कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

डब्लूएचओसँगको सम्बन्ध तोड्ने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

डब्लूएचओ चीनको 'कठपुतली' बनेको आरोप
एजेन्सी

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) सँग अमेरिकाको सम्बन्ध तोड्ने घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले डब्लूएचओले सुरुमै कोरोना संक्रमण रोक्न पूर्ण रुपमा असफल रहेको आरोप लगाउँदै डब्लूएचओसँगको सम्बन्ध तोड्ने घोषणा गरेका हुन् ।

डब्लूएचओसँगको सम्बन्ध तोड्ने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

अमेरिकाले यसअघि नै डब्लूएचओलाई दिँदै आएको सहयोग रोकिसकेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लएचओ चीनको ‘कठपुतली’ बनेको आरोप लगाएका छन् ।

शुक्रबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले भने, ‘हामीले डब्लूएचओलाई व्यापक सुधारका लागि अनुरोध गरेका थियौँ । तर उसले सुधार गर्न सकेन । आज हामी डब्लूएचओसँगको सम्बन्ध तोड्ने घोषणा गरेका छौं । अमेरिकाले डब्लूएचओलाई दिँदै आएको सहयोग वैश्विक जनस्वास्थ्यको क्षेत्रमा दिइनेछ ।’ ट्रम्पले अगाडि भने, ‘डब्लूएचओ पूर्ण रुपमा चीनको नियन्त्रणमा रहेको छ । जबकि उसले अमेरिकाको तुलनामा अत्यन्तै थोरै सहयोग गर्दै आएको छ ।’ ट्रम्पले फेरि डब्लूएचओलाई वार्षिक रुपमा करिब ४ सय ५० मिलियन अमेरिकी डलर सहयोग गर्दै आएको र चीनले ‘मामुली ४० मिलियन’ सहयोग गर्ने गरेको कुरा दोहोऱ्याए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले गत महिना डब्लूएचओलाई सुधारका लागि भन्दै ३० दिने अल्टिमेटम दिएका थिए । ट्रम्पले महानिर्देशक डाक्टर ट्रेडोस एडहानोम गेहब्रेयससलाई पत्र लेख्दै एक महिनाभित्र डब्लूएचओले आफ्नो कार्यशैलीमा ठोस सुधार नगरे सधैंका लागि सहयोग रोक्ने चेतावनी दिएका थिए । डब्लूएचको गल्तीका कारण पूरा विश्वले मूल्य चुकाउनु परेको पनि उनले आरोप लगाएका थिए । उनले डब्लूएचओले आफूलाई चीनको नियन्त्रणबाट मुक्त गरेमात्रै अमेरिकासँगको सम्बन्ध सुधार हुने बताएका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको संक्रमणका बारेमा चीनले सूचना लुकाएको आरोप लगाउँदै आएका छन् । चीनले भने उक्त आरोपको खण्डन गर्दै आएको छ । अमेरिका–चीनबीचको सम्बन्धमा आएको तिक्तताले विश्व स्वास्थ्य संगठनलाई थप कमजोर बनाउनुका साथै त्यसको असर वैश्विक स्वास्थ्यमा नै पर्ने देखिएको विश्लेषकहरु बताउँछन् ।

डब्लूएचओसँगको सम्बन्ध तोड्दा त्यसको असर अमेरिकालाई नै पर्ने चिकित्सकहरु बताउँछन् । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका पूर्वप्रमुख डाक्टर टम फ्राइडेन भन्छन्, ‘डब्लूएचओ अमेरिकाकै पहलमा स्थापना भएको हो । आज हामी त्यही संस्थाप्रति पिठ्युँ फर्काइरहेका छौं । हामी पूरा विश्वप्रति पिठ्युँ फर्काएका छौं । त्यसले हामीलाई पनि र पूरा विश्वलाई नै कम सुरक्षित बनाउनेछ ।’

अमेरिकी राष्ट्रपति ट्रम्पले एकल रुपमा गरेको डब्लूएचओसँग अलग हुने घोषणा कार्यान्वयन गर्न चुनौती रहेको बताइएको छ । जर्जटाउन विश्वविद्यालयकाको ‘ओ’निल इन्स्टिच्युट फर नेसनल एन्ड ग्लोबल हेल्थ ल’ का निर्देशक प्राध्यापक ल्यारी गोस्टिन राष्ट्रपति ट्रम्पले संवैधानिक अधिकारको दुरुपयोग गरिरहेको आरोप लगाए । अमेरिकी राष्ट्रपति ट्रम्पले संसद्को स्वीकृतिबिना राष्ट्रसंघीय एजेन्सीसँगको सम्बन्ध तोड्न नसक्ने उनी बताउँछन् ।

प्रकाशित : जेष्ठ १७, २०७७ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?