएको हुनुपर्छ । हामीसँग पनि केही थिएन । अन्त्येष्टि गर्ने बेलामा प्रहरीले ल्याइदिए,’ संक्रमित व्यक्तिको शव व्यवस्थापनमा खटिएका पूर्णले भने, ‘डर पनि लाग्यो । अरूले नगरेको काम गर्न पाउँदा खुसी पनि भएँ ।’

शव अन्त्येष्टि गर्न डराएर भाग्ने चार जनालाई स्पष्टीकरण सोधिसकेको सदस्यसचिव ढकालले बताए । यसमा शाखा अधिकृत, खरिदार, इलेक्ट्रिसियन र कार्यालय सहयोगी छन् । ‘उनीहरूले आफ्नो ड्युटीको समय पूरा नगरी भागेकाले कारबाही हुन्छ,’ उनले भने । विद्युतीय शवदाह गृहमा शव व्यवस्थापन गर्न ६ जना कर्मचारी छन् । आठ/आठ घण्टाको ड्युटी समय निर्धारण गरेर दुई/दुई जना खटाइएको छ । दुई जनामध्ये एक जना ट्रली ठेल्ने, शव राखेको बाँसको खट मिलाउने र एक जना स्वीच थिच्ने इलेक्ट्रिसियन हुन्छन् । शव अन्त्येष्टिमा संलग्न दुई जना पुन: क्वारेन्टाइनमै फर्केका छन् ।

२४ सै घण्टा खुल्ने शवदाह गृहमा शुक्रबार १२ बजे पुग्दा पनि ताल्चा लगाइएको थियो । धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाको शव जेठ ३ मा अन्त्येष्टि गरेपछि कोषले १० गतेसम्म बन्द गरेको थियो । २४ सै घण्टा खुल्ने विद्युतीय शवदाह गृह ११ गते बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म खुल्थ्यो । यी पुरुषको शव ल्याउनुअघि कर्मचारी निस्केका हुन् । बिहीबारको जस्तो समस्या नहोस् भनेर व्यवस्थापन समिति बनाइएको ढकालले बताए । थप कर्मचारीसमेत व्यवस्थापन गरिने उनले बताए ।

शव वाहन नपाएर ट्रकमा

आइतबार अस्पताल भर्ना भएका यी पुरुषको सोमबार कोरोना परीक्षण गर्न स्वाब निकालिएको थियो । मृत्युपछि उनको रिपोर्ट पोजिटिभ आएको हो । मृत्यु भएलगत्तै पनि उनको अन्त्येष्टि हुन सकेन । अन्त्येष्टि कसले गर्ने ? कहाँ गर्ने ? कुन गाडीमा लैजाने ? ललितपुरका प्रहरी प्रशासनले निर्णय लिनै सकेन । ‘उपत्यकामा पहिलो घटना भएकाले व्यवस्थापन गर्न केही समय लागेको हो,’ ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भने ।

प्रशासनले बिहीबार दिउँसो सुरक्षा निकायसँग छलफल गरेर सेनाले अन्त्येष्टि गर्ने र प्रहरीले समन्वय गर्ने निर्णय भयो । मृतकको शव लैजान प्रहरीले उपत्यकाका सबैजसो शव वाहन चालकलाई फोन गरे तर कसैले मानेनन् । ‘भएभरका शव वाहन चालकलाई पहिला सम्पर्क गर्‍यौं, कसैले जान मानेनन् । केहीले मोबाइल स्वीच अफ गरे, केहीले जान्नौं भने,’ एक प्रहरीले भने ।

भक्तपुरबाट गाडी ल्याएर संक्रमितको शव पशुपति पठाइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी भट्टले बताए । यसअघि भक्तपुर प्रहरी र सेनाले निजी गाडीलाई कोरोना संक्रमित बिरामी र मृत्यु भएको शव ओसार्ने गरी ‘मोडिफाई’ गरेको थियो । पशुपति विकास कोषले पनि भक्तपुरको वीरदल गणलाई भाडाको ट्रकलाई उपत्यकामा कोरोनाले मृत्यु भएकाको शव बोक्न मिल्ने गरी मोडिफाई गर्न दिएको थियो । यही ट्रकमा ती पुरुषको शव ल्याइएको हो । मोडिफाईको काम बाँकी छँदै ती पुरुषको शव लगिएको हो ।

कोरोना पुष्टि भएकाको शव व्यवस्थापनमा समस्या भएको यसपटक मात्रै होइन, काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीको शव व्यवस्थापनमा पनि उस्तै सकस परेको थियो । ती महिलाको शव पशुपतिको विद्युतीय शव दाहगृहमा व्यवस्थापन गर्ने निर्णय भए पनि शव वाहन पाइएको थिएन । भक्तपुर प्रहरी र सेनाले व्यवस्था गरेकै गाडीमा स्काउटका दुई युवा गएर ती महिलाको शव पशुपति ल्याइएको थियो । यी दुई जनालाई महिलाका श्रीमान् र धुलिखेल अस्पतालका सफाइ कर्मचारी सुमन नापितले सहयोग गरेका थिए ।

त्यस्तै बाँकेमा मृत्यु भएका युवाको शव व्यवस्थापन भने डोजरले उठाएर लगेर पुरिएको थियो । बुटवलमा मृत्यु भएका गुल्मीका पुरुषको शव पनि कसले कसरी भन्ने दुई दिनसम्म रह्यो । उनको शव पनि सेनाका दुई जनाले व्यवस्थापन गरेका थिए ।

हुनुपर्ने के हो ?

सरकारले कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिहरूका शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि, २०७६ बनाएको छ । कार्यविधिमा कोरोनाका कारण मृत्यु भएको शव जथाभावी सद्गत गर्न नहुने उल्लेख छ । मृत्यु भएका व्यक्तिको सामान्यतया पोस्टमार्टम गर्नु नपर्ने र गर्नुपरेमा मृतकको फोक्सो तथा अन्य अंगमा जीवाणु जिउँदै हुन सक्ने हुनाले होसियारी अपनाएर गर्नुपर्ने हुन्छ । पोस्टमार्टम गरे यथेष्ट भेन्टिलेसनको व्यवस्था भएको कोठामा न्यून स्वास्थ्यकर्मीको उपस्थितिमा आवश्यक पीपीई प्रयोग गरेर गर्नुपर्ने हुन्छ ।

कार्यविधिअनुसार शवलाई चाँडोभन्दा चाँडो अन्तिम संस्कार गर्ने स्थलमा पुर्‍याउनुपर्छ । शव लिन जानुपूर्व शव वाहनका चालक तथा कर्मचारीले पीपीई प्रयोग गर्नुपर्दछ । शवलाई अस्पताल वा घरबाट अन्तिम संस्कार गर्न लैजाने क्रममा अस्पतालका कर्मचारी, एम्बुलेन्सका कर्मचारी, सद्गत गर्ने व्यक्तिहरू र सद्गतमा सहभागी हुने मृतकका आफन्तजनले पन्जा, चस्मा, टोपी, मास्कसहितको पीपीईको प्रयोग गर्नुपर्छ । शवलाई कमभन्दा कम व्यक्तिले मात्रै छुने र शवमा लागेका पाइप, केथेटरलगायतका सामग्री हटाउनुपर्छ । शवको कुनै भागबाट रगत बगेको भए त्यस भागलाई होसियारीपूर्वक बन्द गरेर सुरक्षित हुनुपर्छ । कार्यविधिमा उल्लेख गरिएअनुसार शव अन्तिम संस्कार गर्ने स्थलतर्फ लैजान साधारण शव वाहनको प्रयोग गर्न सकिनेछ । त्यसैगरी मृतकको आफन्तले शव हेर्न चाहेमा शवलाई नछोइकन कम्तीमा एक मिटर टाढाबाट पालैपालो एक/एक जनाले शव हेर्न सक्नेछन् ।

मृतकको कूल धर्मअनुसार शवको सम्मान गर्दै आफन्तलाई समेत सुरक्षित राख्नुपर्ने हुन्छ । सद्गत गर्नुपूर्व आफ्नो परम्पराअनुसार शवलाई नछोइकन जल छर्कने, पाठ गर्ने तथा फूलमाला चढाउनेजस्ता क्रियाकलाप गर्न पनि पाइन्छ । प्रकाशित : जेष्ठ १७, २०७७ ०७:३०

प्रतिक्रिया
पठाउनुहोस्

भेरीमा बगेका सपनाहरु

भीमबहादुर सिंह

जाजरकोट — भेरी नगरपालिका–४, रानागाउँका नवराज विकले शनिबार मध्याह्नतिर घरबाट हिँड्दा सपना देखेका थिए– प्रेमिकालाई दुलही बनाएर घरमा ल्याउने र लकडाउन खुलेपछि प्रहरीको जागिर खान जाने । तर उनको त्यो सपना करिब ६ घण्टामै भेरीमा विलीन भयो ।

मल्ल थरकी प्रेमिकालाई लिन भेरी नदी पारि रुकुम पश्चिम चौरजहारी–८ सोती गएका उनीसहित १८ जनामाथि गाउँलेले ढुंगामुढा गर्दै लखेटे । नवराजसहित ५ जनाले ज्यान गुमाए, १ जना बेपत्ता भए । १२ जना मुस्किलले बाँचे । घटनापछि प्रेमिका भनिएकी १७ वर्षीया किशोरीसहित १८ जनालाई प्रहरीले पक्राउ गरी घटनाको अनुसन्धान थालेको छ । जाहेरीमा किटान गरिएका २ जना फरार छन् ।

प्रहरी बन्ने सपना

२० वर्षीय नवराज मुनिलाल र उर्मिलाका एक्लो छोरा हुन् । उनी नेपाल प्रहरीको जवानका लागि लिखितमा नाम निकालेर मौखिक परीक्षाको तयारीमा थिए । लकडाउनका कारण परीक्षा स्थगित भएपछि उनी घरमै बसिरहेका थिए ।

त्रिभुवन मावि, खलंगाबाट १२ कक्षासम्म पढेका उनी प्रहरीमा जागिर खाएर आमाबुबालाई खुसी बनाउन चाहन्थे । उनी जागिरसँगै बिहे गरेर दुलही भित्र्याउने योजनामा थिए । ‘जागिर खान्छु, बुहारी पनि ल्याउँछु भन्थ्यो,’ आमा उर्मिलाले भनिन्, ‘पापीहरूले मेरो छोरालाई मारेर भेरीमा बगाइदिए, कस्तो सपना देखेको थियो, लास बनेर घर आयो ।’

मुनिलाल र उर्मिला दैनिक मजदुरी गर्छन् । उनीहरूले मजदुरी गरेरै छोरालाई पढाएका थिए । छोरो बाठोटाठो भएकैले कथित माथिल्लो जातकी छोरीलाई ताकेको हुन सक्ने बुबा मुनिलालले बताए ।

विदेश जाने तयारीमा थिए गणेश

त्रिभुवन मावि खलंगाबाट २०७४ मा एसईई उत्तीर्ण गरेका गणेश बुढा निम्न वर्गीय परिवारमा जन्मेका हुन् । कुशे गाउँपालिका–२, टालेगाउँमा जन्मिए पनि उनी डेढ दशकदेखि आमाबुबासँग रानागाउँमा डेरामा बस्थे । बुबा पदमबहादुर र आमा राधिका सदरमुकाममा मजदुरी गर्छन् ।

१९ वर्षीय गणेशले वैदेशिक रोजगारीमा गएर परिवारको आर्थिक अवस्था माथि उकास्ने सपना देखेका थिए । ‘विदेश गएर पैसा कमाउँछु, तपाईंहरूलाई सुख दिन्छु भन्थ्यो,’ राधिकाले भनिन्, ‘लकडाउनले विदेश जान ढिलो भएको थियो ।’ नवराज मिल्ने साथी भएकाले गणेश त्यस दिन सोती गएको उनले बताइन् ।

बिहे गर्ने तयारीमा थिए सन्दीप

२३ वर्षीय सन्दीप विक (सन्जु) नवराजका साथीमात्र होइनन्, नाताले दाइ हुन् । उनी बुबा बलबहादुर र आमा सविताका जेठो छोरा हुन् । उनीपछि एक भाइ र दुई बहिनी छन् । प्राथमिक तहसम्म मात्र अध्ययन गरेका उनी घरको काममा आमाबुबालाई सघाउँथे । सविताका अनुसार सन्दीप निकै सोझो र मिजासिलो थिए ।

‘उसले अहिलेसम्म कसैसँग झगडा गरेको थाहा पाएकी छैन,’ उनले भनिन्, ‘त्यो दिन अर्कै गाउँका मान्छेसँग कसरी झगडा गर्न गयो होला र ?’ सन्दीप छिट्टै बिहे गर्ने तयारीमा थिए । उनी बुबाआमालाई भन्ने गर्थे, ‘बिहे गरेर तपाईंहरूलाई काममा सघाउँछु ।’

सुनचाँदी व्यवसाय थाल्ने सुरमा लोकेन्द्र

१८ वर्षीय लोकेन्द्र सुनारले शीतल मावि चौरजहारी रुकुममा १० कक्षासम्म पढेका थिए । उनी भेरी नगरपालिका–११, मटेलाका हुन् । उनका बुबाको २०७४ सालमा बस दुर्घटनामा परी मृत्यु भएको थियो । अब उनकी आमा र एक जना दाइमात्र छन् । दाइ पनि वैदेशिक रोजगारीको सिलसिलामा बाहिर छन् । घरमा आमामात्र छिन् ।

उनी सुनचाँदी व्यवसाय चलाउने तयारीमा थिए । यसका लागि उनले सुर्खेतको भीममनी सुनचाँदी पसलमा तालिम लिइरहेका थिए । ‘लकडाउनको बिदामा घरमा आएको थियो, मर्नु लेखेको रहेछ,’ लोकेन्द्रकी आमा लक्ष्मीले भनिन्, ‘सुनचाँदी पसल खोलेर पैसा कमाउने सपना भेरीले बगायो ।’

सोलार व्यवसाय गर्ने योजनामा टीकाराम

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१, लामिछाने गाउँका २० वर्षीय टीकाराम सुनार सोबे र गीताका एक्लो सन्तान हुन् । विवाहित उनका २ वर्षीया छोरी र श्रीमती छन् ।

उनका बुबाआमा मजदुरी गर्छन् । टीकाराम भने चौरजहारीको शीतल माविमा ११ कक्षामा पढ्दै सोलार पावर जडानसम्बन्धी काम गर्दै आएका थिए । अनुभव राम्रो भएपछि सोलारसम्बन्धी कामलाई व्यवसायका रूपमा विस्तार गर्ने योजनामा उनी थिए । ‘साथीको साथ लागेर गयो, पापीले मारेर भेरीमा फाले,’ उनका बुबा सोबेले भने, ‘नातिनीलाई टुहुरी बनाए, बुहारीको सिन्दूर पुछियो ।’ सोबेले एक्लो सन्तान गुमेको जस्तै पीडा नातिनी र बुहारीको बिजोग देख्दा हुने गरेको बताए ।

एसईईको तयारीमा थिए गोविन्द

भेरी नगरपालिका–११, मटेलाका गोविन्द शाही अझै भेटिएका छैनन् । उनी शीतल मावि चौरजहारीबाट यस वर्ष एसईई दिने विद्यार्थी हुन् । बाबुआमाका तीन छोरामध्ये उनी कान्छो हुन् ।

आमा भीमाकुमारीका अनुसार १८ वर्षीय गोविन्दले एसईई दिएर रोजगारीका लागि विदेश जान चाहेका थिए । घरको गरिबीले विदेशमा गएर पैसा कमाउने योजना बनेको थियो । त्यस दिन घरबाहिर नजान भन्दाभन्दै पनि अटेरी गरेर हिँडेको भीमाकुमारीले बताइन् । ‘घरबाहिर कहिल्यै नबस्ने छोरो साँझसम्म नआएपछि मनमा चिसो पस्यो,’ उनले भनिन्, ‘रातिसम्म पनि फर्केर आउला भनेर खाना कुरेर बसें तर अहिलेसम्म आएको छैन ।’ गोविन्दलाई स्थानीय बासिन्दा र सशस्त्र प्रहरी बलको गोताखोर टोलीले खोजिरहेका छन् ।

पोस्टमार्टम रिपोर्ट भन्छ– कुटपिटबाट मृत्यु

भेरी नगरपालिका–४, जाजरकोटका युवाको समूह किशोरीलाई लिन रुकुमको चौरजहारी नगरपालिका–८, सोतीमा पुगेका बेला भएको घटनापछि भेटिएका ५ वटा शवको पेटमा पानी नभेटिएको पोस्टमार्टम रिपोर्टबाट खुलेको छ । जाजरकोट अस्पतालमा गरिएको पोस्टमार्टममा कुटपिटपछि मृत्यु भएको देखिएको चिकित्सकको भनाइ छ । मृतक पाँचै जनाको टाउको, अनुहारलगायत अंगमा चोट देखिएको पोस्टमार्टममा संलग्न एक चिकित्सकले बताए ।

‘टाउको, हात, खुट्टा, छाती र पिठ्यूँमा कडा प्रहारका कारण चोटपटक लागेको देखिन्छ,’ ती चिकित्सकले भने, ‘नदीमा बगे पनि पेटमा पानी भरिएको देखिएन ।’ पेटमा पानी नहुँदा नदीमा बगेको भन्न सकिने अवस्था पनि कम रहेको उनले बताए । ‘भेरीमा शव भेटिए पनि मृतकले पानी खाएको हुनुपर्नेमा पेटमा पानी नदेखिँदा घटना थप जटिल र शंकास्पद बनेको छ,’ उनले भने । अस्पतालले मृतकको शरीरबाट लिइएको नमुना भिसेरा परीक्षणका लागि काठमाडौंस्थित विधि विज्ञान प्रयोगशाला पठाएको छ ।

छानबिन समिति सुरु

सोतीमा शनिबार भएको घटनाका सम्बन्धमा गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिले शुक्रबार काम थालेको छ । सहसचिव जितेन्द्र बस्नेत नेतृत्वको टोलीले शुक्रबार सन्दीप विकको शव हेरेको थियो । टोलीले परिवारका सदस्यलाई भेटेर सोधपुछसमेत गरेको थियो ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले टोलीले घटनास्थल पुगेर थप अनुसन्धान गर्ने जानकारी दिए । गृह मन्त्रालयले सहसचिव बस्नेतको नेतृत्वमा नेपाल प्रहरीका एसएसपी जनक भट्टराई, राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक ओमबहादुर खड्का, उपसचिव वशिष्ट घिमिरे र उपसचिव माधव ढकाल सम्मिलित समितिलाई छानबिनको जिम्मा दिएको छ ।

स्थानीय दलित अधिकारकर्मीले जाजरकोट पुगेको छानबिन समितिलाई निष्पक्ष छानबिनको मागसहित ६ बुँदे ज्ञापनपत्र बुझाएका छन् । यसअघि, कर्णाली प्रदेशसभाका सदस्यहरू रातो कामी, झुपा विक, सीता नेपालीलगायतले टोलीका सदस्यलाई भेटी जाजरकोट पुगेर घटनाको निष्पक्ष छानबिन गर्न तथा दोषीमाथि हदैसम्म कारबाही गर्न माग गरेका थिए । समितिका संयोजक बस्नेतले सरकारले दिएको म्यान्डेटअनुसार निष्पक्ष छानबिन गर्ने स्पष्ट पारेका थिए । ‘घटना तोडमोड हुँदैन, तपाईंहरू ढुक्क हुनुहोस्,’ उनले भने, ‘सत्यतथ्य बाहिर आउँछ ।’

‘दोषीलाई उम्काउने प्रयास गरियो’

पीडित परिवारले भने घटनालाई तोडमोड गर्ने प्रयास भएको आरोप लगाएका छन् । रुकुममा केही स्थानीय र जनप्रतिनिधिले घटना तोडमोड गरी दोषीलाई उम्काउने प्रयास गरेको उनीहरूको भनाइ छ । ‘घटनामा वडाध्यक्ष डम्बरबहादुर मल्ल प्रमुख दोषी हुन्, उनकै संलग्नतामा यो सबै भएको छ,’ नवराजका बुबा मुनिलालले भने, ‘तर अहिले नेताहरूले अपराधीलाई बचाउने गरी वक्तव्य दिने गरेका छन् ।’ कुटेर मारेपछि भेरीमा फालेको थाहा हुँदाहुँदै केटाहरूले आफै भेरीमा हाम फालेको अफवाह फैलाएर दोषीलाई बचाउने प्रयास गरिएको उनले दाबी गरे ।

यसैबीच, रुकुम पश्चिमका प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा र नेकपा रुकुम पश्चिम जिल्ला कमिटीले छुट्टाछुट्टै विज्ञप्ति निकाली दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । शर्माले बुधबार निकालेको विज्ञप्तिमा आफू जहिले पनि उत्पीडित जनताका लागि लडेको स्मरण गर्दै उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेकपा रुकुम पश्चिमले घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारबाही गराउने प्रक्रियामा पार्टीले सहयोग गर्ने जनाएको छ ।

सम्बन्धित समाचार

रुकुम घटनाको पोस्टमार्टम रिपोर्ट : शरीरभरि चोट, पेटमा पानी छैन

जातीय विभेदले निम्त्याएको घटना : ‘दुलही लिन गएको छोराको शव आयो’

प्रकाशित : जेष्ठ १७, २०७७ ०७:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×